शिवपुरीको हावाले नछोओस् है श्रीमान्
अघिल्ला प्रधानमन्त्रीहरूले जनतालाई दिएको वाचा पूरा गरेनन् भन्दै अब केही गर्न अघि सरेकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नो नाम त्यही सूचीमा दराउनु हुन्न । जनतामाथि विश्वासघात गरेको, बाचा भुलेको गुनासो गर्नुहुन्थ्यो, पारदर्शिता, भ्रष्टाचारमुक्त देश, कानुनको शासन र सर्भिस डेलिभरीमा चुकेको जस्ता आरोपहरूबाट आफू अलग देखिने ठाउँमा अहिले आफैं पुग्नु भएकाले अब त्यस्तो नहोस् ।
तपाइँले आफ्नै निर्णयविरुद्ध प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु भएको छ । शिवपुरीको एकान्तवासमा बस्नु नपरेको भए केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा गर्थे ? राष्ट्रपति रामचन्द्र पौडेललाई नयाँ प्रधानमन्त्री छान्ने प्रक्रिया थाल्न सम्मति दिने खाले मान्छे थिए ? अभियन्ताहरू जस्तै बोलेर मात्रै जिम्मेवारी पुरा हुँदैन, कार्यान्वयन गर्ने ठाउँमा जनताले पुर्याएपछि जनताप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ ।
तपाइँले आफ्ना अग्रज पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीलाई आलोचना गर्नुभएको थियो, जसले शान्तिपूर्ण रूपमा एक वर्षभित्र चुनाव गराएर गए । तपाइँले पनि तोकेकै मितिमा काम फत्ये गर्ने आफ्नो प्रमुख दायित्व इमान्दारितापूर्वक निर्वाह गरिदिनु होला । तपाइँबाट कसैप्रति आग्रह–पूर्वाग्रह राख्ने, नातावाद, कृपावाद, आक्रोश र घृणा व्यक्त गर्ने अनि पदको दुरूपयोग गर्ने काम हुने छैन भन्ने कुरामा हामी विश्वस्त छौं किनभने यी कुरा शासकका चरित्र हुन् ।
तपाइँका सामु संविधान छ, लोकतान्त्रिक पृष्ठभूमिसहित त्यसका मूल्य–मान्यता छन्, देश र जनताप्रति इमान्दार पनि हुनुहुन्छ । परिभाषित दायित्व निर्वाह गर्न शुभकामना व्यक्त गर्दागर्दै बेलाबेला देखिने व्यक्तिगत घृणा र आक्रोशहरू, आग्रह र पूर्वाग्रहहरू तपाइँको शासन र शासकीय प्रणालीमा कतै नदेखियोस्, एउटा असल र काबिल प्रधानमन्त्रीका रूपमा नेपालीजनजनका मनमस्तिष्कमा बास गर्नुहोस्, शिवपुरीको एकान्त हावाले पटक्कै नछोओस् भन्ने कामनासहित पुनः हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं । किनभने यो क्षणभंगुर संसारमा हरेक कुरा अस्थायी हुन्छन् ।
– कञ्चन कोइराला
टिप्पणीहरू