‘साइलेन्सर’ जडित बाइकमाथि ‘एक्सन’
सवारी तथा यातायात ऐन, २०४९ ले स्वीकृति नलिई सवारी साधनमा कुनै प्रकारको हेरफेर गर्न नहुने व्यवस्था गरेको छ । दफा ३९ मा लेखिएको छ,‘अधिकारप्राप्त अधिकारीको स्वीकृति नलिई सवारीको रंग,सीट संख्या,स्वरुप,इन्जिन वा चेसिसमा परिवर्तन हुनेगरी सवारीमा हेरफेर गर्न हुँदैन ।’
पछिल्लो समय युवापुस्तामा एउटा रहर जागेको छ–मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने । युवापुस्ताले मोटरसाइकलमा ‘साइलेन्सर’ को प्रयोग गरी चलाउन थालेका छन् । जसले ध्वनि प्रदूषणलाई बढावा दिएको छ । अर्कोतिर, कानुनविपरीत आफूखुशी मोटरसाइकलको स्वरुप परिवर्तन गरी समाजलाई आतंकित बनाउने काम भइरहेको छ ।
चर्को ध्वनिमा तीव्र गतिमा मोटरसाइकल चलाउने प्रवृत्तिले सर्वसाधारण आजित भएका छन् भने यसले दुर्घटनाको जोखिम बढाएको छ । सुतेको अवस्थामा चर्को ध्वनिमा मोटरसाइकल चलाउँदा सर्वसाधारण तर्सिने गरेका छन् । त्यस्ता खालका व्यापक गुनासो आएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले धमाधम कारबाही गर्न थालेको छ ।
कार्यालयले हिजो मात्र दुई सय स्वरुप परिवर्तनको मोटरसाइकल नियन्त्रणमा लिएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार स्वरुप परिवर्तनको मोटरसाइकल नियन्त्रणमा लिनु ट्राफिक प्रहरीको नियमित काम हो ।
मोटरसाइकलको ध्वनि परिवर्तन गरेर आतंकित पारेको भन्दै झण्डै ६ सय जनाले मौखिक गुनासो गरेपछि थप कडाइ गरिएको उनले जानकारी दिए । जनआस्थासँग उनले भने,‘यो हाम्रो नियमित काम हो । तर, स्वरुप परिवर्तन गरी मोटरसाइकल चलाएर आतंकित बनाएको गुनासो व्यापक आएपछि थप कडाइ गरेका छौं । काठमाडौं उपत्यकाका तीनै जिल्लामा कडाइका साथ अनुगमन भइरहेको छ ।’
स्वरुप फेरेर मोटरसाइकल चलाउनेमा टिनऐजर र मिडल ऐजका बढी भएको उनले बताए । प्रायःजसो बुलेट बाइकमा स्वरुप परिवर्तन गरेको भेटिएको एसपी सुवेदीको भनाइ छ । अगाडि थपे,‘त्यसरी सवारी चलाउने प्रायः टिन ऐज र मिडल ऐजका छन् । स्वरुप परिवर्तन गरिएकोमा बुलेट बाइक बढी भेटिन्छन् ।’
स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउँदा असुरक्षा र सवारी दुर्घटना बढ्ने उनको जिकिर छ ।
मोटरसाइकलमा २५ लाखसम्मको ‘साइलेन्सर’
कार्यालयले हिजो समातेको दुई सयमध्ये कतिपय मोटरसाइकलको ‘साइलेन्सर’ देखेर ट्राफिक प्रहरी नै आश्चर्यचकित परेका हुन् । सात लाखदेखि २५ लाख रुपैयाँसम्म पर्ने ‘साइलेन्सर’ को प्रयोग गरेको पाइएको एक ट्राफिक अधिकृत बताउँछन् ।
‘साइलेन्सर देखेर हामी नै दंग पर्यौं । सात लाखदेखि २५ लाख पर्ने साइलेन्सर हाल्दा रहेछन् । बाइकभन्दा त साइलेन्सर पो मँहगो पर्ने रहेछ’,ती अधिकृतले भने ।
के हुन्छ कारबाही ?
मोटरसाइकलको स्वरुप परिवर्तन गर्नेलाई यातायात ऐन, २०४९ बमोजिम कारबाही हुने एसपी सुवेदीले जानकारी दिए । उनका अनुसार मोटरसाइकल समातेर बग्गीखाना वा ट्राफिक प्रहरी कार्यालय लगिन्छ । त्यसपछि त्यसमा भएको ‘साइलेन्सर’ जफत गरिन्छ र पुरानै स्वरुपमा परिवर्तन गर्न लाइन्छ ।
युवायुवती र किशोरकिशोरीको अभिभावकलाई बोलाएर क्लास पनि दिइन्छ । ताकि भविष्यमा उनीहरुको छोराछोरीले पुनः त्यस्तो गल्ती नदोहोर्याऊन् ।
टिप्पणीहरू