फर्सी, काँक्रो र घिरौंलामा अत्यधिक विषादी
काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा बेच्न ल्याइएको हरियो फर्सी, काँक्रो र घिरौंलामा अत्यधिक विषादी भेटिएको छ ।
मकवानपुरबाट कालिमाटी बजारमा बिक्रीका लागि ल्याइएको फर्सी, धादिङको घिरौंला र काठमाडौंमा उत्पादित काँक्रोमा विषादी पाइएको हो । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज विभिन्न १५ वटा तरकारीको विषादी परीक्षण गरिएको थियो ।
त्यसक्रममा हरियो फर्सीमा ४५ दशमलब ५९८ प्रतिशत, घिरौंलामा ६५ दशमलब ०३० प्रतिशत र काँक्रोमा ५२ दशमलब ९२१ प्रतिशत अर्गानोफस्फेट नाम विषादी भेटिएको छ । विषादी भेटिएका ती तरकारी नष्ट गरिएको समितिको भनाइ छ ।
कालिमाटी तरकारी बजारमा कार्बामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको परीक्षण हुँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम भएमा उपभोग्ययोग्य, ३५ देखि ४५ प्रतिशत रहेमा केही दिन राखेर खान मिल्ने र सोभन्दा बढी भेटिएमा खान अयोग्य मानी नष्ट गरिन्छ ।
टिप्पणीहरू