सर्वोच्च खरानी हुँदा कोशेली बटुल्दै श्रीमान्
सर्वोच्च अदालतसहित २३ वटा अदालत जलेर खरानी परेको बेलामा भारतीय नागरिकलाई छाडेको संगीन आरोप लागेका बाराका तत्कालीन प्रमुख (एक नम्बर) न्यायाधीश भोला ढकालमाथि छानबिन अघि बढेको छ ।
दशैं बिदा सकिएलगत्तै असोज २१ गते ढकाललाई न्याय परिषदमा तानिएको थियो । जेनजी आन्दोलनको बेला सम्पत्ति शुद्धीकरण र राजस्व छलीसम्बन्धी मुद्दामा घुस खाएर भारतीय नागरिकलाई छाडेको आरोप ढकालमाथि लागेको छ ।
फरार भारतीय नागरिक अशोककुमार सिन्हा र छोरी निवेदिका सिन्हालाई ‘डमी’ प्रतिवादी खडा गरी धरौटीमा छाडिएको संगीन आरोप छ । ‘सम्पत्ति शुद्धीकरणको मुद्दामा प्रतिवादी छुटाउने आदेश र बाराको उजुरी एकै ठाउँ भिडाएर केलाउने काम भइरहेको छ,’ परिषद् स्रोतले भन्यो ।
कानुन अनुसार, एक वर्षभन्दा बढी कैद सजाय हुन सक्ने विदेशी नागरिकलाई थुनामै राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने व्यवस्था छ । तर फरारको हकमा ‘डमी’ प्रतिवादी उपस्थित गराएर छाड्ने आदेश भएको प्रश्न उठाइएको छ ।
उक्त प्रकरणमा न्यायाधीश ढकालले बिचौलिया भनिएका भारत रक्सौल स्थायी घर भएका रिपुसुधन प्रसाद तथा घरबेटी दीपक दासको सेटिङमा प्रतिवादी छाडेको किटानी उजुरीमा उल्लेख छ । सिन्हालाई छुटाउन रक्सौलका रिपुसुधन आफैं बारा अदालत पुगेका थिए । प्रतिवादी अशोककुमार सिन्हा र उनकी छोरी निवेदिका सिन्हा दुवै भारत रक्सौलकै हुन् । उनीहरूलाई गत असोज ५ गते छाड्ने आदेश भएको थियो ।
परिषद् स्रोतले जनाएअनुसार, २५ किलो ३८३ ग्राम सुन तस्करी घटनासँग धरौटी आदेशको तन्तु जोडिएको छ । उक्त सुन २०७७ कात्तिक १ गते वीरगञ्ज–५, रेशमकोठीस्थित गणेश अपार्टमेन्टबाट बरामद भएको थियो । उक्त अपार्टमेन्ट भारतीय जनता पार्टीका नेता प्रमोदकुमार सिन्हाका भाइ अशोककुमारको स्वामित्वमा रहेको छ ।
बाउ–छोरीविरुद्ध सजायका लागि राजस्व अनुसन्धान विभागले चोरी–पैठारीबाट आर्जित ३४ करोड २४ लाख रुपैयाँ बराबरको अवैध सम्पत्तिमाथि दोब्बर जरिवाना र २ वर्षदेखि १५ वर्षसम्मको जेल सजाय माग गरेको छ । छोरी निवेदिकाविरुद्ध मात्रै १९ करोड ७३ लाख रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको अभियोग छ ।
न्यायाधीश ढकालले प्रतिवादी वृद्ध र बिरामी भएको कारण देखाउँदै १०–१० लाख रुपैयाँ न्यून धरौटीमा छाडेका छन् । धरौटी आदेश मिलाउने काममा न्यायाधीश ढकालका घरबेटी दास र रक्सौलका रिपुसुधन प्रसादले करिब २ करोड रुपैयाँ खर्च गरेको चर्चा सिन्हा बाउ–छोरी छुटेपछि चलेको छ ।
टिप्पणीहरू