नयाँ कार्यालयबाट राष्ट्रिय मुक्ति पार्टीको पत्रकार सम्मेलन

नयाँ कार्यालयबाट राष्ट्रिय मुक्ति पार्टीको पत्रकार सम्मेलन

राजेन्द्र महतो नेतृत्वको ‘राष्ट्रिय मुक्ति पार्टी, नेपाल’ ले आज पत्रकार सम्मेलन गर्ने भएको छ । भिजिट भिसा प्रकरण र पार्टी अध्यक्ष महतोको वैदेशिक भ्रमणबारे जानकारी दिन आज दिँउसो ३ बजे नयाँ पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागिएको हो । 

काठमाडौं महानगरपालिका–१०, शंखमुलमा रहेको गजेन्द्रनारायणसिंह अध्ययन केन्द्रको घरबाट पार्टी कार्यालय शान्तिनगर सारिएको छ । गजेन्द्रनारायण सिंह संस्थापक नेता र सरिता गिरी अध्यक्ष रहेको सद्भावना पार्टीबाट अलग्गिएका महतोले नयाँ पार्टी खोलिसकेपछि पनि त्यही घरमा कार्यालय सञ्चालन गरिरहेका थिए । 

गत मंगलबार सरेका उनले पत्रकार सम्मेलन गर्नुको उद्देश्य नयाँ पार्टी कार्यालय चिनाउनु भएको बुझिएको छ । महतो जेठ ९ गते प्रवासमा संगठन विस्तारका लागि कतार एअरको क्युआर ६४७ उडान नम्बरको जहाजबाट अमेरिका गएका थिए । 

न्यूयोर्कस्थित अल्बानी शहरमा नेपाली मधेशी तथा आदिबासी जनजाति समुदायको संगठन ‘मधेशी एशोसिएशन अफ अमेरिका’ को चौथौं सम्मेलनमा सहभागी उनी त्यहीबाट जेठ २० गते कतारको दोहा प्रस्थान गरे । 

उनी जेठ २४ गते साँझ कतार एअरको क्युआर ६४६ उडान नम्बरको जहाजबाट श्रीमती शाहिलकुमारी देवीसँगै नेपाल फर्किएका हुन् । मधेशकेन्द्रित दलहरुसँग पटकपटक सहकार्य गरेर अलग्गिएका महतो ‘एक मधेश एक प्रदेश र तराईलाई छुट्टै स्वतन्त्र राज्य बनाउनुपर्छ’ भन्ने पक्षका नेता हुन् । भारतीय नेताहरुको निर्देशनमा त्यसो भन्ने गरेको आरोप उनीमाथि लाग्दै आएको छ । 

काठमाडौंको दानापानी बन्द गर्न विभिन्न नाकामा धर्ना बसेका उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट विद्रोह गरेर २०७९ फागुन १४ गते ‘राष्ट्रिय मुक्ति क्रान्ति’ को घोषणा गरेका थिए । उनले ‘मधेशदेखि पहाडसम्म’ भन्ने नाराका साथ अभियान पनि चलाउँदै आएका छन् । 

२०७९ फागुन १६ र २०८० चैत २४ गते बृहत आन्दोलन गरेका उनले २०८१ कात्तिक ९ गते निर्वाचन आयोगमा ‘राष्ट्रिय मुक्ति पार्टी, नेपाल’ दर्ता गरे । आयोगमा पार्टी दर्ता गर्दा १७३ केन्द्रीय कार्यसमितिको विवरण प्रस्तुत गरिएको छ । 

पार्टीको लक्ष्य ‘स्वदेशवाद, बहुलराष्ट्रवाद, स्थायित्व, समृद्धि, समानताको स्थापना’ भएको घोषणापत्रमा उल्लेख छ । मुलुकको उत्पीडित, वञ्चित र शोषित वर्गहरुको मुक्तिका लागि पार्टीले क्रान्तिको घोषणासमेत गरेको छ । पार्टीको चुनाव चिन्ह शुद्धता, सक्षमता र शान्तिको प्रतिक माछा रहेको छ ।

 

टिप्पणीहरू