माधवलाई जोगाउन खोज्दा बदलाको भावनाले हेरिएको झलनाथको गुनासो

माधवलाई जोगाउन खोज्दा बदलाको भावनाले हेरिएको झलनाथको गुनासो

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाललाई पदच्युत गर्न नखोजेको प्रष्टिकरण दिएका छन् । पतञ्जली जग्गा प्रकरणमा माधवलाई भ्रष्टाचार मुद्दा लागेपछि आफूले मार्गप्रशस्त गर्न सचिवालय बैठकमा राखेको प्रस्तावलाई बदलाको भावनाका रूपमा नबुझ्न उनले पार्टीपंतिलाई आग्रह गरे । 

पतञ्जली प्रकरणमा पूर्व प्रधानमन्त्री नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । २०६६ सालमा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले काभ्रेपलाञ्चोकको बनेपामा हदबन्दी छुटमा ५ सय ९३ रोपनी जग्गा खरिद गरी ३ सय ५३ रोपनी १५ आना काष्ठमण्डप हाउजिङ कम्पनीलाई बेचेको प्रकरणसँग यो मुद्दा सम्बन्धित छ ।

तत्कालीन प्रधानमन्त्री माधव नेपालले २०६६ माघ १८ मा मन्त्रिपरिषद्को निर्णयमार्फत पतञ्जलीलाई ८ सय १५ रोपनी जग्गा खरिद गर्न हदबन्दी छुट दिएको र दुई महिना नबित्दै २०६६ चैत ६ मा उक्त जग्गा बेच्न स्वीकृति दिएको आरोप छ । यो निर्णय कानूनविपरीत रहेको र नीतिगत भ्रष्टाचार भएको भन्दै अख्तियारले २०८२ जेठ २२ मा नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दामा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो माग गरिएको छ । 

मुद्दा दर्ता भएसँगै अध्यक्ष नेपालको सांसद पद निलम्वन छ । सोही विषयमा सम्मानित नेता खनालको यो टिप्पणी आएको हो । यो मुद्दा माधव नेपाललाई मात्रै लागेको नभइ सिंगो पार्टीलाई नै हो भन्ने कतिपयले टिप्पणी गरिरहेको भन्दै असन्तुष्टि जनाएका  उनले यसलाई गलत भनेका छन् ।

यो बुझाईलाई कच्चापन र बचपनाको संज्ञा दिएका नेता खनालले असैद्धान्तिक, अराजनीतिक र संवैधानिक मर्मविपरीतका कुराहरू नगर्न नेताहरूलाई सचेत पनि गराए ।  यसले अध्यक्ष नेपाललाई झन बढी समस्या पार्ने जिकिर उनको छ । 

‘उहाँ (माधव नेपाल) ले कसरी पार्टी छोडेर गइदिए हुन्थ्यो भन्ने शब्द खुस्काउनुभयो । म अचम्मित छु । माधव कमरेडलाई यत्रो ठूलो मुद्दा लागेको छ । १९ करोडको मुद्दा लागेको छ’, उनले भने, ‘तर कसरी माधव कमरेडलाई बचाउने होला, उहाँको मुद्दालाई अनुकुल कसरी बनाउने होला । उहाँको प्रतिवादीलाई कसरी प्रभावकारी बनाउने होला ? यो कुरामा म जहिले पनि सोचिरहको छु । मैले सचिवालयमा राखेको प्रश्ताव पनि त्यसै दिशामा छ ।  उहाँलाई अनुकुलता थपियोस् भनेर । ता की उहाँले यो मुद्दाबाट मुक्ति पाउन सक्नुहोस् भनेर ।’

विगतमा केपी शर्मा ओली, राधाकृष्ण मैनाली, घनेन्द्र बस्नेत लगायतमाथि पनि मुद्दा लागेको र त्यसविरुद्ध राजनीतिक र कानुनी रुपमा लडेको स्मरण गर्दै खनालले माधवमाथि पनि मुद्दा लागिसकेकाले कच्चा काम गर्न नहुनेमा जोड दिए । यो कुरा अध्यक्ष स्वयम्ले बुझ्नुपर्ने उनले बताए । 

‘मुद्दा पहिलो पटक मात्रै देखेको, बुझेको होइन होला । थुप्रै नेता, कार्यकर्तामाथि मुद्दा लागेका छन् । केपी कमरेड, आरके कमरेड, घनेन्द्र कमरेडमाथि मुद्दा लागेको थियो । ति मुद्दाका विरुद्ध एउटा पञ्चायती तानाशाही शासनले मुद्दा लगाएको थियो’, खनालले थपे, ‘ति मुद्दाका विरुद्ध हामीले व्यापक रुपमा लड्यौँ त । राजनीतिक रुपले लड्यौँ, कानूनी रुपले लड्यौँ । यसमा उहाँले धेरै कच्चा काम गर्नुहोला भनेर आशा गर्दिन । परिपक्व काम गर्नुस् भनेर नै मैले एउटा प्रस्ताव नै पेश गरेको छु । त्यो प्रश्ताव असाध्यै सोचि विचारीकन यो पार्टी जस्तो रेभिलुसनरी पार्टीले कस्तो स्ट्याण्डर बसाउने भन्ने हो । मैले माक्सवादी प्रश्ताव र नयाँ नजिर बसाउने प्रश्ताव प्रश्तुत गरेको छु । त्यो प्रश्तावलाई यो त माधव कमरेडलाई उखेलेर फ्याँक्ने, सत्ताच्युत गर्ने, बदलाको भावना लिएर आउने भन्ने गरी कसैले हरेको छ भने यो असाध्यै कच्चापन हो । बच्पनापन पनि हुनेछ ।’

अध्यक्ष नेपालमाथि १९ करोड बराबरको मुद्दा लागेको र आफूले उहाँलाई कसरी बचाउने होला भनेर सोचिरहेको खनालले जिकिर गरे ।

टिप्पणीहरू