द्वन्द्वले जन्माएको सञ्जाल एकल महिलाहरुको धरोहर
- नमस्कार शाह
शोकलाई शक्तिमा बदल्ने उद्घोष वा सल्लाह सुन्नमा सजिलो भएपनि व्यवहारमा धेरै कठिन हुन्छ । तर हिम्मत र संगठनमार्फत् सम्भव हुन्छ भन्ने उदाहरण बाँकेमा द्वन्द्व पीडित एकल महिला सञ्जाल गठनपछि देखिएको छ ।
शोक र पीडाबाट जन्मिएको यो सञ्जाल अहिले समाजमा एउटा शक्तिशाली स्वरूपमा अगाडि बढिरहेको छ। १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा बाँके सीतापुरकी शोभा बिसीका श्रीमान, जो नेपाली सेनामा कार्यरत थिए, २०५९ साल भदौ २३ गते दोहोरो भिडन्तमा मारिए।
त्यतिबेला शोभाको उमेर २१ वर्ष मात्रै थियो। सानै उमेरमा श्रीमान गुमाउँदाको पीडा असह्य थियो। शोभा मात्रै होइनन्, द्वन्द्वका क्रममा सयौं महिलाको सिउँदो उजाडियो, बालबालिका टुहुरा भए, कतिपय परिवार घरबारबिहीन बने।

समाज र आफन्तबाटै अस्वीकारको व्यवहार भोग्दै आएका केही महिलाहरुको बीचमा शोभा र खजुराकी एकमाया बिकलगायतले आवाज उठाउने पहल गरे। २०५९ सालमै द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल गठन गरेपछि शोभाले यसको नेतृत्व सम्हालिन्।
२०६३ सालमा जिल्ला प्रशासन कार्यालय बाँकेमा आधिकारिक रूपमा दर्ता भएको संस्थाको संस्थापक अध्यक्ष शोभा बिसी भन्छिन्, ‘एउटा सानो बाकसमा सामग्री राखेर सुरु गरेका थियौं, त्यही हाम्रो दरबार थियो।’ सुरुमा २५ गाविसका करिब २५ सय एकल महिला संगठित भए ।
त्यसबेलाको समाजमा एकल महिलाले सेतो कपडा मात्रै लगाउनुपर्ने मान्यता व्याप्त थियो। तर शोभाहरुले रातो रंगका कपडासहित विद्रोह गरे। उनीहरूको सामाजिक कुरितीको विद्रोह सफल भयो। तर संघर्ष सजिलो थिएन। कार्यालय भाडामा पाउन ८–९ पटक घर सार्नु पर्यो।
समाजका कतिपयले त्यस्तादले ‘साइत बिगार्छन्’, ‘शुभ हुँदैन’ भनेपछि उक्त बाध्यता आइपरेको बताउँछन् । आज सो संस्था आफ्नै भवनमा सरेको छ। नेपालगञ्ज नजिकैको बाँके गाउँमा डेढ करोड रुपैयाँको लगानीमा भवन बनेको हो । शोभाको कार्यकालमा सुरु भएको निर्माण कार्य जयन्ती केसीको नेतृत्वमा पूरा भएको बताइन्छ । अहिले संस्थापक सदस्यमध्येकी एक, एकमाया बिक, संस्थाको अध्यक्ष छन्।
संघर्षको लामो यात्रापछि यो संस्था आज पनि पुरानो ‘बाकस’लाई सम्झन्छ। त्यसैले अहिले पनि बाकसलाई कार्यालयमा सुरक्षित तवरले राखिएको छ। द्वन्द्वबाट जन्मिएको सञ्जाल अहिले एकल महिलाहरुको साझा छाता संस्था बनेर उनीहरूको अधिकार र पहिचानका लागि निरन्तर खटेको छ ।
टिप्पणीहरू