पञ्चेबाजाको तालमा धादिङमा रोपाईं जात्रा (फोटोफिचर)

-शंकर श्रेष्ठ
आज असार १५ अर्थात् १८ औं राष्ट्रिय धान दिवस । आजलाई ‘मानो रोपेर,मुरी फलाउने’ दिनको रुपमा लिइन्छ ।

धादिङको गजुरीमा पन्चेबाजासहित रोपाईं जात्रा मनाइएको छ । गजुरी गाउँपालिकाको सहयोगमा सुनदेवी कृषि सहकारी सँस्थाले रोपाईं महोत्सव आयोजना गरेको हो । जात्रामा गाउँपालिका उपाध्यक्ष सीता ढुंगानासहित सरोकारवाला निकायका व्यक्तिहरु सहभागी थिए ।

असार १५ लाई नेपाली समाजमा दहीच्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । असार महिना किसान वर्षभरका लागि छाक जुटाउन खेतीमा व्यस्त हुन्छन् । नेपालमा २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
धादिङमा करिव १३ हजार ६ सय हेक्टरमा धान खेती हुँदै आएको छ । वार्षिक ५० हजार ३ मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

धादिङका किसान पछिल्लो समय बढी उत्पादन हुने हाइब्रिड जातको धानप्रति आकर्षित भएका छन् । व्यवसायिक र आधुनिक खेतीतर्फ आकर्षण बढ्दै जाँदा धान उत्पादनमा भने कमी आएको छ ।

जिल्लामा कूल ४८ हजार एक सय ३६ हेक्टर खेतीयोग्य जमिन रहेकामा ३५ हजार एक सय ५० हेक्टरमा खेती गरिँदै आएको कृषि ज्ञानकेन्द्रले जानकारी दिएको छ ।

जिल्लालाई धानखेतीमा आत्मनिर्भर बनाउन अभियान पनि सञ्चालन गरिएको छ । किसानले लगाएको बालीलाई उत्पादनको आधारमा क्षतिपूर्ति दिने व्यवस्था गरिएको छ । धादिङमा उत्पादित धान छिमेकी जिल्ला काठमाडौं,रसुवा, नुवाकोटमा बढी निर्यात हुने गरेको छ ।

टिप्पणीहरू