आगामी निर्वाचन र अमेरिका बस्ने नेपालीका अपेक्षा

आगामी निर्वाचन र अमेरिका बस्ने नेपालीका अपेक्षा

– लेखनाथ भण्डारी

निर्वाचन प्रजातान्त्रिक अभ्यासको मेरुदण्ड र जनमतको सर्वोत्तम अभिव्यक्ति हो । मंसिर ४ को निर्वाचनमा १८ वर्ष उमेर पुगेका १ करोड ८९ लाख ८८ हजार ५ सय ७० नेपाली सहभागी हुन सक्छन् । तर, यसको एक चौथाई मतदाता नेपालबाहिर छन्, जो मतदानमा प्रत्यक्ष सहभागी हुन सक्दैनन् र मतदानका लागि अन्य वैकल्पिक व्यवस्था पनि छैन । देशभित्र रहेको एक तिहाइ मतदाता पनि आफ्नो अधिकार प्रयोगमा सहभागी नहुने गरेको यसभन्दा पहिलेका निर्वाचनमा देखिएको छ । यस निर्वाचनमा मताधिकार प्राप्त आधा मात्र नागरिक अधिकार प्रयोगको अभ्यासमा सहभागी हुने देखिन्छ ।

नेपालबाहिर रहेका मताधिकारप्राप्त अधिकांश नेपाली रोजगारीका लागि विभिन्न देशमा छरिएका छन् । त्यसरी छरिएकाहरूमध्ये अमेरिकामा भने पुग नपुग ३ लाख रहेको अनुमान गरिन्छ । तर, अमेरिकामा रहेका नेपालीहरूको सानो संख्या मात्र नेपालको मतदाता संख्यामा पँुजीकृत भएको हुन सक्छ । अमेरिका बस्ने नेपालीमा अध्ययनका लागि आएका विद्यार्थी र पारिवारिक भेटघाटलगायत भ्रमणमा रहेकाहरू बाहेकको ठूलो संख्या स्थायी बसोबासको प्रक्रियामा जोडिसकेका वा जोडिने प्रक्रियामा हुन सक्छन् । यद्यपि, यहाँका नेपालीहरूमा विगतको आ–आफ्नो राजनीतिक संलग्नता वा मातृभूमिप्रतिको भावनात्मक सम्बन्धका कारण नेपाली राजनीतिप्रतिको चासो देखिन्छ ।

अमेरिकामा रहेका नेपालीको साझा भनिएको र विभिन्न गुटमा विभाजित(हाल तीनजना अध्यक्ष रहेको) गैरआवासीय नेपाली संघ÷एनआरएन र नेपालका सबैजसो राजनीतिक दलका भ्रातृ संगठनमा पनि सक्रिय छन् । त्यसैले पनि आसन्न निर्वाचनमा अमेरिकी नेपाली समुदाय र यसका अगुवाहरूको चासो स्वाभाविक छ ।

अमेरिकाबासी नेपालीहरूका चाहना स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा नेपालीहरूले आ–आफ्ना सैद्धान्तिक विचारका आधारमा मतदान गर्न पाउनुपर्ने र नेपालमा राजनीतिक स्थिरताका साथै जनमतप्राप्त स्थायी सरकार निर्माण हो । तर, उनीहरूको चिन्ता पनि छ, राजनीतिक पार्टीहरूको गैरसैद्धान्तिक तालमेल÷गठबन्धनले मतदाताहरूको सैद्धान्तिक मताधिकारलाई कुण्ठित गरेको छ । नेपालमा फेरि पनि जननिर्वाचित स्थायी सरकार हुन नसक्ने, राजनीतिक स्थायित्व नहुने र विकासले प्राथमिकता नपाउने संकेत देखिन थालेकोमा उनीहरू चिन्तित छन् ।

नेपालमा लामो समय पत्रकारिता गरेका तरुण पौडेल आसन्न निर्वाचनमा राजनीतिक दल र तिनका नेताहरूले अपनाएको गैरराजनीतिक र गैरसैद्धान्तिक चरित्रप्रति सन्तुष्ट छैनन् । यस निर्वाचनमा गठबन्धन, लठबन्धन र ठगबन्धनजस्ता चरित्र राजनीतिक पार्टीले देखाएका छन् । निर्वाचनका दिनसम्म पुग्दा राजनीतिक पार्टीको यस चरित्रलाई मतदाताले फरक अभिव्यक्ति दिन पनि सक्ने उनको अनुमान छ । राजनीतिक पार्टीले सिद्धान्तहीन चरित्र देखाएकाले युवा पुस्ताले पार्टी होइन, व्यक्ति छान्न थालेका छन् । यो निर्वाचन नीति, कार्यक्रम, सिद्धान्तका आधारको प्रतिस्पर्धा नभएर प्राविधिक हुने र अन्तरपार्टी द्वन्द्वले पनि त्यही संकेत गर्ने अनुमान पौडेलको छ ।

अमेरिकामा नेपाली पत्रकारिताको सक्रिय अभ्यास गर्दै आएका पत्रकार रामचन्द्र भट्ट नेपालको राजनीतिमा चार चार पुस्तादेखि एकाध व्यक्तिले स्थानीय निकायदेखि राष्ट्रिय राजनीतिसम्म एकाधिकार जमाएको बताउँछन् । नेकपा एमालेले गत संसदीय निर्वाचनमा प्राप्त गरेको जनमतलाई जोगाउन र राजनीतिक स्थायित्व दिन नसकेको मात्र होइन, भुइँमा छरिएको अर्काको भाग खोस्न खोज्दा आफ्नै पोल्टाको पनि पोखेको उनको ठहर छ । पत्रकार भट्ट आसन्न निर्वाचनका लागि राजनीतिक पार्टीले साधन स्रोत, आवश्यकता, कार्यान्वयन वा सम्भावना केहीको ख्याल नगरी झुटका पुलिन्दा तयार गरेको दृष्टान्तले धेरै आशावादी हुन नसके पनि नेपालको राजनीतिक, आर्थिक, सामाजिक, नागरिक चेतना र विकास नियमित आकस्मिकताको सिद्धान्तमा अगाडि बढ्ने विश्वास गर्छन् ।

पारिवारिक भेटघाटका क्रममा अमेरिकमा रहेका पूर्वराजदूत तथा प्राध्यापक नोवलकिशोर राई आसन्न निर्वाचनमा कुनै राजनीतिक पार्टीको बहुमत आउने, स्थायी सरकार बन्ने र राजनीतिक स्थिरता कायम हुन नदिन राजनीतिक पार्टी नै लागेको बताउँछन् । उनका अनुसार संविधानतः पहिलो पटक सरकार बनेपछि २ वर्षसम्म काम गर्न पाउने व्यवस्था भए पनि सरकार निर्माणकै क्रमदेखि राजनीतिक पार्टीले सडकमा धुलो उडाउन थाल्ने र राजनीतिक अस्थिरता बढ्नेछ ।

अमेरिकी नेपाली समुदायमा ३ दशकभन्दा लामो समयदेखि सक्रिय डा. श्याम कार्की यस पटक राजनीतिक पार्टीहरूले सिध्दान्तभन्दा पदको भागबण्डालाई प्राथमिकता दिएको र अवसरवादी चरित्र देखाएकोमा चिन्ता व्यक्त गर्छन् । उनका अनुसार युवाहरूको सहभागिता पनि संगठित वा हस्तक्षेपकारी हुन सकेन । पार्टीहरूले साधन, स्रोतको सीमा र कार्यान्वयन यकिन गरेर साझा कार्यक्रम ल्याउन सकेनन् । नेपालको राजनीति असफल प्रमाणित भइसकेका सरदारहरूको कब्जामा जाँदै गरेकाले तत्काल उत्साहित हुन सकिने अवस्था छैन ।

अमेरिकाको सुदूर उत्तर–पश्चिम वासिंग्टन राज्यको सियाटल नेपाली समाजमा सक्रिय छन् मानवाधिकार आन्दोलनमा लामो समय कार्यरत दशरथ बुढाथोकी । उनी आगामी निर्वाचन परिणाम अनपेक्षित हुने तर सकारात्मक परिणाम दिन नसक्ने अनुमान गर्छन् । कुनै पनि एजेन्डामा एकरूपता नभएकाहरू चुनाव जित्नैका लागि मात्र तालमेल गरेर निर्वाचनमा गएका छन् । समानुपातिकको दुरूपयोग भएको र निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने उनको मत छ ।

पारिवारिक भेटघाट निम्ति अमेरिकामा रहेका सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्र भण्डारीका अनुसार राजनीतिक सिन्डिकेट यो निर्वाचनले तोड्न सक्दैन । निर्वाचन आयोगले निर्भिकतासाथ आचारसंहिता पालना गराउन नसकेको, नेताहरूले झुट पत्र बाँडेर जनतालाई अलमल्याएको, स्वतन्त्र नागरिकको उपस्थिति कमजोर र राजनीति स्वार्थ समूहको नियन्त्रणमा रहेको भण्डारीको मत छ । नेपालको लागि देशमा कृषि उत्पादन, रोजगारी र जलस्रोत सदुपयोग गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्छ तर पार्टीहरूका प्राथमिकतामा यी विषय परेनन् ।

एनआरएन अमेरिकाको अध्यक्ष तथा इञ्जिनियर सूर्य लम्साल अन्य सामाजिक संस्थामा पनि सक्रिय छन् । भन्छन्– ‘सर्वप्रथम स्वतन्त्र र भयरहित वातावरणमा मतदाताले गर्न पाउनुपर्छ । आवधिक निर्वाचनमा व्यवस्था÷प्रणाली र राष्ट्रियताको मुद्दालाई प्राथमिकतामा राख्नु हुन्न । प्रजातान्त्रिक अभ्यास र नागरिक अधिकारका लागि राजनीतिक पार्टीहरू नै आवश्यक हुन्छ । विभिन्न कारणले देशबाहिर रहेका अनुमानित ८० लाख जनसंख्याको मताधिकार सुनिश्चितता गर्न सके मात्र नेपालको आजको राजनीतिक दृश्यलाई बदल्न सकिन्छ ।’ लम्साल आसन्न निर्वाचनपछिको सरकारले गैरआवासीय नेपालीको नागरिकतालगायत समस्यालाई प्राथमिकता दिने आशामा छन् ।

ग्रेटर वासिंग्टन मेट्रो क्षेत्रमा बस्दै आएका साहित्यकार कृष्ण धरावासी अहिलेको राजनीतिक नेतृत्वले ३०–३५ वर्ष यताको अभ्यास र अनुभवलाई समेटेर अगाडि बढ्नुपर्नेमा त्यति नै पछाडि धकेल्दै गरेको अर्थात् नेपालको अहिलेको राजनीतिक चरित्र ०४८–५० कै अवस्थामा पुगेको देखिरहेका छन् । राजनीतिको यो पश्चगामी लीलाको कारण के हुन सक्छ ? राजनीतिक पार्टीको वैचारिक, सैद्धान्तिक प्रतिबद्धता खल्बलिएको छ । उनीहरूले जनतालाई जित–हार जे भए पनि आस्था र नीतिका आधारमा मत हाल्ने अवसर दिनुपथ्र्याे । राजनीतिक पार्टीले कार्यकर्तालाई नीति, सिद्धान्तप्रतिको प्रतिबद्धताबाट बिचलित गराएका छन् । भोलि कुनै राजनीतिक शक्तिले आँधी ल्याए, तिनका कार्यकर्ताको सैद्धान्तिक प्रतिबद्धता सजिलै भड्किनेछ । राजनीतिक पार्टीका आजका गतिविधिले जुन मूल्य र मान्यताका लागि यो प्रणाली स्थापना गरिएको हो त्यसविरुद्ध जाननसकिने सन्देश दिनुका अतिरिक्त कार्यकर्ताको राजनीतिक भविष्य बर्वाद गर्दै छ ।

अमेरिकाको मेरिल्याण्ड राज्य जनरल एसेम्बलीका बिधायक तथा डेमोक्र्याटिक पार्टीका केन्द्रीय सदस्य ह्यारी भण्डारी नेपालमा प्रजातान्त्रिक अभ्यास शुरू भएको दशक मात्र भएकाले धेरै सकारात्मक र आशावादी हुनुपर्ने बताउँछन् । भण्डारी सन् १६३५ बाट शुरू भएको अमेरिकी संसदीय अभ्यासको चारवर्षे आफ्नो कार्यकालमा पछिल्लोपटक ४ सय ४४ औं संसद् बैठकमा सहभागी भएका थिए भने अहिले दोस्रो कार्यकालको प्रतिस्पर्धामा छन् । प्रदेशमा बस्ने नेपालीको एक मात्र अपेक्षा समुन्नत र शान्त नेपाल हो । विधायक भण्डारी प्रजातान्त्रिक अभ्याससँगै जनताका आधारभूत अधिकार स्वास्थ, शिक्षामा पहुँच हुनुपर्ने बताउँछन् । आपसी मतभिन्नतामा सहमति खोज्दै र कमीकमजोरी सच्याउँदै अगाडि बढ्न आसन्न निर्वाचनले सहयोग गर्ने र प्रवासी नेपाली समुदायले पनि त्यस बाटोमा मातृभूमिलई डो¥याउन भूमिका निर्वाह गर्नुपर्नेमा विधायक भण्डारी जोड दिन्छन् ।

डीसी मेट्रो क्षेत्रमा बसोबास गर्दै आएका नेपाली कांग्रेस सूचना तथा सञ्चार विभाग सदस्य इञ्जिनियर देशराज संयोक लिम्बू आसन्न निर्वाचनमा राजनीतिक पार्टीले तालमेल वा गठबन्धन गरेर राजनीतिक÷सैद्धान्तिक आस्थाविपरीत मतदान गर्न बाध्य पार्नु नागरिकको आधारभूत अधिकार उल्लंघन ठान्छन् । उनका अनुसार राजनीतिक दलका आ–आफ्नै र उम्मेदवारको समेत निजी ‘पपुलिष्ट’ घोषणापत्र देखाएर जनतालाई सैद्धान्तिक नीतिविपरीत मत दिन बाध्य पार्न नदिन कानुनी व्यवस्था नै हुनुपर्छ ।

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त पशु स्वास्थ विज्ञ डाक्टर चिन्तामणि लामिछाने नेपाली राजनीतिमा अन्तरपार्टी प्रजातान्त्रिक र पारदर्शी मूल्य स्थापित हुनुपर्ने बताउँछन् । आसन्न निर्वाचनपछि राजनीतिक पार्टीमा प्रणालीप्रतिको प्रतिबद्धता र प्रक्रियामा सहभागी हुने जागरुकता तथा राष्ट्रिय हितविपरीत बाह्य दबाब हुन नदिने अवस्था सिर्जना होस् भन्ने चाहना डाक्टर लामिछानेको छ ।

संयुक्तराज्य अमेरिकाको क्यालिफोर्नियास्थित नेपालका मानार्थ महावाणिज्यदूत ऋषिप्रसाद ढकाल आगामी निर्वाचन स्वतन्त्र, निष्पक्ष र विवादरहित होस् भन्ने कामना गर्छन् । उनका अनुसार जनतामा बढेको जनचेतना र विवेक प्रयोग गर्दै चयन हुने नेतृत्वले जनहितका काम गर्नेछ । पत्रकार मधु अधिकारी नेपालको निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने देख्छन् । समानुपातिक व्यवस्थाको गलत प्रयोग भयो । पत्रकार मधुकर अधिकारीको विश्वास छ, आसन्न निर्वाचनले जनताका निम्ति उत्तरदायी सरकार निर्माण गर्नेछ । प्रजातान्त्रिक अभ्यास हुन थालेपछि राष्ट्रिय/अन्तर्राष्ट्रिय दृष्टिकोण सकारात्मक बन्न थाल्छ । यो आवधिक निर्वाचन निश्चित समयमा दोहोरिने हुनाले कमी–कमजोरी सच्याउन सहयोग गर्छ ।

नेपालका सबै राजनीतिक दल यथास्थिति कायम गरेर आ–आफ्नो अस्तित्व जोगाउनमा केन्द्रित भएकाले आगामी निर्वाचनले कुनै नयाँ गन्तव्यमा नपु¥याउने प्रोफेसर रमेशराज पन्त बताउँछन् । ग्रेटर वासिंंग्टन मेट्रो क्षेत्रस्थित जर्ज मेसन विश्वविद्यालयमा अध्यापनरत प्रोफेसर पन्तका अनुसार राजनीतिक नेतृत्वले समाजको बहुआयामिक गति निर्देश गर्न सक्नुपर्ने हुन्छ । नेपाली राजनीतिमा यो क्षमता कमजोर हुँदै गएको छ । विपरीत राजनीतिक सिद्धान्त भएकाहरूबीचको ‘प्री–पोल एलायन्स’ सकारात्मक प्रजातान्त्रिक अभ्यास नभएको र यो बहुदलभित्र एकअर्कोलाई निषेध गर्ने निर्दलीय चुनाव भएको प्रोफेसर पन्तको मूल्यांकन छ । त्यस्तै अर्थविद तथा लेखक विश्वराज अधिकारी अहिलेको निर्वाचनले देशको आर्थिक उन्नतिमा योजनाबद्ध ढंगले सहयोग हुन नसक्ने बताउँछन् । उनको आशंकाको कारण हो–स्थायी सरकार गठन हुन सक्ने सम्भावना नहुनु । आगामी दिनमा राजनीतिलाई नेताहरूको इगो र परिवारवादबाट मुक्त गरेर रोजगारी र उत्पादनलाई प्राथमिकता दिनुपर्ने अधिकारी बताउँछन् ।

निर्वाचन आयोगमा दर्ता भएका १ सय १६ राजनीतिक दलमध्ये आगामी निर्वाचनका लागि ४४ वटाले मात्र आ–आफ्नो पार्टीका उम्मेदवार उठाएका छन् । जसअनुसार प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १ सय ४५ र समानुपातिकमा १ सय १० गरेर २ सय ७५ सदस्यका लागि हुने निर्वाचनमा २ हजार ४ सय १२ जना उम्मेदवार छन् । त्यस्तै, प्रदेश सभामा प्रत्यक्षतर्फ ३ सय ३० र समानुपातिकका २ सय २० गरेर ५ सय ५० सदस्यका लागि ३ हजार २ सय २४ उम्मेदवार एकआपसमा प्रतिस्पर्धा गर्दै छन् ।

टिप्पणीहरू