बृद्धलाई मर् न त भन्ने वडाध्यक्षले माफी मागे

बृद्धलाई मर् न त भन्ने वडाध्यक्षले माफी मागे

काम खोज्न गएका बृद्धलाई मर्न जा भन्दै अपमानजनक व्यवहार गर्ने वडाध्यक्षले एक दिन नबित्दै माफी मागेका छन् ।

ती वडाध्यक्ष उदयपुरको हतुवागढी गाउँपालिका वडा नम्बर ४ का चन्द्र बिष्ट हुन् । उनले काम खोज्दै आएका ७० वर्षीय बृद्ध भक्तबहादुर राईसँग दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि सार्वजनिक सूचना जारी गरेर माफी मागेका हुन् ।माफीनामामा बिष्टले आवेगमा आएर मैले पनि केही अशोभनीय शब्द प्रयोग हुन गएकोमा गम्भीर आत्मालोचना गर्दैं निज श्री भक्तबहादुर राईलगायत सपरिवारसँग सामाजिक रुपमा भेटेर माफी माग्ने प्रण गरेका छन् ।

वडाध्यक्ष बिष्ट र बृद्ध राईवीच भएको संवादका अंश

‘उभिन सक्नु छैन,थरथर कामेको छ,काम माग्न लाज लाग्दैन ?’ –वडाध्यक्ष
‘गर्छु भने त’ –बृद्ध
‘गर्छु भनेर मात्र हुन्छ ? मुखले भनेर हुन्छ ?’– वडाध्यक्ष
‘हातले देखायो भने कसो हुन्छ ?’ –बृद्ध
के देखाउनु एउटा लौरो टेकेर अडिन सकेको छैन,के देखाउनु ? काम गर्ने तागत पनि हुनु पर्यो नि’ –वडाध्यक्ष
तागत छ नि’ –बृद्ध
‘खुरुक्क घर जाने’ –वडाध्यक्ष
‘जान्न म’ –बृद्ध
‘यीँ बसेर मर् न त !’– वडाध्यक्ष
बिष्टले बृद्ध राईलाई दपेटेको यो संवाद भएको भिडियो भाइरल भएपछि काम माग्न लाज लाग्दैन भनेर बृद्ध राईलाई प्रतिप्रश्न गर्ने वडाध्यक्ष बिष्टले चोर्न,ढाँट्न,छल्न,घुस खान चैं गर्व मान्न पर्ने हो ? के उनी कहिल्यै बूढो हुँदैनन् ? भन्ने प्रश्न उठेका थिए । आदरणीय उमेरका मानिसमाथि असभ्य र दुर्व्यवहार गर्ने बिष्ट एमालेका तर्फबाट जनप्रतिनिधि चुनिएका हुन् ।

टिप्पणीहरू