निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ भाग लिन चाहने दलहरूसँग निवेदन मागेको छ ।
आयोगले आज सूचना जारी गर्दै मङ्सिर २१ गते बिहान १० बजेदेखि २३ गते अपराह्न ४ बजेसम्मको समय तोकेर निवेदन आह्वान गरेको हो । प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचित निर्देशिका, २०८२ को अनुसूची २ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।
त्यस्तै, निवेदनमा सम्बन्धित दलको केन्द्रीय समितिमार्फत अधिकार प्राप्त पदाधिकारीको हस्ताक्षर, एकल चुनाव चिह्न लिई संयुक्तरुपमा चुनावमा सहभागी हुनेगरी आयोगमा दर्ता भएका दलको तर्फबाट निवेदन दिँदा त्यस्ता दलको केन्द्रीय समितिले संयुक्त वा अलगअलग निर्णय गरी एउटै व्यक्तिलाई अधिकार दिएकोमा त्यस्ता व्यक्तिले पनि हस्ताक्षर गर्नुपर्नेछ ।
आयोगले उम्मेदवारको बन्द सूची पेश नगर्ने राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फ दल दर्ता गर्न आवश्यक नरहेको पनि बताएको छ ।