प्रमुखबिनै गुप्तचर टोली भारत प्रस्थान
राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का नवनियुक्त प्रमुख टेकेन्द्र कार्कीले भारत भ्रमण रद्द गरेका छन् । भारतको अन्तर्राष्ट्रिय मामिला हेर्ने गुप्तचर संस्था ‘रअ’ को आयोजनामा हुन लागेको दुई दिने कार्यक्रममा उनी सहभागी नहुने भएका हुन् । मन्त्रिपरिषद्ले भ्रमण स्वीकृत गरिसकेकोमा उनले स्थगित गरेको स्रोत बताउँछ ।
स्रोत भन्छ,‘उहाँको भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको थियो । तर, अन्तिम समयमा नजाने सोच बनाउनुभयो ।’ नयाँ दिल्लीस्थित ‘रअ’ को मुख्यालयमा आयोजना हुन लागेको ‘दक्षिण एसियामा आतंकवाद’ विषयक कार्यक्रममा सहभागिता जनाउनका लागि उनलाई आयोजकको तर्फबाट निमन्त्रणा आएको थियो ।
सो कार्यक्रममा उनीसहित विभागको सूचना संकलन तथा निर्देशन शाखाका प्रमुख कृष्ण खनाल र भक्तपुरका प्रमुख एसपी टेकराज तिमिल्सिना जाने तय भएको थियो । प्रमुख कार्कीले आफ्नो भ्रमण ‘क्यान्सिल’ गरेपछि खनाल र तिमिल्सिना आज त्यसतर्फ प्रस्थान गरेका छन् । उनीहरुसँगै भारतस्थित नेपाली दूतावासमा तैनाथ विभागका एसएसपी नविनराज अधिकारीले कार्यक्रममा सहभागिता जनाउनेछन् ।
हरेक वर्ष दक्षिण तथा मध्यपूर्वी एसियाका विभिन्न १० राष्ट्रका खुफिया एजेन्सीहरुका वरिष्ठ अधिकृतहरुको उपस्थितिमा आतंकवाद र समाधानका मार्गसम्बन्धी वार्षिक रुपमा समिक्षा गर्ने प्रचलन छ । सोहीबमोजिम भारतले कार्यक्रम आयोजना गरेको हो । अतिथिहरुलाई दिल्लीको लीला प्यालेस होटलमा राखिने छ ।
टिप्पणीहरू