कमेरो र रातो माटोले घर रङ्गाउन गाउँपालिकाको आग्रह

कमेरो र रातो माटोले घर रङ्गाउन गाउँपालिकाको आग्रह

काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले तिहारमा माटोले घर रङ्गाउन स्थानीय बासिन्दालाई आग्रह गरेको छ । विगतमा तिहारका बेला सेतो कमेरो र रातो मासोले घर श्रृङ्गारिने गरिएकोमा पछिल्लो समय आधुनिकतासँगै ती संस्कृति हराएकोप्रति चिन्ता व्यक्त गर्दै गाउँपालिकाले यस्तो आग्रह गरेको हो । 

‘यस गाउँपालिकामा मात्र नभई हाम्रो देशको विभिन्न गाउँ बस्तीमा आजभन्दा केही वर्षअघिसम्म सेतो कमेरो र रातो माटोले पोतिएका रमाइला घरहरु प्रशस्त भेटिन्थे । टाढैबाट गाउँहरुको पहिचान सजिलै खुल्दथ्यो । प्रत्येक वर्षको दिपावलीको अवसरमा प्रत्येक घरका मानिसहरुले आफ्ना घरलाई सेतो कमेरो र रातो माटोले श्रृङ्गार्दै घर नै झिलिमिलि बनाएर दिपावली मनाउने चलन थियो,’ गाउँपालिकाले स्मरण गरेको छ । 

गाउँपालिकाका अनुसार यसपालि पालिकामा रहेका सम्पूर्ण घरमा एकरुपता आउने प्रकारको रंग अर्थात् सेतो कमेरो र रातो माटोले घर रंगाउने निर्णय भएको छ । यसले पालिकाको पर्यटन प्रवर्द्धनमा समेत थप टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । ‘हामी नेपालीहरुको परम्परागत सेतो कमेरो र रातो माटोले घर रंगाएर यो सालको दिपावलीबाट नयाँ सांस्कृतिक पुनर्जागरणको आरम्भ गर्नका लागि सम्पूर्ण खानीखोलाबासी जनसमुदायमा अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

टिप्पणीहरू