हेटौँडामा सबलाई पेल्यो हलोले

हेटौँडामा सबलाई पेल्यो हलोले

सरकारी गठबन्धनको विश्वसनीयतामाथि अनेकन प्रश्न उठाइएको हेटौँडा उपमहानगरपालिकाको मेयरमा एकाएक हलो चिन्ह अघि बढेको छ । अहिले साँझ ७ः ३० बजेको गणनाबाट राप्रपा नेपालका दीपकबहादुर सिंहले एकाएक अग्रता लिएका हुन् ।

साँझ ७ बजेसम्म ९०२९ मत गणना हुँदा उनले २७१० मत ल्याएका हुन् । यसअघि कहिले अघि,कहिले पछि गर्दै अघि बढिरहेकी गठबन्धनकी उम्मेदवार मीनाकुमारी लामा (एकीकृत समाजवादी) यतिबेला दोस्रो स्थानमा अर्थात २६६९ मतसहित छिन् । तेस्रो स्थानमा नेकपा एमालेका अनन्त पौडेलले २४३४ मत प्राप्त गरेको बताइएको छ ।

गठबन्धनलाई जित्न सकस परिरहँदा गठबन्धनकै तर्फबाट उपमेयर राजेश बानियाँ (काँग्रेस) ले भने अग्रता लिइरहेका छन् । उनले ३९८२ मत पाएका छन् भने एमालेकी सुमित्रा काफ्लेको ३०१६ र राप्रपाकी इन्दिरा डल्लाकोटीको ८०३ मत आएको छ ।

राप्रपामा पछिल्लो समय निष्क्रिय ठानिएका सिंह हेटौँडामा नेकपा एकीकृत समाजवादीले मेयरको उम्मेदवारी गठबन्धनबाट पाउने निश्चित भइसकेपछि एकाएक मेयरको उम्मेदवार बन्न आएका हुन् ।  उनी संसदीय निर्वाचनमा निरन्तर सहभागी हुँदै राजनीतिक रुपमा निष्क्रिय रहँदै आएका नेता हुन् ।

सिंहको आगमनपछि मकवानपुरका राप्रपाका हस्ती मधु अधिकारीले राप्रपा परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरी उम्मेदवार लामालाई सहयोग गरिरहेका छन् भने मेयरको टिकट नपाएपछि उक्त पार्टीका जिल्ला अध्यक्ष श्रीधर पोखरेले भने पुनः एमालेमै फर्किएर उम्मेदवार पौडेललाई सहयोग गरिरहेका छन् ।

टिप्पणीहरू