हिमनदीहरु खुम्चिँदै, हिमाली क्षेत्र संकटोन्मुख

रसुवाको लाङटाङ क्षेत्र आसपासका घरका छाना दुई दशक अघिसम्म हिउँले ढपक्क ढाकेको हुन्थ्यो । घर छेउ कञ्चन हिमनदी बग्थ्यो । युवाहरु बिहान उठ्नासाथ घर आँगनमा रहेका हिउँका मोतीजस्तै टल्किने कणहरुसँग खेल्दै सफा गर्थे ।
तर, अहिले यो अनुभव एकादेशको कथाजस्तै भएको स्थानीय पासाङ तामाङ बताउँछन् । आकाशमा बादल लाग्दा र एकै छिनको झरी पर्दा पनि हिउँको अनुमान गर्ने स्थानीयले अचेल कल्पना गर्नसमेत छोडिसके । अहिले लाङटाङ राष्ट्रिय निकुञ्ज आसपास क्षेत्रमा हिउँ पर्ने ठेगान हुँदैन ।
निकुञ्जअन्तर्गत मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षसमेत रहेका तामाङ भन्छन्, ‘पहिले ग्ल्यासियर तलसम्म थियो, अहिले त हिमाल पग्लिएर माथिसम्म पुगेको छ । बर्खामा पहिरो भन्ने कुरा हुन्थेन, अहिले त कहिले आउँछ भन्ने नै थाहा हुँदैन । ट्रेक जान पनि डर लाग्ने अवस्था छ ।’
जलवायु परिवर्तनको बढ्दो प्रभाव र विश्व तापक्रममा भएको वृद्धिका कारण हिमालहरु संकटमा परेको उनी सुनाउँछन् । उनका अनुसार तापक्रम बढेकै कारण हिमालमा कहिले पहिरो जाने भन्ने ठेगान नहुँदा होसियार भएर हिँड्नुपर्ने बाध्यता छ ।
२०७२ सालमा आएको विनासकारी भूकम्पसमेत जलवायु परिवर्तनकै कारण आएको हुनसक्ने तामाङको आशंका छ । भने, ‘ग्लोबल वार्मिङ र क्लाइमेट चेन्जको कारणले कतिखेर पहिरो आउँछ भनेर थाहा हुँदैन । सन् २०१५ गएको भूकम्प पनि क्लाइमेट चेन्ज र ग्लोबल वार्मिङको कारणले नै होजस्तो लाग्छ ।’
हिमालका रेखासँगै पर्यटन व्यवसाय पनि संकटमा पर्दै गएको उनको भनाइ छ । लाङटाङकै होटल व्यवसायी कान्छा तामाङले दुई दशकअघि एक मिटर उचाईसम्म हिउँले ढाक्ने गरेको अनुभव सुनाउँदै केही वर्षयता हिम रेखाहरु माथि गइरहेकोप्रति चिन्ता व्यक्त गरे ।
यहाँ सञ्चालित होटल व्यवसाय व्यवस्थित नभएकाले पर्यावरणमा प्रतिकूल असर परेको उनको भनाइ छ । तामाङले भने, ‘होटल व्यवसायीका लागि सरकारले कडा नियम लागू गर्न सकेन । क्लाइमेटलाई बिगार्ने काम हामी आफैं गरिरहेका छौँ । यहाँ पर्यटकलाई आकर्षित गर्नुभन्दा कुरेर बस्ने कामहरु हुन थाल्यो । सबैले एउटै काम गर्न थालेपछि अहिले आयस्रोत निकै घटेको छ ।’
छेउछाउमा सेताम्मे हिमाल । बीचमा हिउँले सेतै ढाकिएको मानव बस्ती । घरजति नै होटल । यो दृश्यबाट प्रभावित भएर लाङटाङको क्याजेन भ्यालीमा पर्यटक बढेपनि भुइँभरी छरिएका फोहोर देखेर दिग्दार हुने गरेका छन् ।
यो क्षेत्रको फोहोर व्यवस्थापनमा स्थानीय सरकार र होटल व्यवसायीको उदासीनताले पर्यटकहरुलाई समेत निराश बनाइरहेको स्थानीय पासाङ लोप्छेङ बताउँछन् । पहिले अलिकति भएको फोहोर पनि माटोमा पुर्ने गरिएकोमा अहिले जलाउँदा वायु प्रदूषण बढेको उनको भनाइ छ ।
‘पहिले त्यति पर्यटकहरु चल्दैन थियो । त्यसो हुँदा फोहोर पनि कम हुन्थ्यो । भएको फोहोर पनि पुर्ने गरेको थियो । अहिले त धेरै विदेशीहरु आउँछन् । अनि फोहोर धेरै भएर बाल्दा धुवाँले पर्यावरणमा नकारात्मक असर पर्दै गएको छ । पहिलेभन्दा अहिले निकै परिवर्तन भएको छ । पहिले गर्मीमा पनि एकदमै जाडो हुन्थ्यो अहिले त गर्मी हुन थालेको छ,’ लोप्छेङले भने ।
लाङटाङमा जलवायु परिवर्तनका प्रभावहरु भौगोलिक, आर्थिक र सामाजिकलगायत सबै क्षेत्रमा देखिन थालेका छन् । हिमनदीहरु खुम्चिँदै गएका छन् भने पहिरो र अनियमित मौसमी घटना बढिरहेका छन् ।
हिमालको रेखामाथि सर्ने क्रमसँगै गाउँको व्यवसाय र युवा पलायन पनि हुँदै गएको छ । सरकारले हिमालको मुद्दामा विश्व समुदायलाई सचेत गराउन भन्दै समय समयमा सभा र सम्मेलन गरेपनि प्रभावितहरुलाई सहभागी नगराउँदा ती सभाहरु औचित्यहीन बनेको स्थानीयको ठम्याई छ ।
टिप्पणीहरू