भरिभराउ यात्रुसहितको काठमाडौं–ग्वाञ्जाओ उडान
नेपाल वायुसेवा निगमले शुरु गरेको नयाँ अन्तर्राष्ट्रिय गन्तव्यले सफल व्यावसायिक उडानको संकेत गरेको छ । काठमाडौंबाट चीनको ग्वाञ्जाओ र उताबाट काठमाडौं सेक्टरमा देखिएको यात्रुहरूको उत्साहजनक सहभागिताले त्यस्तो अवस्था देखाएको बताइन्छ ।
निगमले नियमित उडान तालिका अनुसार १६ अक्टोबर २०२५ मा सञ्चालन गरेको काठमाडौं–ग्वाञ्जाओ उडान नम्बर आरए–४१७ ग्वाञ्जाओको स्थानीय समय अनुसार हिजो बिहान ५ बजे १३८ यात्रुसहित सफलतापूर्वक अवतरण गरेको थियो ।
सो उडानमा २७ जनाा नेपाली, २९ चिनियाँ, ६१ भारतीय र अन्य २२ देशका ११ जना विदेशी नागरिकसहित कुल १३८ यात्रु थिए । तीमध्ये छ जना बिजनेस क्लासका र १३२ जना इकोनोमी क्लासका यात्रु रहेको बताइन्छ ।
हिजो ग्वाञ्जाओबाट काठमाडौं भएको उडान नम्बर आरए–४१८ मा ७८ यात्रुसहित विमान सुरक्षित रुपमा अवतरण गरेको निगमले जनाएको छ।
आगामी २३ अक्टोबरको काठमाडौं–ग्वाञ्जाओ उडानका लागि सम्पूर्ण सिट बुकिङ भइसकेको छ भने २४ अक्टोबरको ग्वाञ्जाओ–काठमाडौं उडान पनि पूर्ण यात्रुसहित हुने विश्वास लिइएको छ ।
नयाँ सेक्टरको बजार प्रवद्र्धनका लागि निगमले ट्राभल एजेन्सी, सञ्चार माध्यम र सरोकारवाला निकायहरूसँग सहकार्यका प्रयास तीव्र पारेको छ। निगमले व्यावसायिक उडानलाई सफल बनाउन सबैको निरन्तर सहयोग र समर्थनको अपेक्षा गरेको जनाएको छ।
काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं गन्तव्य, साउदी अरेबियाको दमामपछि हालको व्यवस्थापनको नेतृत्वमा थालिएको नयाँ अन्तर्राष्ट्रिय गन्तव्य हो ।
टिप्पणीहरू