प्रचण्ड र ओलीलाई कार्यकर्ताको भर, देउवा बेखबर
सरकारले पूर्व विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिने सुरक्षाकर्मीको संख्या कटौती गरेपछि विभिन्न राजनीतिक दलका युवा कार्यकर्ता आफ्नै पार्टी नेतृत्वको सुरक्षामा अग्रसर भएका छन् । हिजो बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्व सभामुखसहितका बहालवाल विशिष्ट व्यक्तिहरूको सुरक्षार्थ खटिएका सुरक्षकर्मीको संख्या घटाउने निर्णय कार्यान्वयनका लागि सिफारिस गरेको थियो ।
सो निर्णयपछि राजनीतिक दलका भ्रातृ संगठनहरूले आफ्ना शीर्ष नेताको सुरक्षाको जिम्मा आफैं लिन थालेका छन् । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षामा अहिले युवा कम्युनिस्ट लिग (वाईसीएल) र पूर्व जनमुक्ति सेनाका सदस्यहरू खटिन थालेका छन्। वाईसीएल इञ्चार्ज रामप्रसाद सापकोटा (दिपशिखा)का अनुसार सरकारले प्रचण्डका सुरक्षकर्मी फिर्ता बोलाएपछि पार्टी कार्यकर्ताले सुरक्षाको जिम्मेवारी लिएका हुन्।
उनले भने, ‘प्रचण्डलगायत माओवादी नेताहरूको सुरक्षा वाईसीएल र पूर्व जनमुक्ति सेनाले गरिरहेको छ, गर्न तयार पनि छौं। बुझ्नुपर्छ, ढिलोचाँडो बदलाभावको सत्ता डण्डा केपी ओलीको जस्तो नै हुन्छ।’
वाईसीएलका एक नेताका अनुसार प्रचण्डको सुरक्षामा दुई तह—भित्री र बाहिरी—व्यवस्था गरिएको छ। भित्री सुरक्षाको जिम्मा पूर्व जनमुक्ति सेनाले लिएको छ भने बाहिरी सुरक्षा वाईसीएलका कार्यकर्ताले सम्हालिरहेका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा पनि भ्रातृ संगठनका युवाहरू सक्रिय भएका छन्। राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुका युवा नेताहरू ओलीको सुरक्षामा खटिन थालेको बताइन्छ ।
राष्ट्रिय युवा संघका इञ्चार्ज महेश बस्नेतले पूर्व विशिष्ट व्यक्तिहरूको सुरक्षा कटौती गरेर सरकारले ‘गम्भीर त्रुटि’ गरेको टिप्पणी गरेका छन्। उनले भने, ‘पूर्व विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्था गर्नु संसारभरका सरकारहरूको कानुनी र नैतिक दायित्व हो। जब सरकार यो दायित्वबाट भाग्छ, हामी हाम्रो आदरणीय अध्यक्षको सुरक्षा सुनिश्चित गर्न सक्षम छौं भन्ने सन्देश दिन चाहन्छौं।’
यसैबीच, भूतपूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको सुरक्षामा खटिने कार्यकर्ताबारे हालसम्म पार्टीले स्पष्ट भएको छैन।
टिप्पणीहरू