प्रचण्डपछि मात्रै जनार्दनको आत्मालोचना
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्माबीचको आन्तरिक असमझदारी स्थायी समिति बैठकमा खुलस्त रुपमा देखिएको छ । पार्टीको पेरिसडाँडा मुख्यालयमा आज बसेको बैठकमा शर्माले पार्टी नेतृत्वप्रति कडा असन्तुष्टि जनाउँदै आत्मालोचनाको सर्त राखेका हुन्।
‘नेतृत्वले गल्ती माने म पनि आत्मालोचना गर्छु’
बैठकमा शर्माले आफूविरुद्ध पार्टी नेतृत्वबाटै नियोजित ढंगमा गलत प्रचार भएको आरोप लगाएका छन्। उनले भने, “३१ लाख मतबाट ११ लाखमा झर्नुमा मेरो कमजोरी छ भने म आत्मालोचना गर्न तयार छु। तर होइन भने, गल्ती गर्ने नेतृत्व तहबाटै आत्मालोचना हुनुपर्छ।”
उनले आफूले पार्टी निर्माणका लागि प्रश्न उठाउँदा त्यसलाई सजायको रूपमा बुझिएको गुनासो पनि गरे। “मैले खुला प्रश्न उठाएँ, तर भित्र–भित्रै पार्टी बन्दैन भनेर हिँड्नेहरूलाई केही भएन,” शर्माको टिप्पणी थियो।
‘कोबाट परिचालित हुनुहुन्छ ?’
बैठकमा अर्का उपमहासचिव शक्ति बस्नेत शर्मामाथि खनिएकाे स्रोतको दाबी छ। “पार्टीले भनेको नमान्ने, आत्मालोचना नगर्ने, अनि नेतृत्वविरुद्ध बोलेर हिँड्ने ? तपाईं कसको निर्देशनमा चल्नु भएको हो ?” स्रोतले बस्नेतलाई उद्धृत गर्दै भन्यो।
माओवादी केन्द्रको पछिल्ला दिनमा घट्दो राजनीतिक प्रभाव, कार्यकर्ता असन्तोष र नेतृत्वप्रति गहिरिंदै गएको प्रश्नले पार्टीभित्र आन्तरिक कलह सतहमा आएको हो। विशेषगरी शर्माले अघिल्ला चुनावताका देखाएको असन्तुष्टि र नेतृत्वको रणनीतिप्रति रहेको विरोध खुल्दै गएको छ।
टिप्पणीहरू