राष्ट्रिय सभामा लागु भएन कि नियम ?
भदौ २३ गतेको जेन जी प्रदर्शन र भदौ २४ गतेको विध्वंशमा भएको खर्बौं क्षतिको पुनःर्निमाण खर्च जुटाउन सरकारले ‘अनुत्पादक खर्च कटौती र मितव्यतिता’ सम्बन्धी व्यवस्था लागू गरेको छ । जसअनुसार सरकारका प्रतिनिधिहरुको वैदेशिक भ्रमणलाई कडाइ गरिएको छ ।
सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुख नै जाँदा प्रतिनिधिमण्डल बढीमा १० जनाको र सरकारी स्रोतबाट जाने अन्य टोली बढीमा ३ जनाको सहभागी हुन पाउने व्यवस्था छ ।
तर,सरकारी निर्णयको धज्जी उडाउँदै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहितको जम्बो टोली आज स्विट्जरल्याण्डको जेनेभा प्रस्थान गरेको छ । अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १५१ औं महासभामा सहभागी हुन ६ सदस्यीय टोली त्यसतर्फ गएको छ ।
टोलीमा सांसदद्वय गोपीबहादुर सार्की छामी र मदनकुमारी शाह (गरिमा) सहभागी छन् । त्यसैगरी,कर्मचारीतर्फ महासचिव पदमप्रसाद पाण्डेय,सचिव रोजनाथ पाण्डे र सहसचिव बबिता मिश्र छन् । संघीय संसद सचिवालयले विज्ञप्ति जारी गर्दै इमिरेट्स एअरलाइन्सको ‘इके २२६३’ उडान नम्बरको जहाजबाट उनीहरु बिहान ९ बजे स्विट्जरल्याण्ड प्रस्थान गरेको जानकारी दिएको छ ।
‘उहाँ पनि कमिटीमा हुनुहुन्थ्यो । के कारणले जानुभएन ? भन्नेचाँहि मलाई जानकारी भएन ।’
कात्तिक २ देखि ६ गतेसम्म हुने कार्यक्रममा ‘अपहोल्डिङ्ग ह्युम्यानिटियरन नर्म्स एण्ड सपोर्टिङ्ग ह्युम्यानिटेरियन एक्सन इन टाइम्स अफ क्राइसिस’ विषयमा छलफल हुने र विभिन्न मुलुकका संसद प्रमुखहरुसँग द्विपक्षीय भेटवार्ता हुने सचिवालयले जनाएको छ ।
रोचक प्रसंग के भने सचिवालयको विज्ञप्तिमा टोलीमा सामेल कर्मचारीहरुको नाम खुलाइएको छैन । उनीहरु आज बिहान विदेश प्रस्थान गरेका थिए । स्रोतका अनुसार उनीहरु ‘अर्थ मन्त्रालयको टिम’का हुन् ।
यसअघि एमाले सांसद डा.अन्जान शाक्य पनि जाने तय भएकोमा टोली ठूलो भएपछि उनको नाम हटाइएको स्रोतको भनाइ छ । ‘निर्णयविपरीत हुने भएपछि कर्मचारीहरु अर्थको अलग्गै टिम भनेर गएका हुन् । शाक्य पनि जाने भन्ने थियो, तर टोली ठूलो भएपछि उनलाई हटाइयो । कार्यक्रमसँग कुनै सरोकार नै नभएका कर्मचारी चाहिँ गएका छन्’,स्रोतले भन्यो ।
सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाका अनुसार जेनेभामा दुई वटा कार्यक्रम हुँदैछ । सांसद र कर्मचारीको कार्यक्रम छुट्टाछुट्टै भएको उनको जिकिर छ । भन्छन्,‘उहाँहरु अनिवार्य भएर जानुभएको हो । एउटा कार्यक्रम माननीय र अर्को कार्यक्रम कर्मचारीहरुको हो । उहाँहरुले यो कार्यक्रमका लागि पहिल्यैदेखि गृहकार्य गरिरहनुभएको थियो ।’
डा.शाक्य नगएको विषयमा आफूलाई जानकारी नभएको उनले बताए । अगाडि थपे,‘उहाँ पनि कमिटीमा हुनुहुन्थ्यो । के कारणले जानुभएन ? भन्नेचाँहि मलाई जानकारी भएन ।’ टोली कात्तिक ९ गते इमिरेट्स एअरलाइन्सको ‘इके २२५५’ को उडानबाट स्वदेश फर्किनेछ । तर रमाइलो कुरा नेपालमा इमिरेट्सको उडान नै छैन । काठमाडौंबाट युएईको दुबईसम्म फ्लाई दुबई, एअर अरेबिया र नेपाल एअरलाइन्सको मात्रै उडान हुने गरेको छ ।

टिप्पणीहरू