प्रचण्डले नमानेपछि अमेरिकाविरोधी जुलुस रोकियो

प्रचण्डले नमानेपछि अमेरिकाविरोधी जुलुस रोकियो फाइल फाेटाे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि अमेरिकाविरुद्ध राजधानीमा निकाल्ने भनिएको वामपन्थी जुलुस रोकिएको छ ।

अमेरिकाको विरोधमा जुलुस निकाल्न तात्तिएका वामपन्थी दलहरु प्रचण्डले नमानेपछि अन्तिम समयमा रोकिएका हुन् । 

हिजो वामपन्थी आठ पार्टी बसेका थिए । बैठकले यही असार ११ गते माइतीघर मण्डलामा अमेरिकाविरुद्ध प्रदर्शन गर्ने निर्णय गर्यो । त्यसपछि माओवादी महासचिव देव गुरुङले अध्यक्ष प्रचण्डलाई फोन गरेर प्रदर्शनबारे बताए । 

तर,प्रचण्डले नमानेको भन्दै गुरुङ बाहिरबाट बैठकमा फर्किएको सहभागी एक नेताले बताए । भने, ‘उहाँले कहाँ अहिले,प्रदर्शन गर्नुहुँदैन । गोष्ठी मात्र गरौं । प्रदर्शन गर्नुहुन्न भन्नुभयो ।’

प्रचण्डले नमानेपछि संयुक्त वक्तव्य जारी हुँदा प्रदर्शनबारे केही पनि आएन भने गोष्ठी चाँहि गर्ने निर्णय भएको छ, जसले आठ पार्टीका नेता,कार्यकर्ताहरु रिसाएको ती नेताको भनाइ छ ।

‘सबै रिसाएका छन् । वामपन्थीहरु भाँडिए । अब ११ गतेको गोष्ठीमा पनि आउँछन् कि आउँदैनन् केही थाहा छैन,’ उनले भने ।

 

टिप्पणीहरू