कुलमानलाई बर्खास्त गर्न जेनजीको माग

कुलमानलाई बर्खास्त गर्न जेनजीको माग

‘जेनजी मुभमेन्ट नेपाल’ ले उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । 

नेपाललाई करोडौँ नोक्सान हुनेगरी कुलमानले भारतसँग विद्युत व्यापार सम्झौता गरेको दाबी गर्दै बर्खास्तीको माग गरिएको हो । देशलाई ४३ करोडभन्दा बढी नोक्सान हुनेगरी उर्जामन्त्रीले भारतको पिटिसी इन्डिया लिमिटेडसँग अपरादर्शी सम्झौता गरेको भन्दै मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण गराएको छ ।  

जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय साहले विज्ञप्ति सार्वजनिक गर्दै कुलमानलाई मन्त्री पदबाट बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गर्नुपर्ने माग राखेका छन् । त्यस्तै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाललाई पनि निलम्बनमा राखेर सम्पत्ति शुद्धीकरणको कसूरमा अनुसन्धान हुनुपर्ने जनाइएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘यो सम्झौता मन्त्री घिसिङ र कार्यकारी निर्देशक सिलवालको मिलेमतोमा विद्युत नियमन आयोगको स्वीकृतबिना गरिएको तथ्य प्रस्ट भइसकेको छ, यो कार्य सिधा सिधा भ्रष्टाचार र राष्ट्रिय स्वार्थको बिक्री हो ।’

साथै, सम्झौता प्रक्रियामा संलग्न अन्य कर्मचारीमाथि पनि अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गर्दै अन्यथा सडक संघर्षमा उत्रिने चेतावनी दिइएको छ ।


 

टिप्पणीहरू