आरजुले नेपाली पत्रकारिताको नाडी छामेकी मात्रै हुन्

एउटा सत्य स्थापित भयो । शेरबहादुर देउवा बरु छेपारेवृत्तिका प्रचण्डलाई थामथुम पार्न सक्छन् तर आफ्नै श्रीमती आरजु देउवालाई सक्दैनन् । देउवाको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुँदाको एउटा घटना कतिपयलाई थाहा नहुन सक्छ । थाहा पाउनेले पनि सायद बिर्सिसके ।
काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहकी सुत्केरी श्रीमती बिदाको दिन चढेको सरकारी नम्बरको गाडी ट्राफिक प्रहरीले रोकेर चेकजाँच गर्दा ¥याप संगीतको पृष्ठभूमिका युवा मेयरलाई झोंक चलेको थियो । उनले त्यो बेला सामाजिक सञ्जालमार्फत सरकारलाई ‘चोर’ को उपाधि दिएर ‘सिंहदरबार नै जलाइदिने’ धम्की दिए । उत्तेजनामा प्रतिक्रियात्मक प्रचण्डले देउवासहितको बैठकमा बालेन्द्रलाई थुनेर कानुनी कारबाही चलाउन माग गरे । तर, शेरबहादुर त्यसको पक्षमा देखिएनन् । ‘प्रजातन्त्रमा बोल्न लेख्न पाइन्छ । यस्तो सानो कुरामा हात हाल्नुहुँदैन,’ उनको मत थियो । प्रचण्ड सेलाए ।
विदेशमा शिक्षित आफ्ना व्यापारी पुत्रबारे ‘अनर्गल’ बोलिएपछि क्रुद्ध आमा आरजुले सित्तैमा हासिल गरेको शक्ति दुरूपयोग गर्न खोज्नु स्वाभाविक हो । आरजुको शिरा र धमनीमा प्रवाहित आधा रगत राणाको हो । राणाको चरित्र नै यस्तै हुन्छ । त्यसबाहेक उनी प्रतीक्षारत प्रधानमन्त्रीकी अर्धांगिनी मात्र होइन, बहालवाला परराष्ट्रमन्त्रीसमेत हुन् । शेरबहादुर देउवाले आरजुलाई रोक्न खोजे वा खोजेनन्, त्यो बूढानीलकण्ठ दरवारका बैठकेहरूलाई थाहा होला । जनतालाई थाहा भएको कुरा हो, राणा राज्यशक्तिको मातमा एउटा प्रयोजनका लागि बनेको कानुनलाई अर्कै कोणबाट दुरुपयोग गरेर आफ्नो प्रतिशोध लिने प्रयत्नमा छिन् । तर, धुँवालाई छाता ओढाएर आगो निभ्दैन ।
शेरबहादुर देउवा र आरजु राणाको ‘औकात’ छ । त्यसैले यिनले आफ्नो एक मात्र सन्तानलाई आमनेपालीले कल्पना गर्नसमेत हाँस्यास्पद लाग्ने स्कूलमा पढाए । काठमाडौँको लिंकन स्कूल नेपालमा खटिएका अमेरिकी कूटनीतिज्ञका सन्तानलाई पश्चिमी सभ्यता सिकाउने थलो हो । यसले नेपालको अवस्था र समस्यासँग कुनै सरोकार राख्दैन । स्कूले पढाइपछि देउवा दम्पतीका कर्णधार जयवीर सिंह एकैचोटी बेलायत पढ्न गए । शेरबहादुर र आरजुको जोडी मिलाइदिने नेपालका लागि तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लक हुन् । जयवीरको ‘गडमदर’ पनि जुलिया नै हुन् ।
देशको माया हुने ‘राजनेता’ले आफ्नो सन्तान कुन रूपमा हुर्केको देख्न चाहन्छ ? सामान्य प्रश्न हो यो । देउवा दम्पती देशको माया लागेर राजनीतिमा खटिएका होइनन् । अन्यथा, जयवीर सिंह देउवा (नाम गजबको छ, यसले सम्भ्रान्त पहिचानको भार बोकेको छ) ले महिलाको महिनावारी वस्त्र आयात गर्ने धन्धाबाट आफ्नो ‘करिअर’ शुरु गर्ने थिएनन् । माओवादी प्रचण्ड प्रधानमन्त्री हुँदा अर्थ मन्त्रालयको सिसिटिभी फुटेजको तार मुसाले काट्ने थिएन । जयवीरकै व्यापारले आयात करमा ९० प्रतिशतको छुट पाउने थिएन ।
कांग्रेसभित्रै अर्को दोश्रो दल बिकासको चरणमा छ । डोनाल्ड ट्रम्पले अमेरिकामा रिपब्लिकन पार्टीभित्रै अर्को तेश्रो पार्टी विकसित गरिसके । जसलाई ‘मागा’ अर्थात् ‘मेक अमेरिका ग्रेट अगेन’ भनेर बुझिन्छ । यसलाई अर्बपति गोरा ईसाई र श्वेत साम्राज्यका पक्षपाती अमेरिकीको समर्थन छ । कांग्रेसले आफ्नो आधारभूमि गुमाएको अवस्था छ । त्यसैले शेरबहादुर देउवा र आरजु राणाको जोडी देशी÷विदेशी कमिसन एजेन्टको बलमा नेपालमा सत्ता दम्भ देखाउन बाध्य छ । चाहना र बाध्यता भिन्न मानसिक अवस्था हो । बाध्यताको दास हुनु दुष्कर हुन्छ ।
बाध्यताको बोझ !
भिजिट भिसा नामको घुसखोरी प्रकरणमा डामिएका वर्तमान गृहमन्त्री लेखकलाई आरोप लगाउनुको कुनै अर्थ छैन । विगतमा दुईपटक मन्त्री भइसकेका यी लेखक आफ्नो क्षमताभन्दा पनि आरजु देउवाका बफादार भएकै कारण सरकारमा स्थापित भएका एक यस्ता पात्र हुन्, जसको आफ्नै मेरुदण्ड लुलो भैसकेको छ । शुरुमा उनी बुढानीलकण्ठ दरवारका चौकीदार थिए । त्यही कर्मको कृपाका कारण आज मुलुकको हवल्दार भएका छन् ।
उनका दुई छोरीमध्ये एक अमेरिका र अर्की अष्ट्रेलियामा छन् । उनलाई भिजिट भिसाको घुस खानुपर्ने कुनै कारण थिएन । जसरी देउवाका प्रिय बालकृष्ण खाँणले गृह मन्त्रीका हैसियतमा भुटानी शरणार्थी बेच्नु जरुरी थिएन ।
पेशाले वकिल उनले व्यावसायिक रूपमा माखो मारेको उदाहरण छैन । उनका दुई छोरीमध्ये एक अमेरिका र अर्की अष्ट्रेलियामा छन् । उनलाई भिजिट भिसाको घुस खानुपर्ने कुनै कारण थिएन । जसरी देउवाका प्रिय बालकृष्ण खाँणले गृह मन्त्रीका हैसियतमा भुटानी शरणार्थी बेच्नु जरुरी थिएन । बूढानीलकण्ठ दरवार सधैँ आफ्नै खुट्टामा उभिएको कर्मठ होइन, बफादार गृहमन्त्रीको पक्षपाती रहिआएको छ । रमेश लेखक चाहेर पनि राजीनामा दिने अवस्थामा छैनन् ।
उनलाई बूढानीलकण्ठ मात्र होइन, बालुवाटार र खुमलटार दरबारमा चलखेल गर्ने माफिया समूहले घेरेर राखेको छ । वैधानिक रूपले नेपाली राहदानी लिएका नागरिकलाई विदेश जानबाट राज्यले रोक्न मिल्दैन । तर, मानव तस्करीको नाममा विदेश जान अवरोध खडा गरेर पैसा असुल्न मिल्दोरहेछ । यसमा पुराना तीन पार्टी मात्रै होइन, नीलो स्यालले नेतृत्व गरेको नयाँ दलसमेत संलग्न रहेको स्पष्ट छ । यतिबेला रमेश लेखकले राजीनामा दिएको अवस्थामा सबैले खाईपाई आएको भाँडोमा प्वाल पर्ने पक्का छ । लेखक एक दयनीय र निरीह पात्र हुन् । पर्दापछाडि देउवा, राणा, ओली, दाहाल र लामिछाने सबै मिलेका छन्् । त्योभन्दा बाक्लो पर्दा अर्कै छ, जहाँबाट बिचौलिया राज्य सञ्चालनको प्रमुख भूमिका निर्वाह गर्दै छन् ।
आरजुको धम्की
नागरिक दैनिक र द रिपब्लिका अखबारका सञ्चालक विनोद ज्ञवाली सधँै पीडित मान्छे हुन् । उनका बुवा हेमराज ज्ञवाली पञ्चायतकालमा दरबारसम्म पहुँच भएका एक शक्तिशाली सरकारी अधिकृत थिए । विनोदका सहपाठी कैलाश सिरोहियाले यो सम्बन्धको उपयोग गरेर शुरुमा गलैंचा उद्यम, सडक निर्माण आदि गर्दै कान्तिपुर अखबारमा हात हालेका हुन् । अन्त्यमा कैलाशले उनैलाई पन्छाएर संस्था एकलौटी पारेपछि ज्ञवालीले अर्को प्रकाशन शुरु गर्नुको विकल्प पनि थिएन । कुरा स्वाभिमानको थियो ।
तर न कान्तिपुर, न नागरिक– दुवैले नेपाली पत्रकारितामा कुनै मानक स्थापित गरेका छैनन् । ०४६ सालको परिवर्तनपछि नेपाली सञ्चार जगतमा आएको क्रान्ति केवल प्रविधिमा सीमित छ । मूलधारका ठूला पाने दैनिक अखबार पेशागत निष्ठा र जनताप्रतिको जिम्मेवारीविपरीत विशुद्ध ब्यापार र मोलाहिजामा केन्द्रित छन् । सर्पको खुट्टा सर्पले देख्छ ।
यस अर्थमा बहालवाला मन्त्री आरजु राणाले विनोद ज्ञवालीकी पत्नी शोभा ज्ञवाली (जो संस्थाकी निर्देशक पनि हुन्) लाई समाचार छापेकै कारण धम्की दिनु कुनै आश्चर्य होइन । आश्चर्य के हो भने, उनले सो संस्थालाई धराशयी तुल्याइदिने धम्की दिइन् ! एकपटक फोन काटिएपछि दोहो¥याएर फोन गरिन् । फेरि धम्की दिइन् । सगरमाथा संवाद नामक एक टिभी शोमा शोभा ज्ञवालीले यो कुरा सविस्तार वर्णन गरेकी छन् ।
आरजु राणाको औकात के हो ? शेरबहादुर देउवालाई बिहे गरेर उनको शयनागार सजाएकै भरमा कसैले आफूलाई कांग्रेसको ‘प्रजातान्त्रिक योद्धा’ सावित गर्न मिल्छ ? आफूभन्दा सोह्र वर्ष कान्छी बिहे गर्ने शेरबहादुरको आफ्नै कमजोरी र बाध्यता होलान् । तर, देउवाको कमजोरीको भारमा नेपाली जनता, मुलुकको सुशासन र अग्रगमनको आकांक्षा थिचिन मिल्दैन । यो प्रजातन्त्र होइन । कांग्रेसमा लुसुक्क छिरेको राणा शासन हरेक पार्टी र तप्कामा विस्तार हुने खतरा छ ।
देउवा दम्पती नेपाली प्रजातन्त्रका लागि स्पष्ट र तात्कालिक खतरा हुन् । तर, केपी ओली, प्रचण्ड वा ज्ञानेन्द्र शाह पनि अपवाद होइनन् ।
तीन दर्जन शिखण्डी सम्पादक
ऋषि धमलाले लाजगाल पचाएर टिभी अन्तर्वार्ता लिन थालेपछि कलम नचल्ने तर मुख चल्ने एकथरी कथित पत्रकारका लागि यो सुविधाजनक पेशा भयो । यो बाढीमा धेरै डुबे, कतिपय अझै पौडिँदै छन् । पत्रकारिता यस्तो पेशा हो, जो पौडिएको नाटक गर्छ, त्यो डुब्छ । जो डुब्छ, त्यो आफ्नो ‘करिअर’ लाई पार गर्न सफल हुन्छ ।
बदलिँदो जमानाले सस्तोमा उपलब्ध गराएको प्रविधि दुरूपयोग गरेर क्यामरा अघिल्तिर शब्दको पर्रा छोड्नु मात्रै पत्रकारिता होइन । अहिले चर्चा वा विवादमा आएको पात्र दिलभूषण पाठक कुनैबेला कान्तिपुर टेलिभिजनका सम्पादक मात्रै थिएनन् । उनले पत्रकारितामा औपचारिक शिक्षा लिएका पनि हुन् । तर, किन चुके उनी ? भनिएको सुनिएको आधारमा टिप्पणी गर्न एक आमनागरिक स्वतन्त्र छ । तर एक स्थापित व्यावसायिक पत्रकारले बिना प्रमाण जयवीरको लगानीका बारेमा घोक्रो सुकाउनु व्यावसायिकता हो वा होइन ? यो प्रश्न पत्रकार हुँ भन्नेहरूलाई ।
अर्को प्रश्न, अमूक गैरसरकारी संस्थाको लगानीमा तीन दर्जन सम्पादक नगरकोटको कुनै रिसोर्टमा किन भेला भए ? उनीहरूका निम्ति दिलभूषण पाठकको मुद्दा फिर्ता लिनुपर्ने सवाल मात्रै किन प्रमुख भयो ? सरकारमा बसेकाहरूले ‘साइबर कानुन’को दुरूपयोग गरेर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न लागेको लामो समय भयो । अभिव्यक्ति स्वतन्त्रता संधै सत्यमा आधारित हुँदैन । यो पनि सत्य हो । पञ्चायतकालमा ईन्टरनेट थिएन । छापामा आएका समाचारका आधारमा अखबार प्रतिबन्धित हुन्थ्यो । आज हरेक छापाका अनलाइन संस्करण छन् । संविधानले वाक स्वतन्त्रताको प्रत्याभूति गरेको छ । छापामा आएका गलत समाचारको छिनोफानो गर्ने कानुन छ । तर, छापामा आएको समाचार अनलाईन संस्करणमा जाने प्राविधिक सुविधा पनि छ । सरकार अन्यौलमा छ । कानुन बाझिएको छ कि छैन, नेपाली जनताको कर खाएर उग्राएका सांसदले जान्ने कुरा हो । तर, सरकार यसको दुरूपयोग गर्दैछ ।
बिना प्रमाण जयवीरको लगानीका बारेमा घोक्रो सुकाउनु व्यावसायिकता हो वा होइन ?
नगरकोटमा भेला भएका सम्पादकहरूका निम्ति दिलभूषण पाठकको मुद्दा फिर्ता लिनुपर्ने माग मात्रै कसरी प्रमुख भयो ? पत्रकारिता र साइबर कानुन अलग कुरा हुन् । यसलाई मिसाएर प्रेस स्वतन्त्रता हनन गर्न मिल्दैन भन्ने स्वर किन त्यहाँ मुखरित भएन ? के पाठकको मुद्दा फिर्ता भए नेपालमा पत्रकारिता र साइबर कानुनको द्वन्द्व समाप्त हुन्छ ? डोनाल्ड ट्रम्पले लुछेर बाँकी बचेको हाड्खोड कारकोर गर्नु एउटा कुरा । विदेशी गैरसरकारी संस्था आश्रित नेपाली पत्रकार मौकामा मह काढ्न चुक्दैनन् । तर यसले नेपाली पत्रकारिताको हित संरक्षण गरेको छैन । त्यो वक्तव्यमा हस्ताक्षर गर्नेहरू मूल मुद्दामा चुकेका छन् । त्यसैले ती सबै बिकाउ माल हुन् ।
के राज्यका निम्ति अरुचिकर समाचार छाप्ने हरेक पत्रकार वा समाचार संस्था ‘साइबर क्राइम’ मा जाकिने अवस्था आएको हो ? सप्रमाण समाचार दिने जेहेन्दार समाचारदाता र दिलभूषण पाठक शैलीको हावादारी फिल्मी बकबकमा कुनै भिन्नता छैन ? नगरकोट भेलाले यो बारेमा बहस ग¥यो कि गरेन ? मान्छेको मगजको वजन झण्डै डेढ किलो हुन्छ । ३५ जनाको मगजको वजन ४५ किलो हुनुपर्ने हो ।
४५ किलोको वजनले जारी गरेको वक्तव्य एउटा कागजको पाना भन्दा हलुको छ । जुन मुलुकमा आफैले मत दिएर सत्तामा पु¥याएको नेताबाट जनता त्रसित हुनुपर्छ, त्यो मुलुकमा प्रजातन्त्र हुँदैन । दलतन्त्र पनि पुरानो भयो । नेपालमा अहिले दलभित्रको बहुमत तन्त्रले शासन गरेको छ । यो घातक छ । ३५ सम्पादक पाठकलाई सुचित होइन, वर्तमान सत्ताको पक्षमा जनताको ध्यानभंग गर्न परिचालित भए ।
यो झन् घातक छ ।
यी ३५ मध्ये आधाभन्दा बढीले द्वन्द्वकालपछि ‘अनमिन’ को पैसा खाँदाखाँदै भारतीय स्वार्थमा ‘अनमिन’ नेपालबाट फर्किनुपर्छ भन्ने लेखौटे अभियान पनि शुरु गरेका थिए । बिकाउ मालहरूको इतिहास खोतल्नु जरुरी छ । आरजु राणाले नेपाली पत्रकारिताको नाडी छामेकी मात्रै हुन् ।
टिप्पणीहरू