सबै श्रेणीहरू

युवाको उपस्थिति कम भएकोमा प्रचण्डको असन्तुष्टि

युवाको उपस्थिति कम भएकोमा प्रचण्डको असन्तुष्टि

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सबै वामपन्थी शक्तिलाई एकैठाउँमा ल्याएर राजनीतिबाट विश्राम लिने बताएका छन् । 

अखिल (क्रान्तिकारी)ले आज राष्ट्रिय सभा गृहमा आयोजना गरेको जेनजी महोत्सवलाई सम्बोधन गर्दै उनले वामपन्थीहरूलाई एकीकृत गर्नकै लागि नेकपा बनाएको पनि दावी गरे । मुलुकमा अझै संकट कायमै रहेको र त्यसलाई परास्त गर्न राजनीतिक दल र जनता एकताबद्ध हुनुपर्ने  प्रचण्डको भनाइ छ ।

‘हामीहरु अहिले नै एटोमिक मिसाइल बनाएर विदेशी हस्तक्षेप रोक्न सक्ने स्थितिमा पुगेका छैनौँ’, उनले भने, ‘तर तीन करोड नेपाली एउटै ढिक्का भएर लड्नसक्ने तागत हामीसँग छ ।’

पूर्वप्रधानमन्त्री तथा संयोजक प्रचण्डले सम्बोधनका क्रममा आयोजकप्रति केही असन्तुष्टि पनि पोखेका थिए । कार्यक्रममा युवाहरूको उल्लेख्य उपस्थिति नभएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । 

‘तपाईंहरूले जेनजी महोत्सव आयोजना गर्नुभयो । यो राम्रो कुरा हो । तर यहाँ जुन रुपमा उपस्थित हुनुपर्थ्यो, त्यस्तो नहुँदा अलि नमज्जा लागेको छ’, प्रचण्डले भने । 

आउने दिनमा तयारी गरेरमात्र कार्यक्रम आयोजना गर्न पनि उनले निर्देशन दिए । भने, ‘हल खचाखच गर्न तपाईंलाई केही गाह्रो थिएन, आउने दिनमा तयारी गरेर मात्र आयोजना गर्दा राम्रो हुन्छ, बरु दुई दिन ढिला भएर केही बिग्रिदैँन ।’