ओलीलाई नेतृत्व छोड्न योगेश भट्टराईको दुई विकल्प (पूर्णपाठ)

ओलीलाई नेतृत्व छोड्न योगेश भट्टराईको दुई विकल्प (पूर्णपाठ)

नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छोड्न सुझाव दिएका छन् । 

जारी केन्द्रीय कमिटी बैठकमा लिखित धारणा राख्दै उनले देश र पार्टी गम्भीर संकटमा फसेको भन्दै विकल्पसहित ओलीलाई मार्ग प्रसस्त गर्न सुझाएका हुन् । ११औँ महाधिवेशनबाट ओलीलाई नेतृत्वमा तेहेर्याउने मनोवैज्ञानिक सन्देश पार्टीभित्र प्रवाह हुँदै आए पनि जेन जी प्रदर्शनपछिको परिस्थितिलाई गम्भीर रुपले समीक्षा गरेर उपरोक्त मनोविज्ञानमाथि पुर्नविचार गर्नुपर्ने योगेशको प्रस्ताव छ । 

‘आजको संकट र पार्टी पुर्नगठन’ विषयक १६ पृष्ठ लामो उनको प्रस्तावमा नेतृत्व पुनर्गठनका लागि दुई विकल्प प्रस्तुत गरिएको छ । 

एक, तत्कालै पार्टीका वरिष्ठतम नेतालाई कार्यवाहक जिम्मेवारी दिएर आगामी महाधिवेशनबाट सहमति वा प्रतिस्पर्धाको आधारमा नयाँ नेतृत्व निर्वाचित गर्ने । 

दोस्रो, अध्यक्ष कमरेडकै नेतृत्वमा महाधिवेशन गर्ने, अध्यक्ष कमरेडले उक्त महाधिवेशनमार्फत् नेतृत्व हस्तान्तरणको पूर्व घोषणा गर्ने र महाधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गर्ने ।

यी दुई विकल्पमध्ये कुन रोज्ने त्यो भने ओलीकै रोजाइमा भर पर्ने योगेशले बताएका छन् । प्रस्तावमा लेखिएको छ, ‘यस मध्ये कुन विकल्पमा जाने अध्यक्ष कमरेडको अन्तरआत्मालाई छाडिदिउँ ।’

विधान महाधिवेशनबाट हटाइएको दुई कार्यकालको प्रावधान पुनः लागू गर्न पनि योगेशले प्रस्ताव गरेका छन् । वर्तमान सन्दर्भमा उक्त प्रावधान फेरि सान्दर्भिक हुन आएको उनको ठम्याई छ ।   

‘स्वस्थ र मर्यादित अभ्यास स्थापित गर्न मुख्य कार्यकारी पदमा दुई कार्यकाल र ७० वर्षे उमेर हद तोकेका थियौँ, तर वर्तमान अध्यक्षलाई पुनः नेतृत्वमा पुर्याउँन हामीले उक्त प्रावधानलाई संशोधन गरेका थियौँ’, प्रस्तावमा लेखिएको छ, ‘तर वर्तमान परिवर्तित सन्दर्भलाई ध्यान दिँदै आगामी राष्ट्रिय महाधिवेशनबाट दुई कार्यकालको प्रावधानलाई पुनःस्थापित गरी नेतृत्वको सहज हस्तान्तरणको प्रक्रिया अबलम्बन गर्नुपर्छ ।’

सचिव योगेशले अहिले पार्टीभित्र बृहत एकता आवश्यक परेको उल्लेख गर्दै विगतलाई भुलेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्य खुलाउनुपर्नेमा पनि जोड दिएका छन् ।

टिप्पणीहरू