कति नादान, हाम्रा मेयर महान् ?

राजधानीका मेयर कस्ता छन् ? माघ २९ गते मंगलवार काठमाडौँ महानगरपालिकाले ‘न्यायिक समितिः दिग्दर्शन’ पुस्तक लोकार्पण गर्दाको कुरा हो यो ।
मेलमिलाप प्रवर्धन कार्यक्रममा कामपा प्रमुख बालेन्द्र (बालेन) साह, सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, संविधानविद् काशीराज दाहाल, उपप्रमुख सुनिता डङ्गोलसहित उपस्थित थिए । कार्यक्रम चलिरहेको थियो । त्यही बीचमा टेकनारायण कुँवरको छेउमै बसेका बालेनले खुसुक्क केही जिज्ञासा राखे– ‘यो विशेष अदालत भनेको कहाँनेर छ रे ? यसले खासमा के काम गर्छ ? अदालतमा त न्यायाधीश हुनुपर्ने होइन र, तपाईं कसरी अध्यक्ष ? तपार्ईंहरूले गर्ने कामचाहिँ के हो ?’
यसरी प्रश्न गर्ने बालेन साहले कार्यभार सम्हाल्नेबित्तिकै त्यही विशेष अदालतको सामुन्ने अवस्थित जिल्ला अदालत भवन बबरमहलको नक्सा पास नगरेको भन्दै त्यसमाथि डोजर चलाइदिने धम्की दिएका थिए । तर, विशेष अदालतको काम, कर्तव्य, त्यसले सम्पादन गर्ने न्याय प्रणाली र कार्यविधि केही पनि थाहा नपाएका उनी वास्तवमै बच्चाले झैँ प्रश्न गरिरहेका थिए । बालेनका प्रश्नको जवाफ दिँदै अध्यक्ष कुँवरले के भने त ? छेउमै बसेका प्रशासकीय अदालतका पूर्व अध्यक्ष काशीराज दाहालले सम्झिएअनुसार, उनलाई भनिएको रहेछ– ‘यसले भ्रष्टाचारसम्बन्धी मुद्दा हेर्छ ।’ सो जवाफ पाएलगत्तै अर्को प्रश्न गरे, ‘ए, त्यसोभए त्यसमा हाम्रो कतिवटा मुद्दा परेको छ ?’ जवाफ आयो, ‘त्यो हेर्नुपर्छ, के कति मुद्दा छन्, कस्ता खालका मुद्दा छन् ।’
बालेनका प्रश्न रोकिएनन्, ‘अनि कसले चाहिँ ल्याउँछ त्यहाँ मुद्दा ?’ कुँवरले फेरि जवाफ फर्काए, ‘अख्तियार, सम्पत्ति शुद्धीकरणजस्ता निकायले हामीकहाँ मुद्दा दायर गर्छन् । जहाँ–जहाँ आर्थिक मामिलाहरू जोडिएका छन्, त्योसम्बन्धी मुद्दा हाम्रोमा आउँछ ।’ बालेनका प्रश्न दोहोरिन थाले, ‘हाम्रोचाहिँ कहाँ कहाँ परेको होला ? कतिवटा छन् होला यस्ता मुद्दा ? नपरेको भए अहिलेसम्म किन परेन होला ?’ उनका यस्ता केटाकेटी प्रश्नको त्यसपछि भने कुँवरले जवाफ दिएनन् । र, बालेन भावी प्रधानन्यायाधीश सपना प्रधान मल्लको मन्तव्य सुन्न त्यहाँ बसिरहेनन् । अदालतका अध्यक्ष र आफ्नै उपमेयर सुनिता डंगोलको अभिव्यक्तिसमेतलाई नसुनी छोटो मन्तव्य राखेर हिँडे । एक जना सहयोगीले यसो इशारा गर्नासाथ उनी ‘म अलिक व्यस्त छु’ भन्दै जुरुक्क उठेर हिँडेका हुन् ।
यो घटनाले के पुष्टि ग¥यो भने काठमाडौँका मेयर विषयवस्तुबारे कतिसम्म जानकार रहेछन् । उनको खास हैसियत र ज्ञानको दायरा कति रहेछ ! त्यससँगै देखिएको अर्को सत्य के पनि हो भने उनलाई जानकारी नभएको विषयमा अरूका विचार वा धारणा सुन्ने धैर्यतासमेत रहेनछ । न त सामान्यतया एउटा सभामा हुनुपर्ने मान्यता र त्यसको शिष्टता नै ख्याल गर्दा रहेछन् । बालेनको त्यो दिनका गतिविधिले प्रष्ट पारेको अर्को कुरा के हो भने उनी बाहिर मानिसले वाहवाही गरेजस्तो ज्ञानी र विषयवस्तुका जानकार होइनन् । त्यसमाथि, प्रमुख कार्यकारी अधिकृतसँगको द्वन्द्वले के पनि देखाइसकेको छ भने यिनले न प्रशासन राम्रोसँग चलाउन सक्छन् । न त यिनलाई कानुनको सामान्य ज्ञान नै छ ।
टिप्पणीहरू