भोलि ट्याक्सी र सार्वजनिक यातायात व्यवसायीहरुको आन्दोलन

प्रदेश सरकारले सवारी साधनमा लाग्ने करलगायत विभिन्न सामानमा मूल्यबृध्दि गरेको भन्दै ट्याक्सी लगायत सार्वजनिक यातायात साधानका व्यवसायीहरुले भोलि आन्दोलन गर्ने भएका छन् ।
उनीहरुले भाडाका सवारी साधनको भाडा समायोजन ९ वर्षदेखि नगरेको भन्दै भोलि बिहान साढे ७ बजेबाट आन्दोलन गर्ने भएका हुन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघको अगुवाइमा सम्पूर्ण भाडाका सवारी साधनले गर्न लागेको रचनात्मक विरोध कार्यक्रममा ट्याक्सी व्यवसायीहरुलाई समेत उपस्थित हुन आग्रह गरिएको छ ।
काठमाडौं उपत्यकाको रिङ्गरोडभित्र र रिङ्गरोड बाहिर चल्ने ट्याक्सी र सार्वजनिक यातायातका साधनहरु सबै रिङ्गरोडमा जम्मा हुने छन् । आन्दोलन आयोजकले चालक तथा व्यवसायीहरुलाई अन्तिम पटक आफ्नो हक अधिकारको लागि सडकमा निस्कन नेपाल राष्ट्रिय मीटर ट्याक्सी व्यवसायी तथा चालक सेवाले समेत अपिल गरेको छ ।
भोलिको कार्यक्रम सार्वजनिक यातायात केन्द्रीय महासंघको आयोजनामा हुन लागेको हो । भोलि बिहान यातायात व्यवसायीहरुले उपत्यकाको विभिन्न ठाउँहरुबाट रिङरोडमा सवारी साधनको र्याली निकाल्ने छन् ।
सवारी साधन जम्मा हुने स्थानमा कलंकी,बालाजु माछापोखरी, बसुन्धरा,महाराजगञ्ज,सुकेधारा, गौशाला,कोटेश्वर,सातदोबाटो तोकिएको छ । ८ बजे र्याली शुरु भएर कलंकीमा कोणसभा हुने छ ।
टिप्पणीहरू