पत्रकार हत्याको विश्वव्यापी निन्दा

पत्रकार हत्याको विश्वव्यापी निन्दा

विश्व प्रेस काउन्सिलले प्यालेष्टाइनको गाजामा इजरायलले गरेको हवाई आक्रमणमा पत्रकार मारिएको घटनाको घोर निन्दा र भर्त्सना गरेको छ । काउन्सिलले अस्ति गाजाको अल–सिफा अस्पताल नजिक पत्रकारहरू बस्दै आएको टेन्टमा भएको इजरायली हवाई आक्रमणलाई प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष प्रहारको संज्ञा दिएको छ ।

आक्रमणमा अल–जजिराका पत्रकार अनास अल–सरिफ,मोहम्मद कुरिकेह, इब्राहिम जाहेर,मोहम्मद नौफल, मोआमेन अलिवा तथा स्वतन्त्र पत्रकार मोहम्मद अल–खाल्दी मारिएका छन् । स्वतन्त्र पर्यवेक्षकका रूपमा गाजाको द्वन्द्वबारे सत्यतथ्य जानकारी गराउन र आवाजविहीनका पक्षमा बोल्न समर्पित उनीहरुमाथि भएको आक्रमणको काउन्सिलले कडा शब्दमा निन्दा गरेको हो । काउन्सिलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनीहरू लडाकू नभए पनि इजरायलले नियोजित रूपमा लक्षित बनायो । हत्याको औचित्य पुष्टि गर्न आधारहीन आरोपसमेत लगाइयो ।’

उक्त घटनालाई गाजामा सञ्चारमाध्यममाथि भएको भयानक हिंसात्मक घटनाको रुपमा लिइएको छ । आधुनिक इतिहासमा पत्रकारहरूमाथिको सबैभन्दा घातक कालखण्डका रूपमा पछिल्लो दुई वर्षलाई लिने गरिएको छ । त्यहाँ सन् २०२३ अक्टोबर ७ देखि यता कम्तीमा २४२ जना पत्रकार र सञ्चारकर्मी मारिएका छन् । तीमध्ये अधिकांश प्यालेष्टाइनी हुन् ।

काउन्सिलका अनुसार छोटो समयमा कुनै पनि द्वन्द्वमा प्रेसमाथि यति ठूलो क्षति पुर्याइएको सम्भवत: यो नै पहिलो घटना हुनुपर्छ । पत्रकारहरूको हत्या, सञ्चारमाध्यम र तिनका पूर्वाधार नष्ट एवम् स्वतन्त्र रिपोर्टिङमा रोक अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लंघन भएको जनाउँदै काउन्सिलले यस्तो हर्कत विश्वव्यापी लोकतन्त्रका लागि खतरा भएको ठहर गरेको छ ।

घटनाको संयुक्त राष्ट्रसंघले छानबिन गर्नुपर्ने अन्तर्राष्ट्रिय मागलाई समर्थन गरेको विश्व प्रेस काउन्सिलले दोषीलाई कारबाही र तत्काल स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिन गठनको मागलाई दोहोर्याएको छ । द्वन्द्वमा सहभागी सबै पक्षलाई जेनेभा महासन्धिअन्तर्गत पत्रकारहरूलाई प्राप्त कानुनी सुरक्षाको पालन गर्न र उनीहरूको जीवनलाई खतरामा पार्ने कार्य तत्काल रोक्न आग्रह गरिएको छ ।

अध्यक्ष डेभिड ओम्बोयोद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सत्य उजागर गर्न र सत्तालाई जवाफदेही बनाउन पत्रकारहरूले आफ्नो जीवन जोखिममा पार्छन् । कलमलाई हिंसाले बन्द गराउन सक्दैन,सत्यको सँधै विजय हुन्छ ।’ यो विश्व प्रेस काउन्सिलको गत महिना निर्वाचित कार्यसमितिमा जनआस्था सम्पादक किशोर श्रेष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

 

टिप्पणीहरू