ज्याकेटमा टिओबी,कम्मरमा पेस्तोल
भदौ २३ गतेको जेन जी प्रदर्शन र भोलिपल्टको देशब्यापी विध्वंशका विभिन्न पाटो पटाक्षेप हुने क्रम जारी छ । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा र भ्रष्टाचाररहित समाज स्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका टिनएजरहरुको माग एकातिर भए पनि आन्दोलनको परिचालन,ग्राण्ड डिजाइनबारे विभिन्न खाले चर्चा र विश्लेषण हुन थालेको छ ।
आन्दोलन नसोचेको ढंगले क्षणभरमा हिंसात्मक हुनु, भोलिपल्ट सिंहदरबारदेखि राज्यका संवैधानिक संरचनासँगै अधिकांश सरकारी भवन,निजी तथा व्यवसायिक भवनमा लुटपाट र आगजनी मच्चिनुले अनेक आशंका उब्जाएको छ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएको भोलिपल्ट कुनै राजनीतिक,कूटनीतिक हैसियत नभएका र चीनको तिब्बतबाट भारतमा निर्वासित दलाई लामा, उनका प्रधानमन्त्री र नेपाल प्रतिनिधि (मन्त्री)ले बधाई दिनुलाई अचम्म मानिएको परिप्रेक्ष्यमा हिजोदेखि सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियो र केही फोटोले समाजलाई सशंकित बनाएको छ ।
कालो ज्याकेट र टि सर्टमा टिओबी अर्थात टिबेटन ओरिजिनल ब्लड लेखिएका केही अधबैंशेले रातको समयमा बबरमहलस्थित धोबीखोला पुलमा अत्याधुनिक हतियार (पेस्तोल) बोकेर हिँडेको तस्बिर र भिडियोबारे प्रहरीले अनुसन्धान थालेको जनाएको छ । भदौ २४ गतेको तोडफोड,आगजनी, टिओबीको नाममा भएको मोटरसाइकल र्याली,बोकिएको हतियारबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर काठमाडौंको भनाइ छ ।
अर्कोतर्फ चीनको संवेदनशील भूभागको तिब्बत स्वायत्त क्षेत्रसँग नेपालको उत्तरी सीमा जोडिएको छ । चीनको आन्तरिक राजनीतिमा निकै महत्वपूर्ण र विशेष अर्थ राख्ने तिब्बतको नामसँग जोडेर नेपालमा भएको आन्दोलनमा देखिएको हतियार प्रदर्शनले भूराजनीतिक चासोलाई ह्वात्तै बढाएको छ । नेपाली समाजमा विभिन्न कारागारबाट भागेका साढे ६ हजार कैदी,हिरासतमा रहेका झण्डै एक हजार जना आरोपितसँगै लुटिएका प्रहरीका एक हजार बढी हतियार र हजारौं थान गोलीले सुरक्षा चिन्ता थपिदिएको छ ।
नेपालले हालसम्म एक चीन नीतिलाई समर्थन गर्दै आएको छ । छिमेकी चीनले पनि असल छिमेकी मुलुक नेपालसँग त्यो बाहेक अरु केही खोजेको अहिलेसम्म देखिएको छैन । तर, उत्तरी छिमेकी मुलुकको संवेदनशीलतामा खेल्ने उद्देश्यले भएको आशंका गरिएका यस्तो खेलबारे मुख खोल्न स्वयम् सरकार बाध्य हुने अवस्था सिर्जना हुँदैछ । स्मरण रहोस्, कार्की नेतृत्वको सरकार गठन भएको एक महिनासम्म चिनियाँ समकक्षीले आजसम्म औपचारिक बधाईका शब्द पठाएको छैन ।
टिप्पणीहरू