नेपाली समात्न आएका भारतीय प्रहरी पक्राउ

नेपाली नागरिकलाई पक्राउ गर्न भारतीय प्रहरी दलबलसहित काठमाडौँ आएको कुरा झट्ट सुन्दा पत्यार लाग्दैन । तर, नेपालको सुरक्षा संयन्त्रलाई चुनौती दिँदै भारतीय प्रहरीको एउटा टोली काठमाडौँ उत्रिएको खबर बाहिर आएको छ । सुरक्षा संयन्त्रले गुपचुप राख्न खोज्दाखोज्दै चुहिएको यो घटना अस्ति सोमबारको हो ।
गृह मन्त्रालय सम्वध्द स्रोतका अनुसार हैदरावाद प्रहरीका डिएसपी हरिशको नेतृत्वमा ३ जना स्थलमार्ग हुँदै सोमबार बिहान काठमाडौँ आइपुगेका थिए । तर,उनीहरुले नेपाल सरकारको सहमति र प्रहरीसँग समन्वय गरेका थिएनन् । यसरी सुटुक्क काठमाडौँ छिर्नुको उध्देश्य थियो- हैदरावादमा भएको चोरीको घटनामा संलग्न रहेको आरोप लागेका एक नेपालीलाई पक्राउ गर्नु ।
हैदरावादमा केही समयअघि ३ करोड बराबरको सामान चोरीको घटनामा थुप्रै नेपाली संलग्न रहेको खुलेको थियो । त्यसमध्ये फरार एकजना काठमाडौँमा लुकेर बसेको भारतीय प्रहरीले पत्ता लगायो । त्यसपछि ती आरोपित व्यक्तिलाई पक्रन उनीहरु आफ्नै देशको अर्को जिल्लामा प्रवेश गरेझैँ नेपाल छिरेका हुन् ।
यसरी हाकाहाकी पेलेर आएको भारतीय प्रहरीले सपरिवार होटलमा बसेका ती युवालाई जबर्जस्ती पक्रेर लैजान खोजेपछि विवाद भयो । विवादकै बीच एक जनाले नेपाल प्रहरीको टोलफ्री १०० मा कल गरी जानकारी गराए । भारतीय गाडीमा राखेर नेपालीलाई लैजान लागेको खबरले सुरक्षा निकाय सतर्क भयो । र, गाडी नियन्त्रणमा लिन उपत्यकाका सबै युनिटलाई एकैचोटि सर्कुलर गरियो । त्यसपछि स्वयम्भू प्रहरीले उनीहरुलाई साँझ सडकबाटै नियन्त्रणमा लियो । स्मरणीय छ, त्यतिबेलासम्म नेपाल प्रहरीलाई उनीहरु भारतीय प्रहरी हो भन्ने जानकारी थिएन ।
गाडीसहित नियन्त्रणमा आएका उनीहरुले सोधपुछका क्रममा आफूहरुलाई हैदरावाद प्रहरी बताएपछि स्वयम्भु प्रहरीले हेडक्वार्टरलाई जस्ताको त्यस्तै जानकारी गरायो । त्यसपछि कूटनीतिक माध्यमबाट भारतीय पक्षसँग बुझ्दा उनीहरु प्रहरी नै भएको खुलेपछि दूतावासको जिम्मा लगाइएको र पक्राउ परेका नेपालीलाई सामान्य सोधपुछ गरेर छोडेको यसबारे जानकार स्रोतले सुनायो ।
अपराध कर्ममा संलग्न रहेर एक अर्काको देशमा बसिरहेकाहरुलाई पक्राउ गर्न नेपाल र भारतबीच सुपुर्दगी सन्धि छ । जसअनुसार एक देशमा अपराध गरेर अर्को देशमा लुकेर बस्नेहरुलाई दुवै देशका प्रहरीको आपसी समन्वयमा पक्राउ गरी सम्बन्धित पक्षलाई बुझाउने अभ्यास रहँदै आएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा र चैत १५ गते तीनकुनेमा हिँसा मच्चाएर भागेका दुर्गा प्रसाईलाई भारतीय प्रहरीले पक्राऊ गरी नेपाललाई बुझाएको थियो । भारतमा गैरकानुनी काम गरेर नेपालमा बस्दै आएका कसूरदारलाई पनि नेपालले त्यसैगरी बुझाउने गरेको छ । तर, नेपाली भूमिमा आएर भारतीय प्रहरीले नेपालीलाई पक्राउ गर्न भने पाउँदैन ।
त्यहीकारण बर्दीमै नेपाल छिरेको भारतीय प्रहरी टोलीले नेपाली नागरिकलाई पक्राउ गर्न खोजेको यो घटना अहिलेसम्म गुपचुप राखिएको हो ।
टिप्पणीहरू