दुर्गा प्रसाईं दिल्लीबाट बाग्डोग्रा,त्यताबाट सोझै श्री पशुपतिनाथ
राजसंस्था पुनःस्थापना र हिन्दू राष्ट्रको माग गर्दै आएका दुर्गा प्रसाईं आज काठमाडौं फर्किँदै छन् । उनी भदौ २३ गतेको प्रदर्शन र २४ गतेको विध्वंसपछि नयाँ दिल्ली गएका थिए ।
भदौ २६ गते साँझ प्रधानसेनापति अशोकराज सिग्देलसँग जंगी अड्डामा भेटेर नयाँ सरकार गठनबारे कुराकानी गरेको केही दिनपछि उनी झापाको सिमाना कटेर भारततर्फ प्रस्थान गरेका थिए ।
प्रसाईं भद्रपुरबाट काठमाडौं फर्केर सोझै पशुपतिनाथ मन्दिरको दर्शन गर्न जाने कार्यक्रम रहेको उनका सहयोगीहरुले बताएका छन् ।
यसअघि गत चैत १५ गते काठमाडौंको तीनकुनेमा आयोजित प्रदर्शन हिंसात्मक बनेपछि पनि भारततर्फ भागेका थिए। त्यसपछि भारतीय प्रहरीको सहयोगमा पक्राउ परेर अदालतको आदेशमा केही महिना जेल बस्नुपरेको थियो ।
धरौटीमा रिहा भएका प्रसाईं र उनको संस्थामाथि भदौ २४ गतेको विध्वंशमा संलग्न भएको आरोप लागेको छ । सो घटनामा सर्वोच्च अदालत,काठमाडौं जिल्ला अदालत,संसद भवन र व्यापारिक भवनहरूमा आगजनी गरिएको थियो ।
उनी पछिल्ला दिनमा उपचारका लागि नयाँ दिल्ली गएको भन्ने गरिएको छ । तर, उनको यो भ्रमणलाई कतिपयले राजनीतिक उद्देश्यसहितको शंकास्पद यात्राका रूपमा हेरेका छन् ।
टिप्पणीहरू