प्रहरी दिवस ७०औं कि ३०औं?
टेकसिंह धामी
नेपाल प्रहरीले हिजो मुलुकभरका कार्यालयमा ‘प्रहरी दिवस’ मनाएको छ । दिवसका अवसरमा प्रहरी सेवामा उत्कृष्ट योगदान पुर्याएका कर्मचारीहरूलाई सम्मानदेखि सेवामा छँदै दिवङ्गत प्रहरीका परिवारलाई सम्मानसमेत गरिएको छ। साथै, विशेष बढुवाजस्ता गतिविधिहरू पनि समेटिएका छन् ।
दिवसको औपचारिक कार्यक्रममा राजधानीमा आयोजित कार्यक्रममा गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले प्रहरीको आत्मबल, नागरिक सेवामा सुधार र संगठन सुदृढीकरणका विषयमा जोड दिए। सोही क्रममा आईजीपी खापुङले प्रहरी दिवसको सुरुवात र इतिहास पनि स्मरण गरेका हुन् ।
उनले सम्बोधनका क्रममा प्रहरी दिवस थालनी गर्ने ऐतिहासिक श्रेय तत्कालीन प्रहरी महानिरीक्षक मोतिलाल बोहरालाई जाने उल्लेख गरे। बोहरा ती हुन्, जो वि.सं. २००० सालमा सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा जन्मिएका थिए।
२०२४ सालमा उनी तत्कालीन प्रहरी महानिरीक्षक रोमबहादुर थापाको कार्यकालमा खुला प्रतियोगिताबाट प्रहरी नायव निरीक्षक (सई) पदमा छनौट भए । त्यसको एक वर्षपछि उनी पुनः प्रतियोगितामार्फत् प्रहरी निरीक्षक (इन्स्पेक्टर) मा नियुक्त भए। बढुवासँगै उनले २०४९ सालमा तत्कालीन आईजीपी रत्नशमशेर जबराको अवकाशपछि प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हाले र २०५३ माघमा सेवाबाट अवकाश लिए।
बोहराले गरेको त्यो सुरुवात...
प्रहरी दिवसकै दिन पूर्व आईजीपी बोहराले आफूले सुरुवात गरेको दिवसको इतिहास र त्यतिबेलाको परिस्थिति स्मरण गरेका छन् । “प्रहरी दिवसबारे सोच कसरी आयो?” भन्ने प्रश्नमा उनले भने —“त्यो बेला म १० दिनको औपचारिक भ्रमणमा अमेरिका गएको थिएँ। त्यहाँ लस एन्जलसको प्रहरी मुख्यालयमा पुगेँ र त्यहाँ प्रहरीको स्मारक बनेको देखें। त्यहीँबाट नेपालमा पनि वीरगति प्राप्त प्रहरीहरूको सम्झनामा स्मारक बनाउने र प्रहरी दिवस मनाउने सोच बनाएँ।”
नेपाल फर्किएपछि उनले कलाकार, मूर्तिकार र कालिगढहरूलाई बोलाएर स्मारक निर्माण सुरु गरे। उक्त स्मारक तत्कालीन राजा वीरेन्द्रले नै अनावरण गरेको उनले बताए। बोहराका अनुसार, स्मारक निर्माणका लागि गृहमन्त्रालयदेखि दरबारसम्म सबैलाई मनाउनुपरेको थियो।
“त्यो बेला दरबारमा सेनाकै चल्थ्यो,” उनी भन्छन्, “सैनिक सचिवालयले ‘प्रहरी दिवस’ मनाउने कुरा मन पराएको थिएन। उनीहरूले भने, ‘आर्मीको मात्र दिवस हुन्छ, प्रहरीको हुँदैन।’ त्यसपछि म आफैं राजालाई भेट्न गएँ र अनुमतिपछि दिवस सुरु भयो।”
बोहोराका अनुसार, २०५२ सालमा स्मारक निर्माण सम्पन्न भएपछि गृहमन्त्रालय, दरबार र प्रहरी मुख्यालयको सहमतिको निर्णयबाट ‘अमर प्रहरी’हरूको सम्झनामा प्रहरी दिवस मनाउन थालियो। प्रहरीको मनोबल र समर्पणको सम्मानका लागि यो परम्परा सुरु गरिएको हो।
प्रहरी दिवस ७०औं कि ३०औं?
यो वर्ष नेपाल प्रहरीले दिवसलाई ‘७०औं प्रहरी’ भनेको छ। तर, पूर्व आईजीपी बोहराका अनुसार यो ‘३०औं प्रहरी दिवस’ हुनुपथ्र्यो। उनका अनुसार आफूले सुरु गरेको दिवसलाई निरन्तरता दिँदै आएको भए अहिले ३०औं संस्करण हुनुपर्ने हो। तर, पछिल्ला वर्षहरूमा नेपाल प्रहरीले प्रहरी ऐन लागू भएको मितिदेखि गणना गर्ने प्रचलन बनाएको हुनसक्छ।
“म आफ्नो कार्यकालमा तीन पटक प्रहरी दिवस मनाएको सम्झना गर्छु,” बोहरा भन्छन्।
नेपाल प्रहरीको औपचारिक स्थापना वि.सं. २०१२ साल असोज ३१ गते भएको हो। अहिले प्रहरी ऐनमा तत्कालीन राजा महेन्द्रबाट लालमोहर लागेको दिनलाई संस्थाको ‘जन्मदिन’ मानेर दिवस मनाउने परम्परा स्थापित गरिएको छ।
स्थापनाकालमा सात हजार ५०० जनशक्ति र करिब ९७ लाख जनसंख्या भएको मुलुकको देशको सुरक्षा दायित्व सम्हाल्ने नेपाल प्रहरी अहिले झण्डै ८० हजार जनशक्तिसहित तीन करोड नागरिकको सुरक्षाको जिम्मेवारीमा खटिएको छ।
नेपाल प्रहरीको इतिहासमा ‘प्रहरी दिवस’ लाई एक औपचारिक परम्पराका रूपमा स्थापित गर्ने श्रेय पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहरालाई नै जान्छ। उनले आफ्नो नेतृत्वकालमा प्रहरी संगठनको योगदान र आत्म–मूल्याङ्कनको अवसरका रूपमा दिवसको परम्परा सुरु गरेका थिए। आज त्यही दिवस नेपाल प्रहरीको गौरवपूर्ण परम्परा बनिसकेको छ — जसले हरेक वर्ष प्रहरी सेवामा समर्पित वीरता, इमानदारी र त्यागलाई उजागर गर्छ।
टिप्पणीहरू