नेकपा (झोले)

नेकपा (झोले)

प्रधानमन्त्री कमरेड केपी शर्मा ओली कुनै बेला कोके र नेकपा (माले) मा हुनुहुन्थ्यो । नेकपा (माले) उहाँको शुरुको पार्टी हो । माक्र्सवादीसँग एकीकरण भएपछि एमाले बन्नुभयो । बदलिँदो परिस्थितिमा उहाँ नेकपा (झोले) हुनुभएको छ । नेकपा (झोले) अहिले ट्रेन्डिङको पार्टी हो ।

कमरेड ओलीले अस्ति एक ठाउँमा आफू ‘झोले हुँ’ भनी बोलिदिनुभएछ । उहाँले झोले हुँ भनेपछि अरु नेताहरूलाई लागेछ, अब पार्टीको अध्यक्ष नै झोले भएपछि हामी पनि झोले नै भयौं । त्यसैले सबै ठूला नेताले ‘म झोले हो’ भन्दै स्टिकर निकाल्न थाले । अतः यसो भन्न सकिन्छ कि एमालेमा अब कोही पनि एमाले छैन, जति छन् झोले मात्रै छन्  किनभने सबैले आफूलाई झोले घोषणा गरिसकेका छन् । 

नेकपा (झोले) हाम्रा पार्टीहरूको बीचमा एउटा नयाँ पार्टी हो । यो पार्टीको कार्यकर्ता वा नेता बन्न सिद्धान्त, बिचार, नैतिकता, आस्था, अनुशासनजस्ता केही बोक्नुपर्दैन । केवल झोला बोके पुग्छ । सदस्यले सचिवको झोला बोक्ने । सचिवले महासचिवको झोला बोक्ने । महासचिवले अध्यक्षको झोला बोक्ने । पार्टीको संरचनागत तह यसरी नै मिलाइएको छ । 

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले एकपटक आफू ‘चौकीदार हुँ’ भनेर संबोधन गरेका थिए । त्यसपछि उनको ‘मैं चौकीदार हुँ’ भन्ने स्टिकर निस्क्यो । भारतले निकालेपछि नेपालमा पनि निकाल्नै प¥यो । किनभने नेपालको प्रधानमन्त्री भारतीय प्रधानमन्त्रीको झोले भन्ने छाप बसिसकेको छ ।

शब्दकोषअनुसार झोले त्यसलाई भनिन्छ जो अरुको झोला बोकेर हिँड्ने गर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई झोले त भन्नुभयो तर उहाँ कसको झोला बोक्नुहुन्छ त्यो अहिलेसम्म थाहा छैन । नक्कल गरेको हेर्दा नरेन्द्र मोदीको झोला बोकेको हो कि जस्तो लाग्छ । उसो त भन्नलाई उहाँले जनताको झोला बोकेको भन्नुभएको छ । तर बिचरा जनतासँग अहिले तरकारी बोक्ने झोला त छैन ओलीलाई बोकाउने के झोला होला र ! 
 

टिप्पणीहरू