विमान खसेपछि कम्तीमा पाँच जना एमबीबीएस विद्यार्थीको निधन, चरा ठोक्किएको आशंका

भारतको अहमदावादमा आज भएको विमान दुर्घटनाका कारण कम्तीमा पाँच जना एमबीबीएस अध्ययनरत विद्यार्थीको ज्यान गएको छ । बेलायतको राजधानी लण्डनस्थित ग्याटविकतर्फ उडेको एअर इण्डियाको एआई १७१ उडानको बोइङ ड्रिमलाइनर विमान उडेको दुई मीनेटमा खसेको थियो । दुर्घटनास्थलबाट एक जना यात्रुको जिवितै उद्धार गरिएको छ ।
दुई पाइलट, १० क्याबिन क्रुसहित २४२ जना सवार विमान क्याप्टेन सुमित सभरवालको नेतृत्वमा फस्र्ट अफिसर क्लाइभ कुन्दरले उडाएका थिए । क्याप्टेन सुमित सभरवालसँग आठ हजार २०० घण्टाको र कोपाइलट कुन्दरसँग एक हजार १०० घण्टाको उडान अनुभव रहेको बताइन्छ ।
रनवे २३ बाट प्रस्थान गरेलगत्तै विमान विमानस्थल बाहिरको जमिनमा खसेको थियो । त्यसअघि क्याप्टेनले आपतकालीनबारे जानकारी गराएपनि टावरसँग सम्पर्क विच्छेद भएको थियो ।
विमान मेघानी नगरको बीजे मेडिकल कलेजको होस्टेल मेस रहेको भवनमा खसेको हो । जहाँ एमबीबीएस अध्ययनरत विद्यार्थीहरुको क्यान्टिन थियो । विमानको दुई वटै इञ्जिनमा चरा ठोक्किएपछि उक्त भयानक दुर्घटना भएको अनुमान गरिएको छ ।
टिप्पणीहरू