चुनाव गराउन नसके सरकार असफल : प्रधानमन्त्री
राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन हुन नदिन स्वार्थ समूहहरू सक्रिय बनेको भन्दै जेन जी अगुवाहरुलाई सतर्क हुन आग्रह गर्नुभएको छ । शीतल निवासमा भएको जेन जी अगुवासँगको छलफलमा उहाँले तोकिएकै मितिमा चुनाव गराउन कुनै कसर बाँकी नराख्न आग्रह गर्नुभएको छ ।
त्यस्तै, प्रधानमन्त्री कार्कीले पनि तोकिएको मितिमा चुनाव गराउन नसके सरकार नै असफल ठहरिने भएकाले सफल गराउन जेन जी अगुवालाई आग्रह गर्नुभयो । “प्रधानमन्त्रीज्यू जसरी पनि चुनाव सफल गराउने पक्षमा हुनुहुन्छ, उहाँ सिरियस हुनुहुन्छ,” छलफलमा सहभागी एक जेनजी अगुवाले भने, “उहाँमाथि धेरै खालका प्रेसर छ, हामीले पनि चुनाव गराउन भरपुर सहयोग गर्छौं भनेका छौं ।”
त्यस्तै, जेन जी सहिद परिवार र घाइतेका मागलाई सम्बोधन गर्न छुट्टै समिति बनाउनेबारे पनि छलफल भएको छ । छलफलमा राष्ट्रपति, प्रधानमन्त्री, सबै मन्त्री र जेन जी अगुवा सहभागी थिए । छलफल भर्खरै सकिएको छ ।
बैठकमा मन्त्रिमण्डललाई पुर्णता दिनेबारे छलफल भए पनि कुनै निर्णय नभएकाे बताइन्छ ।
टिप्पणीहरू