इरानमाथि इजरायली हमलाको ओआइसीद्वारा निन्दा

इजरायल-इरान बढ्दो तनावका बीच इस्लामिक सहयोग संगठन (ओआईसी) को विदेशमन्त्री परिषद् बैठक बसेको छ ।
टर्कीको राजधानी इस्तानाबुलमा बसेको बैठकमा इरानमाथि हालै भएको इजरायली आक्रमण र यस क्षेत्रमा निम्तिएको सुरक्षा चुनौतीका बारेमा छलफल भएको छ ।
उद्घाटन सम्बोधनको क्रममा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायलले इरानमा गरेको आक्रमण र यस क्षेत्रमा भएको व्यापक सैन्य कारबाहीको कडा शब्दमा निन्दा गरे । त्यहाँका विदेशमन्त्री हाकान फिदानले इजरायल देश यो क्षेत्रको समस्या बनेको टिप्पणी गरे ।
अहिलेको समस्या प्यालेस्टाइन, लेबनान, सिरिया, यमन वा इरानको नभइ स्पष्ट रूपमा इजरायलको समस्या भएको उनले बताए । दुई दिने बैठकमा ३५ भन्दा बढी देशका विदेशमन्त्रीहरू सहभागी थिए । जसमा इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र पाँच उपमन्त्रीहरू पनि सामेल भए ।
इरानमा गत सातादेखि शुरु भएको इजरायली आक्रमणमा परी चार सयभन्दा बढीको मृत्यु हुनुका साथै सयौँ प्रभावित भएका छन् । इरानले आणविक हतियार विकास गर्न लागेको भन्दै इजरायलले जुन १३ को बिहानै आक्रमण शुरु गरेको थियो । त्यसपछि दुई देश आमनेसामने भैरहेका बेला हिजो अमेरिकाले बम हमला गरेपछि स्थति संवेदनशील बनेको छ ।
टिप्पणीहरू