‘बालाई हटाएर आमाका लागि मात्रै आन्दोलन गरिएको हो ?’

‘बालाई हटाएर आमाका लागि मात्रै आन्दोलन गरिएको हो ?’

जेन जी प्रदर्शन र विध्वंशका पीडितहरूले सरकारमाथि पूर्वाग्रहीको आरोप लगाएका छन्। भदौ २३ र २४ गतेका घटनामा सहभागी भएपछि घाइते र ज्यान गुमाएका व्यक्तिका परिवारले आज राजधानीमा पत्रकार सम्मेलन गर्दै सुशीला कार्की नेतृत्वको सरकारले जेन जीको एजेण्डामाथि घात गरेको दाबी गरेका हुन्।

एक मृतकका आफन्त जगत विकले प्रश्न गरे, ‘बालाई हटाएर आमा ल्याउनको लागि मात्रै आन्दोलन गरिएको हो ?’ उनले सरकार उपत्यका बाहिरका घाइते र मृतक परिवारलाई बेवास्ता गरेको आरोप लगाए । ‘पूर्वदेखि सुदूरपश्चिमसम्म युवाहरूले ज्यान गुमाए, घाइते भए, तर सरकारले काठमाडौँमा घाइते भएकालाई मात्रै देखिरहेको छ। देशभरका युवाको रगतले बनेको सरकारले तिनै युवाको त्यागलाई बेवास्ता गर्न मिल्छ? उनीहरूको पीडा सम्बोधन गर्न पर्दैन? आमा पनि बा जस्तै हो भने किन चाहियो यो सरकार?’ उनले प्रश्न उठाए।

प्रहरीको गोली लागेर एउटा आँखा गुमाएका सुयोग राईले सरकारसँग रोजगारीको ग्यारेन्टी माग गरे। ‘मेरो आँखामा गोली लागेपछि अहिले एउटा मात्र आँखा छ,’ घाउ देखाउँदै उनले भने, ‘अब कसरी बाँच्ने चिन्ता छ। सरकारले म जस्ता घाइतेका लागि रोजगारी सुनिश्चित गरोस्, गोली चलाउने प्रहरीको नाम सार्वजनिक गरोस्।’

मृतकका अर्का आफन्त प्रदीप भट्टराईले वर्तमान सरकार संविधानबाहिरबाट बनेको आरोप लगाउँदै अन्तरिम संविधान जारी गरेर प्रत्यक्ष निर्वाचित कार्यकारीको चुनाव गराउन माग गरे। ‘जेन जीको मुख्य मागलाई केही स्वार्थी समूहले कब्जा गर्दै गइरहेका छन्,‘ उनले भने, ‘देशको नेतृत्व युवाले नै गर्नुपर्छ। युवाले नेतृत्व गरेपछि मात्रै सन्तानको त्यागको सम्बोधन हुन्छ।’

घाइते सञ्जय पौडेलले पनि सरकारप्रति आक्रोश प्रकट गरे। ‘म त मरेँला भन्ने सोचेको थिएँ, अहिले बोनसको जिन्दगी बाँचिरहेको छु,’ उनले घाउ देखाउँदै भने, ‘हामी भ्रष्टाचारविरुद्ध आन्दोलनमा सडकमा निस्केका थियौं। तर अहिले हाम्रो मुख्य एजेण्डामाथि खेल भइरहेको छ। यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ।’

टिप्पणीहरू