यात्रा विदेशको,जात्रा स्वदेशको

यात्रा विदेशको,जात्रा स्वदेशको

भ्रष्टाचार र अख्तियार दुरुपयोगविरुद्ध गठित भनिएको जेन्जी सरकारको आडमै अख्तियार दुरुपयोग गरिएको तथ्य बाहिरिएको छ । वन मन्त्रालयका कर्मचारीको लागि “दशैं” जस्तै बन्ने गरेको विश्व जलवायु सम्मेलन (कोप) मा यस पटक कार्यालय सहायकसम्मलाई पनि “विषय विज्ञ” बनाएर सहभागी गराइएको आरोप छ।

सरकारले नौ सदस्यीय प्रतिनिधिमण्डल सहभागी हुने घोषणा गरे पनि वन,अर्थ र कृषि मन्त्रालयका २५ भन्दा बढी कर्मचारी सहभागी भएको कृषि मन्त्रालय स्रोतले जनाएको छ। तीमध्ये १३ जना कर्मचारीलाई नौ वटा विषयमा नेपाल सरकारको तर्फबाट नेगोसियसन बैठकमा नेतृत्व लिन दैनिक भत्तासहित सम्पूर्ण खर्चको व्यवस्था गरिएको छ। बाँकीलाई “सहयोगी” भन्दै दातृ निकायबाट खर्च जुटाइएको छ ।

मन्त्रीसहित नौ जना मात्रै सहभागी हुने भनिए पनि वन तथा वातावरण मन्त्रालयका जलवायु महाशाखा प्रमुखले नजिकका कर्मचारीलाई विदेश भ्रमण गराउन विभिन्न बहानामा दातृ निकायहरूलाई पत्राचार गरेर खर्चको जोहो गरेको स्रोतको भनाइ छ।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा जलवायु महाशाखाको नेतृत्व हात पारेका महेश्वर ढकालले अहिले आफ्नै मनोमानी निर्णय गर्दै सम्पूर्ण दोष सरकारमाथि थोपर्ने गरेको मन्त्रालयका कर्मचारीहरूको गुनासो छ । विषय विज्ञ र विभागीय प्रमुखलाई छोडेर जलवायु परिवर्तनको सामान्य ज्ञानसम्म नभएकालाई पनि विभिन्न विषयको नेतृत्व दिने अधिकार दिँदै ढकालले बेलायत सरकारको समर्थनमा रहेको एक गैरसरकारी संस्थाबाट खर्चको जोहो गरेको बुझिएको छ।

कुनैपनि विषयमा विज्ञ नभए पनि कोप २८ देखि निरन्तर सहभागी हुँदै आएका पशुपंक्षी सचिव दिपक खराल यसपटक पनि ब्राजिल पुगेका छन्। मन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डल सार्वजनिक गरिए पनि उच्चस्तरीय बैठक सकिएपछि मात्रै मन्त्री ब्राजिल पुगेका थिए। अब उनी अमेजोनको जंगल अवलोकन गरेर फर्किने तयारीमा रहेको सहसचिवहरु बताउँछन् । ढकालमाथि नजिकका कर्मचारीलाई टिम बाहिरबाट समेत दातृ निकाय सहयोग जुटाएर विदेश भ्रमण गराएको आरोप छ।

कोप २८ देखि मन्त्रालयका कार्यक्रमहरूमा दृश्य छायाङ्कन गर्दै आएका आफ्ना विश्वासपात्र प्रकाश लामालाई यसपटक “जलवायु न्यूनीकरण विज्ञ” बनाएर ब्राजिल पठाइएको छ । जलवायु न्यूनीकरणका वास्तविक विज्ञ नवराज ढकाललाई छाडेर रेड कार्यान्वयन केन्द्रका उपसचिव प्रकाश थापालाई सरकारी नेगोसियटरको जिम्मेवारी दिइएको छ। त्यस्तै अक्सफोर्ड पोलिसी म्यानेजमेन्ट (ओपीएम) का सामान्य कर्मचारी अपार पौडेललाई पनि विज्ञ बनाएर सरकारी टिममा ब्राजिल पठाइएको छ।

सञ्चार सम्बन्धी कुनै ज्ञान नभएका पौडेललाई यसअघि ‘सगरमाथा संवाद’ कार्यक्रममा सञ्चार विज्ञ बनाइएको थियो । पौडेललाई सञ्चार विज्ञ बनाएपछि मूलधारका केही सञ्चारगृहले कार्यक्रम बहिष्कार गरेका थिए भने जलवायु विषयमा लेख्दै आएका पत्रकारलाई प्रवेश पास नै दिइएको थिएन। 

यसअघि धेरै पटक सहभागी भएका डा. विमल रेग्मी यसपटक पनि सरकारी प्रतिनिधि बन्न सफल भएका छन् । सरकारले प्रतिनिधिमण्डल तोके पनि आधिकारिक नेगोसियटर टिम बनाइएको छैन । गैर–सरकारी व्यक्तिलाई ‘नेगोसियटर’, “विज्ञ” र “सहयोगी” भन्दै करिब २० जना एनजिओ–आईएनजिओका कर्मचारीलाई नेगोसियटरको आधिकारिकता दिइएको भनिएको छ ।

कोपमा सामान्यतया आईपियुले सांसदहरूसँग संयुक्त कार्यक्रम आयोजना गर्ने गर्दछ। तर यसपटक ढकालले “सांसद र सञ्चारकर्मी लैजाँदा आफ्ना कमजोरी बाहिर आउँछन्” भन्दै उनीहरूको दर्ता रोकेका छन्। सहयोग गर्न इच्छुक संस्थाहरूमाथि समेत दबाब दिएको संसद सचिवालयका एक कर्मचारीले बताए ।

टोलीमा सहभागी मञ्जित ढकाल, राजु पण्डित क्षेत्री र प्रद्युम्न राणा मात्र जलवायु परिवर्तनका वास्तविक विषय विज्ञ हुन् । बाँकी सबै ढकालले मनोमानी ढंगले विज्ञ बनाएर पठाएको जलवायु महाशाखाका एक कर्मचारीले बताएका छन्।

जलवायु परिवर्तनमा लामो अनुभव भएका बुद्धि पौडेल र धर्मराज उप्रेतीलगायतका विज्ञ टिम बाहिर परेका छन् । जलवायु अनुकूलनमा दीर्घ अनुभव भएका संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) का दीपक केसीलाई छाडेर ओपीएमका विमल रेग्मीलाई समावेश गरिएको छ—जसमा अनुकूलनको कुनै अनुभव छैन।

यूएनडीपीले अनुकूलन कार्यका लागि जिसिएफबाट पाएको परियोजनाको नेतृत्व केसीले गर्दै आएका छन्। तर विषय विज्ञको सहभागितामा गुणस्तरीय कामभन्दा व्यक्तिगत सम्बन्धका आधारमा छनोट हुन थालेपछि कोपमा नेपाल सरकारको प्रमुख सहयोगी बन्दै आएको यूएनडीपीले यसपटक हात झिकेको मन्त्रालय स्रोतको भनाइ छ।

सरकारी टिम भन्दै सार्वजनिक गरिएको नामबाहेक कृषि मन्त्रालयका सहसचिव हरि बहादुर केसी, रेड कार्यान्वयन केन्द्रका उपसचिव प्रकाश थापा, अर्थ मन्त्रालयका उपसचिव ओम प्रकाश भट्टराई, शाखा अधिकृत बामदेव पन्थी, जलवायु महाशाखाका अधिकृत युवराज पोखरेललगायतलाई विभिन्न भूमिकामा समावेश गरिएको छ ।

त्यस्तै एनजिओ–आईएनजिओमा कार्यरत श्रेया केसी, कृति श्रेष्ठ, शुभेक्षा शर्मा, प्रकाश लामा, सनोत अधिकारी, लक्ष्मण खत्री, पल्लव रेग्मी, अपार पौडेल, रेसा श्रेष्ठ, रेनुका काउछा, अञ्जु पोखरेल, सन्दीप राई, राजन थापा, अमित थापा मगर, अभिषेक यादव, बिमल रेग्मी, स्नेहा पाण्डे, मञ्जित ढकाल र राजु पण्डित क्षेत्रीलगायत करिब २५ जनालाई नेगोसियटर टिममा समावेश गरेको ब्राजिल पुगेका मन्त्रालयका एक कर्मचारीले बताए ।

यसपटक सञ्चारकर्मी, नागरिक समाज र सांसदहरूको सहभागिता भने शून्य छ। यसो हुनुमा पनि ढकालमाथि नै आरोप लगाइएको छ ।

टिप्पणीहरू