सबै श्रेणीहरू

बलात्कारपछि बालिका हत्या गरेर भारत पुगेका थिए अधिकारी

बलात्कारपछि बालिका हत्या गरेर भारत पुगेका थिए अधिकारी

मोरङको लेटाङकी १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरीले अंशु गौतमको हत्या आरोपमा छिमेकी ५९ वर्षीय वृद्ध पदमबहादुर अधिकारीलाई समातेको हो । आफ्नी नातिनी समानकी अंशुलाई उनले चार किलोमिटर टाढाको जंगलमा लगेर बलात्कार गरेका थिए ।

हत्यापछि अधिकारी भारत फरार भएका थिए । दुई महिनाको खोजतलासपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । बलात्कार गरेर फालेको अवस्थामा अंशुको शव फेला परेपछि सिआईबी, कोशी प्रदेश अनुसन्धान ब्यूरो र मोरङ प्रहरीको विशेष टोली अनुसन्धानका लागि परिचालन भएको थियो । 

अंशु हराएको केही दिनपछि काम गर्न भन्दै आसाम पुगेका अधिकारीमाथि शंकाको सुईँ सोझिएको थियो । स्थानीय जनप्रतिनिधि र घरपरिवारको सहयोगमा घर फर्काइएको उनलाई प्रहरीले त्यतिबेलै पक्राउ गरेको हो । उनले अंशुको हत्या गरेको स्वीकार गरिसकेको मोरङका एसपी कवित कटुवालले बताए । 

प्रहरीले आज उनलाई सार्वजनिक गरेको छ । उनीमाथि जबरजस्ती करणी र कर्तव्य ज्यान कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लेटाङ नगरपालिका–२, बुधबारेकी अंशु गत असोज २१ गते अपरान्ह साथीसँग खेल्न निस्किएकी थिइन् । 

त्यसपछि बेपत्ता भएकी उनको शव कात्तिक ७ गते घरदेखि चार किमी उत्तरको घना जंगलभित्र सुटकेसमा फेला परेको थियो । उनको परिवारले दोषी नभेटिएसम्म शव नबुझ्ने अडान लिएका थिए भने स्थानीयले पनि हत्यारा पक्राउका लागि प्रहरीलाई दबाब दिँदै आएका थिए ।