स्कूलहरु आजदेखि फेरि आन्दोलनमा
‘विद्यालय शिक्षा विधेयक’ प्रति असन्तुष्ट निजी विद्यालयहरुले आजदेखि चरणबध्द आन्दोलन थालेका छन् । प्रतिनिधि सभाको शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट हालै पारित विधेयकको विरोधमा निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याब्सनले देशभर चरणबध्द आन्दोलन गर्न लागेका हुन् ।
जसअन्तर्गत आज सबै पालिकाका अध्यक्ष–मेयर र शिक्षा शाखा प्रमुखलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम छ । त्यसैगरी,भोलि बिहान ११ बजे प्याब्सन तथा एन प्याब्सनका सदस्यहरुको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई,जिल्ला समन्वय समिति र भदौ १ गते प्रदेशका मुख्यमन्त्री, सामाजिक विकास मन्त्रालयलाई ज्ञापनपत्र बुझाइने छ ।
भदौ २ गते राष्ट्रिय सभा र प्रतिनिधि सभाका सदस्यहरुलाई ज्ञापनपत्र बुझाएर साँझ साढे ६ बजे सुझाव संकलनका लागि जुम बैठक बस्ने जानकारी दिइएको छ । भदौ ३ गते हरेक पालिकामा पालिकास्तरीय समितिको आन्दोलन तयारी बैठक, भदौ ४ गते जिल्लास्तरीय आन्दोलन बैठक र भदौ ५ गते प्रदेशस्तरीय समितिको बैठक बस्ने कार्यक्रम छ । भदौ ६ र ७ गते केन्द्र र प्रदेशस्तरमा सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने संगठनले जनाएको छ ।
ज्ञापनपत्र बुझाउँदा र अन्तरक्रिया गर्दापनि निकास ननिस्किएमा विद्यालय बन्दसम्मको कार्यक्रम गर्ने चेतावनी दिइएको छ । लामो रस्साकस्सीपछि समितिबाट पारित शिक्षा विधेयकको केही बुँदामा निजी विद्यालयहरुले आपत्ति जनाएका छन् । शिक्षण संस्थालाई गैरनाफामूलक बनाउने, विद्यार्थीहरुलाई १५ प्रतिशतसम्म पूर्ण छात्रवृत्ति दिनुपर्नेलगायतका व्यवस्थाप्रति उनीहरुको असहमति छ ।
टिप्पणीहरू