लुटिए हतियार, रित्तिए ब्यारेक
जेन–जी आन्दोलनका क्रममा काठमाडौं उपत्यकाको सुरक्षा कमाण्ड सम्हालेको रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयबाट मात्रै १ हजार ५ सय नाल हतियार लुटिएका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ता तथा नायब महानिरीक्षक विनोद घिमिरेले लुटिएका हतियारको वास्तविक संख्या संकलन भइरहेको बताएका छन् । डिएसपी दीपक रेग्मीको नेतृत्वमा गठन गरिएको टोलीले देशभर आगजनी र तोडफोड गरिएका भवनहरूको विवरण संकलन गरिरहेको छ । यही टोलीले लुटिएका हतियार, गोली र बर्दीसम्बन्धी तथ्यांक पनि बटुलिरहेको छ । नक्सालस्थित प्रहरी प्रधान कार्यालयले दिएको विवरणअनुसार देशभर २ हजार ९ सय ६४ थान हतियार लुटिएका छन् ।
त्यस्तै, १ लाख ६८ हजार ७ सय ९८ थान गोली लुटपाट र आगजनी गरिएको छ । तीमध्ये अटोमेटिकसहित १ हजार १ सय ९० वटा राइफल छन् । कुनै बेला नेपाली सेनाले प्रयोग गरेर प्रहरीलाई हस्तान्तरण गरेका ३२३ थान एसएलआर राइफल लुटिएका छन् । एसएलआर घातक अटोमेटिक राइफलमध्ये पर्छ ।
भारतमा उत्पादित र नेपाली सेनाले प्रयोग गर्ने इन्सास राइफल पनि ३२६ थान लुटिएको छ । यही इन्सास राइफलकै कारण माओवादी युद्धका बेला तत्कालीन शाही नेपाली सेनाले ठूलो धक्का खेप्नुपरेको थियो । प्रहरीका अनुसार स्वचालित सर्ट–मेसिन गन (एसएमजी) ३३ थान, दोस्रो विश्वयुद्धताका प्रयोग भएको थ्रि–नट–थ्रि राइफल २७५ थान र हर्नेट राइफल २१५ थान बेपत्ता छन् । त्यसैगरी मार्कफोर राइफल ६ थान र २२ म्याग्नम ४५ थान लुटिएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार ३ सय ४४ थान सर्टगन फेला परेका छैनन् । ती सर्टगनका लागि प्रयोग हुने ७ हजार १ सय ७८ थान गोली पनि लुटिएका छन् । अन्य सर्टगन ३२८ थान, फोल्डिङ र नन–फोल्डिङ सर्टगन १५ थान र एउटा १२ बोर सर्टगन पनि गायब छ ।
ठूला हतियारसँगै आपराधिक घटनामा प्रायः प्रयोग हुने पेस्तोल पनि डरलाग्दो संख्यामा लुटिएका छन् । ६ सय ४७ थान पेस्तोल गायब छन् । तीमध्ये १३ हजार ७ सय ५ थान गोली पनि लुटिएको छ । टाइप ५४ पेस्तोल ३३४ थान, टाइप ७७ पेस्तोल २८ थान, ९ मिमि पेस्तोल ११३ थान र ३८ स्पेशल रिभल्भर १७३ थान बेपत्ता छन् । आन्दोलनका क्रममा ६८८ थान ग्यासगन पनि लुटपाट भएको छ ।
प्रहरीले लुटिएका ५८ थान हतियारलाई ‘अन्य सूची’ मा राखेको छ । तीमध्ये मिश्रित शस्त्र ३२ थान, भरूवा बन्दुक १४ थान, सानो चापे ४ थान र ठूलो चापे ८ थान छन् । आन्दोलनका क्रममा इन्सास राइफल एक थान भाँचिएको, एउटा पेस्तोल जलेको र एउटा सर्टगनको ट्रिगर गार्ड भाँचिएको छ ।
काठमाडौं उपत्यकामा भक्तपुरको ठिमी र कालिमाटी वृत्तबाहेक सबै युनिटका हतियार लुटिएका थिए । प्रहरी र नेपाली सेनाले लुटिएका हतियार र गोली फिर्ता गर्न आग्रह गरेका छन् । तर ठूलो संख्याका हतियार अझै फर्किएका छैनन् ।
के भन्छ कानुन ?
नेपाल प्रहरी ऐन, २०१२ अनुसार, आफ्नो साथ वा जिम्मामा रहेका हातहतियार र खरखजानाको सुरक्षा गर्नु प्रहरीको प्रमुख कर्तव्य हो । जिम्मामा रहेका हातहतियार आक्रमणकारीलाई सुम्पिएमा जन्मकैद वा १४ वर्षसम्म कैद सजाय हुने व्यवस्था ऐनमा छ ।
उक्त ऐनको परिच्छेद ६ (अपराध र सजाय खण्ड) को दफा ३३ (क) अनुसार, कडा अपराधमा जन्मकैद वा १४ वर्षसम्म कैद, तीन वर्षसम्मको तलब रोक्का, वा दुवै सजाय हुन सक्छ । त्यही दफाको उपदफा (ङ) मा थाना, चौकी, गरद, पालो पहरा आदि स्थान वा आफ्नै जिम्मामा रहेका हातहतियार, खरखजाना, अन्य सरकारी धनमाल वा कागजात आक्रमणकारीलाई सुम्पिएमा कारबाही हुने व्यवस्था गरिएको छ ।
टिप्पणीहरू