बिके अप्रेशन, बन्दीपुर मोर्चा र म

बिके अप्रेशन, बन्दीपुर मोर्चा र म

हाम्रा विगतका वीरता अर्धमुर्छित सुतिरहेका छन् । कहिलेकाहीँ बाचाल उभिएर अनुभवको तख्ता पल्टायो, तिनीहरू जागृत हुन्छन् । घरी तिनै जिउमा काँडा उमार्छन् र घरी तिनै काँडाले मुटु घोचेजसरी घाइते बनाउँछन् । अनि एक झमक खुशीमा रमायो, एक झमक वैराग्य रोप्यो..बस् । पुराना छालसँगै पर…परसम्म तैरने यो लतको नशाको आनन्द अर्कैै छ । त्यसपछि पुनः फर्कियो महिनौंको यो लकडाउनको जिन्दगीभित्र ।

थ्यांक यू कोरोना !
ऊर्जाशील उमेरको कफनकारी जिन्दगीको गणित केलाउँछु । ३६५ दिनकै फरक–फरक अनुभूति जम्मा हुन्छ । यसो भनौं, त्यति नै अनुुभूति छन् मसँग । अघिल्ला लेखोटमा त्यही भएर भनेको हूँ, जनयुद्धको आँधीमय दिनलाई नियाल्दा र चानचुन आधा सय युद्धका मोर्चाको अनुभव संगाल्दा हरेक दिन स्मृति, हरेक दिन विस्मृति हुनेरहेछ भनेर ।

अलिक उल्टो कुरा गर्छु । कहर पनि फलदायी हुन्छ ? हुने रहेछ । कोरोनाको कहरबीचको यो फुर्मासको समयको उपयोग यसैले फलदायी छ । विस्मृतिबाट पर…पर हुँदै गएका दूर क्षितिजका सपना केलाउने यो मेसो अनौठो छ ।खाली माओवादीको…युद्धको…लडाइँ को लेख्छ भन्ने लाग्ला, नभन्नुहोला । जे आर्जन गरियो त्यही गरियो, जे गुमाइयो त्यहीं रमाइयो । सम्झना–बिर्सना नै त्यहीबाट शुरु हुन्छ, अन्त कहाँबाट शुरु गर्नु । यही हो यात्रा जिन्दगीको भन्ने लाग्छ अहिले ।

आज म बेथान स्मृति ब्रिगेड पाँचौ ब्रिगेडबाट अस्ताएका दुई तारा र त्यही मोर्चामा अस्ताएका अन्य ३६ जना तारापुञ्ज परिक्रमा गर्ने प्रयत्नमा छु । शहीदहरूको …बलिदानको तारापुञ्ज । एउटा रणसंग्राम जहाँ क्रान्तिको नाममा दर्जनौं योद्धाले आफ्नो जिन्दगी बिसाए क्रान्तिका खातिर ती सबै स्मृतिका गर्भमा विलीन भए । नहुनुपर्ने नि तर जसले तिनलाई बलिदानका लागि तत्पर गराए तिनैले तिनका बलिदानलाई आफ्नो जिन्दगीको लालपुर्जा बनाएर रमाए । क्रान्तिको यही अनौठोपना देखेर अनौठो लाग्छ मलाई ।

इतिहासको ब्याजमा तर मारिरहेकाहरूलाई फिटिक्कै मन पर्न छाडेका हिजोका वीरता र सहादतका कहानीको वरपर घुम्दा धेरैलाई चक्कर लाग्ला अचेल सायद । हिजोको वर्गबाट उत्थान भइसकेकाहरूका लागि जायजै पनि हो त्यो ।

रमाऊ कमरेड तिमीहरू !

मरेका मरिहाले ।

बाँचेका भाडमा जाउन् ।

अफसोच, कि म पछ्याउँछु, कि मलाई पछ्याउँछ त्यो वर्गीय लडाइँ, घरीघरी घाइते बनाउन आउँछ । बिर्सौं भन्यो, पात्रो हेरेर मन घोच्न आउँछ ।

….

आफैले लडेको बन्दीपुर मोर्चामा बसौं ।
तत्कालीन नेकपा माओवादी जो राज्यसत्ताविरुद्ध अन्तिम चरणका । युद्धमा थियो, उसैको रणनीतिक प्रत्याकमणको पहिलो चरणको फौजी कारबाही अन्तर्गतकै हो बन्दीपुर मोर्चा । र, म त्यो मोर्चाको छापामार सिपाही ।

पूर्वीडिभिजन बनेपछि भोजपुर रिपिटर टावर आक्रमणपछिको अर्को मोर्चाबद्ध लडाइँ थियो बन्दीपुर । म्याग्दीको सदरमुकाम बेनी आक्रमणपछि सग्लो शरीर लिएर पूर्वीकमाण्डमा पुग्नु नै मेरा लागि ठूलो उपलब्धि थियो । छापामार न हुँ, मलाई कहिल्यै राज्यसँग हार्छु भन्ने लागेको थिएन, त्यसरी नै प्रशिक्षित गरिएको थियो ।

आफ्नो रक्षाका लागि राज्यले राजमार्गका सयौं स्थानमा चेक पोष्ट तैनाथ गरेको थियो । अनुमान गर्नुस्, प्रत्येक चेकपोष्टमा पुग्दा एउटा छापामारको मनोविज्ञान कस्तो होला ?

साहस पनि, चतु-याइँ पनि, भय पनि, रोमाञ्चकता पनि ।
अहो ! हरेक चेकपोष्टमा मृत्यु र हरेक चेकपोष्टमा जीवनजस्तो थियो त्यो समय ।
यसैले त युद्धका हरेक दिन गणनायोग्य हुन्छन् भनेको हूँ । शान्तिपूर्ण रूपमा बिताइएका ३० वर्षभन्दा आँधीमय युद्धका पाँच वर्ष नै वर्णनयोग्य हुन्छन् त्यसै भन्दिनँ म ।

प्रत्याक्रमणको पहिलो चरणमा विभिन्न ठाउमा भएका सेबोटेज, फायरिङ, एम्बुस, भिडन्तको मूर्तिकृत रूप हो बन्दीपुर मोर्चा । २०६२ साल वैशाख २६ गतेको मोर्चाबद्ध लडाइँ समग्र जनयुद्धकै महत्वपूर्ण मोर्चा थियो ।

भनम्…?, यो मैनापोखरी मोर्चामा माओवादी योद्धाहरूले जित हासिल गरेको ठीक एक वर्षपछिको तर अलग्गै प्रकृतिको मोर्चा थियो । अमेरिकी शैलीको फोर्टिफिकेसन सहितको शाही सुरक्षा संयन्त्रको गाम सुरक्षा बेसक्याम्पमा माओवादीले धमाकेदार जित हासिल गरेको एक वर्षपछि हामी राजमार्गमै खुल्लमखुला मोर्चाबद्ध लडाइँको तयारी गर्दै थियौं ।

तपाईलाई कुनै अमेरिकन वा हिन्दी सिनेमा झैं लाग्यो ?

होइन, म मेरो तन, मनले नेपाली जनयुद्धको छापामार भएर लडेको लडाइँको पूर्वस्मृति हो यो । पूर्वी नेपालको पूर्वपश्चिम राजमार्गमा पर्ने सिरहा जिल्लाको बन्दीपुरस्थित तत्कालीन शाही नेपाली सेनाको आधार शिविरमाथि धावा बोल्दाको स्मरण हो यो ।
पश्चिममा ठुल्ठूला फौजी कारबाही सफल भइरहेका थिए । पूर्वीकमाण्डमा रहेको पूर्वीडिभिजनलाई पनि जतिसक्दो चाँडो मोर्चाबद्ध लडाइँको परिणाम चाहिएको थियो ।

किनकि, रणनीतिक प्रत्याक्रमणकोे योजनाअनुसार राजनीतिक र फौजी हमला जारी राख्ने भन्ने नीति थियो पार्टीको । र, फौजी रूपमा पनि तीन स अर्थात् सडक, शहर र सदरमुकाम हान्ने नीति थियो । त्यसमाथि सशस्त्र आक्रमणमा तत्काल ठोस् आक्रमण दिन नसकेको पूर्वी कमाण्डलाई एउटा बाध्यता पनि थियो त्यहाँ । दुस्मनको ढाडमा टेकेर ठाउकोमा हान्न पनि केही चामत्कारिक छापमार आक्रमण जरुरी थियो । त्यसैको परिणाम हो बन्दीपुर मोर्चा ।

कमाण्ड इञ्चार्ज वर्षमान पुन (अनन्त) को अध्यक्षतामा महत्वपूर्ण बैठक बस्यो सिन्धुलीको मरिनखोलामा । यानप्रसाद गौतमको रहस्यमयी र विवादित कारबाहीपछि अग्निप्रसाद सापकोट (कञ्चन) क्षेत्रीय कमाण्ड सम्हाल्दै थिए । आलोकले खनेको फौजी र राजनीतिक जगमा आलोकलाई नै सिध्याएर पार्टीले गरेको महान् चमत्कारबारे हामीलाई घोकाइएको प्रवृत्तिगत पाठ आजको बसाइको विषय होइन ।
दुश्मनको ध्यान त्यो बेला पश्चिम केन्द्रित थियो । किनकि, माओवादी छापमारले पश्चिमका अधिकांश जिल्लामा सफल फोजी आक्रमण जारी राखेका थिए । यसैले राज्य माओवादीविरुद्ध पश्चिममा बढी केन्द्रित थियो । त्यो बेला राज्यको ध्यान विकेन्द्रित गर्न पनि पूर्वमा चामत्कारिक आक्रमण आवश्यकता थियो ।

यही आवश्यकता पूरा गर्न बसेको मरिनखोला भेला मेरो स्मृतिमा आयो ।

बन्दीपुर मोर्चालाई ‘बिके अप्रेशन सम्बोधन गरिएको थियो । शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार) को बलिदानको सम्झनामा । अथवा राज्य पक्षले उनीहरूलाई नियन्त्रणमा लिई हत्या गरेको बदलामा तय गरिएको अप्रेसन । त्यतिबेला रोल्पामा बसेको नेकपा माओवादीको केन्द्रीय समितिको बैठकबाट विशाल र कुमार क्रमशः ब्रिगेड कमिसार र सोलु–ओखलढुंगा इञ्चार्जको भूमिका लिएर फर्कंदै थिए । तर, सेनाले सिरहाको धन्छावारबाट गिरफ्तार गरेलगत्तै हत्या ग¥यो । (यो प्रकरणमा पार्टीभित्रैबाट अन्तरघात भएका गाइँगुइँ चल्यो । तर, भुसको आगो बाहिर देखिने गरी दन्किएर बलेन) ।

त्यतिखेर बेथान स्मृति ब्रिगेडको कार्यक्षेत्र काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप, सिन्धुपाल्चोक र सिन्धुलीका केही भाग थियो । विशाल र कुमार हत्या प्रकरणले रातो वातावरण तातो बन्दै थियो । युद्ध मोर्चामा दुस्मनको छाती ताक्न जान नपाएका गुनासा हुन्थे छापामारबीच । तर, तत्काल पत्याइदिने कमिसार र कमाण्डर थिएनन् । तर, म निश्चयसाथ भन्छु त्यो मोर्चामा शीतलकुमार, बलदेव, हितमान शाक्यलगायत नेता जोडिएका थिए ।

वर्गीय मुक्तिका लागि भन्दै आफैंलाई बलि चढाउने त्यो बेलाको रहर अनौठो छैन ? हुँदोरहेछ । भलै जो बलिवेदीमा मेटिए, रेटिए… तिनका नाममा धेरैले मुक्तिको जस सत्ताका आँखीझ्यालबाट हेरेर मनाए । त्यो अलग कथा हो ।

बेथान स्मृति ब्रिगेडको स्पेसल फोर्स रामेछापको बेथान आसपास सेल्टर लिएर बन्दीपुरका लागि दिमीपोखरी जाँदै थियो । दिमीपोखरीकी शहीद परिवारकी आमाबाट आशीर्वाद लिइयो । एक जना छोरा गुमाएर धेरै छापामार छोराछोरी कमाएकी ती बूढी आमैको चुहिएको छानो कस्तो भयो होला अहिले ? गरिबले दुई छाक पेटभरि खान पाएको हेर्ने तिनका रहर…कठै ! श्रीमान् र छोरा क्रान्तिका नाममा अर्पण गरेकी तीन आमा…ती आमालाई भेटेर ‘तिमीमाथि घात भयो आमा…ठूलो विश्वासघात भयो । माफ गर्दिनुस् भनेर युद्धकारी नेतृत्वको तर्फबाट क्षमायाचना गर्न मन लाग्छ अचेल ।

सुनकोशी चिसै थियो । तर, रगत तातो । जोश तातो . काँधमा राइफल र युद्धसामग्री बोकेर रातभरमा सुनकोशी छिचोलियो । छापामारका लागि पिठ्युँमा बोकेको झोला नै सिंगो घर हो, कफन पनि त्यही र कात्रो पनि त्यही ।

फिकल चढ्दै सिन्धुलीको दमारका स्याउबाजेको घर सेल्टर थियो । तिनीहरूसँगको साइनोको अर्को सम्झना छ । जनमुक्ति सेनामा भर्ती हुन जाँदा पहिलोपटक त्यही स्याउबाजेको घरबाट जनमुक्ति सेना सदस्य घोषणा भएको थियो । त्यही मेरो नामको न्वारान गरिदिएका थिए जीवनसाथी आनन्दकुमार थापाले । ऊ त्यहाँबाट छुट्यो र फेरि कहिल्यै हाम्रो भेट भएन ।

दमारमा पूर्वीडिभिजनले युद्धकलामा निपुण जनमुक्ति सेनाको कमाण्डर र सदस्य जम्मा गरेको थियो मिशन बिके सफल बनाउन । बन्दीपुर ब्यारेक जस्ताको तस्तै स्यान्ड मोडलमा उतार्ने शिला श्रेष्ठ (शिला), दीपक दहाल (क.विश्वासले) सहादत प्राप्त गरे । सम्झना भएअनुसार क.आदित्य जीवित छन् । त्यही स्यान्ड मोडल नक्शाको अध्ययन गराइरहेका कमाण्डर हुन् धनबहादुर मास्के (क.राजेश) जो त्यतिबेला डिभिजन सहकमाण्डर थिए । कमाण्ड इञ्चार्ज र डिभिजन कमाण्डर थिए उनै वर्षमान पुन अनन्त ।

त्यो बेला हाम्रो वर्ग, जात एउटै थियो । मेरो खुट्टामा जस्तै उनीहरूको खुट्टामा पनि गोल्डस्टार जुत्ता थियो । जुत्ता फेरिएसँगै कमाण्डरहरूको, नेताहरूको वर्ग फेरिन्छ भन्ने कहिल्यै लाग्थेन । बन्दीपुर मोर्चाका सहयोद्धा कम्पनी कमाण्डर शहीद खड्कबहादुर देवकोटाका छोरा जीवन देवकोटा क.श्रोतले भनेजस्तो, ‘न हामीले लडेको लडाइँ हाम्रो भयो र न हाम्रा आफन्तले बगाएको रगत । न हाम्राकमाण्डर हाम्रा भए न हाम्रा नेता ।

तत्कालीन डिभिजनअन्तर्गत थिए बेथान स्मृति पाँचौं ब्रिगेडका कमिसार गंगा कार्की (क. विश्व) कमाण्डर हरिबहादुर श्रेष्ठ (क.प्रमोद) सहकमाण्डर गोविन्दबहादुर बटाला (क.जीवित) । सोलुसल्लेरी छैटौं ब्रिगेडको कमिसार ध्रुव पराजुली (क.सन्तोष) कमाण्डर (क.पावेल) सहकमाण्डर (क.धीरज), मेची कोशी सातौं ब्रिगेड कमिसार सन्तु दराई (क.परवाना) कमाण्डर पदम लामा (क.सञ्जीव) सहकमाण्डर नरेश कुवर (क.नरेश) थिए ।..

उच्च हिमाली पहाडमा सिमसिम पानी परेर कुहिरोले छपक्क छोपेको दमारलाई । कमिसार र कमाण्डरहरूले आ–आफ्नो समूह लिएर शुरु भयो बन्दीपुर यात्रा । बाटो बिराएर रातभर हिँड्दा पनि गन्तव्यमा पुग्न सकिएन ।  निद्रा प्यारो कि ओछ्यान ? थकाइले आजित भएको ज्यान निदाएछ बगरमा ढुंगाको सिरानी हालेर । हिँड्दा हिँड्दै निदाएपछि साथीहरूले छाडिदिएछन् बाटैमा । ब्युँझदा क.शिला र म जिनाखु खोलाको बगरमा बन्दुक र झोलासहित निदाइरहेको, गाली मिठो त हुँदैन तर खाइयोे ।

अँ साँच्ची !, म त्यतिबेलाका प्रेमिल जोडी विमल बराल (क.असिम) र मेनुका गिरी (क.भावना) पनि सम्झिरहेको छु ।
बिहानको खानापछि डिभिजन फोर्स शिरथौली खोला तरेर चुरे छिचोल्दै बन्दीपुर कमला खोलातर्फ बढ्छ । यात्राबीचका सबै कठिन जंघारको मीठो सम्झना ।

सत्रौं बटालियनले धनुषा आधार बनाएर आफ्नो जिम्मेवारी पूरा गरिरहेको थियो । झण्डै सय जना छापामार तराईको भूगोलमा बन्दीपुर मोर्चा सफल बनाउन क्रियाशील थिए । तयारी थियो, दुश्मनलाई ब्यारेकबाट बाहिर निकाल्ने र एम्बुसमा फसाउने । यसैले सूचना संकलन र सेबोटेजको क्रम जारी थियो ।

योजनाअनुसार जनता शहरतिर लाग्ने क्रम जारी थियो ।
हामी बिछट्टै भिन्नैखाले खुला युद्धमोर्चाको अन्तिम चरणमा थियौँ ।
फायरिंग खुल्न अझै ५ घण्टा छ ।

मनमा कुतूहलता छ । दुश्मनका किल्लामा गएर पहिला आफू पड्कने कि पहिला दुश्मन पड्काउने ? मनमा एक किसिमको तरंग पैदा हुने रहेछ कतिखेर खुल्छ फायर अनि आफूलाई पड्काउने भनेर ।  यही बीचमा आ–आफनो ब्रिगेडको रोलकल भयो । पाँचौं ब्रिगेड कमाण्डर प्रमोद ‘लडाइँको हिसाबले खतरनाक मोर्चा हो, हामीले पूर्व–पश्चिम राजमार्गको बीचमा रहेको ब्यारेक कब्जा गर्दै छौं र छोटो समयमा कारबाही सकेर राजमार्गबाट विजयको सन्देश लिएर फर्कनेछौं’ भन्दै थिए ।

सहकमाण्डर गोविन्दबहादुर बटाला क.जीवीत त्यो मोर्चाको एउटा आर्क सम्हालेका कमाण्डर थिए । उनी विचार र हतियारले लैस जनमुतिm सेना दुश्मनलाई भुलो चटाएर जनताको घरमा फर्कने वाचा बाँध्दै थिए ।  उनी भन्थे, ‘जनताको पनि आफ्नै सेना छ र बन्दुकको नालमा टिकेको राज्य सतालाई बन्दुकले नै परास्त गर्नेछ ।’ ग-यो नै ! कमाण्डर र छापामारको नाताले यो खुशी अहिले पनि बाँड्न हिच्किचाउँदिनँ म बटालासँग ।

जनमुक्ति सेनाको फर्मेशनमा २०५५ सालको कालिकोट पधारा शन्निघाट प्रहरी चौकी आक्रमणबाट शुरु भएको सैन्य यात्रा २०५० सालकमा ओखलढुंगा रुम्जाटार आक्रमणपछि पूर्वको कमाण्ड सम्हालेका बटाला जनयुद्धको अन्तिम मोर्चा चौतारासम्म पनि सँगै थिए । सँगै लडेका यस्ता लडाइँमा धेरै सहयोद्धालाई कफन ओडाएर ‘लालसलाम’ भनियो….उनीजस्तै म पनि आजसम्म जिउँदै छु ।

कमाण्डरले सिपाही बिर्सिए पनि सिपाहीलाई कमाण्डर बिर्सन गाह्रो हुने रहेछ जस्तो लाग्छ आज । लडाइँ कमाण्डरले जिते । सिपाहीले पनि जित्यो । तर, सिपाही र कमाण्डरको सम्बन्ध लडाइँ चलुन्जेल मात्र रहन्छ । मेरा कमाण्डर बटालाले पनि यही सोच्दै होलान् यतिबेला ।

किनकि, युद्ध जितेर राजनीति हारेपछिको माओवादी आन्दोलनको केही समय मोर्चा र भूगोल बाहिर रहँदासम्म हामी हाम्रा कमाण्डर हेर्ने गथ्र्यौैं । पार्टीमा चैते र अवसरखोरलाई क्रान्तिकारी भन्दै आमन्त्रण गरेपछि, त्याग समर्पण र बलिदानभन्दा अन्य पक्ष नै पार्टीका लागि आवश्यक बनेपछि बाँकी तपसिलका कुरा के गर्नु ।

म आफ्नै कमाण्डरहरू हेर्छु र ठीकै छु भनेर चित्त बुझाउँछु
चैते माओवादीको अनुहार हेरेर मेरा कमाण्डर पो कति विस्मृत हुँदा हुन् ? प्रश्न सोध्न जाँगर चल्दैन ।
यस्तै भयो ।
….

रोलकल सकियो । बेलुकाको खाना हामीले जंगलको बीचमै खायौ । रमाइलो वनभोज जस्तो । दाल, भात तरकारी सबैले प्लास्टिकमा पोको पारेर बोक्यौं । मैले क.दिनेश र क.रामजी भएको ठाउँमा क्यामेरा तेर्साएँ । क. रामजीले ‘अन्तिम पनि हुन सक्छ तस्बिर लिनुस् भन्दै थिए । दसैँमा पर्सिएको बोका र युद्ध मोर्चाको सिपाहीको भर नहुने उनको तर्क त्यो बेला जायजै त थियो ।

साँझ ७ बज्यो । आधुनिक हतियार र फोर्टिफिकेसनको हिसाबले बलियो मानिएको बन्दीपुर ब्यारेकतर्फ हामी लाग्यौं । विद्रोहीको एउटा डिभिजन तहले फौजी कारबाही गतिशील बनाउन हाम्रा लागि जित्नुको विकल्प थिएन ।

डिभिजन कमाण्डर, सह–कमाण्डर सञ्चार सेटसहित माथिल्लो चिसापानीडाँडा पुगे । राजमार्ग अवरोध गर्न गएको जनमुक्तिसेनाको आ–आफ्नो तयारी सकिएको जानकारी सञ्चार सेटमा आयो । ३ बटै ब्रिगेडको कमाण्डर, सहकमाण्डर र सम्पूर्ण एसल्ट कमाण्ड आ–आफ्नो आर्कका पुगेको अन्तिम जानकारी आयो । वर्षमान पुन उर्फ अनन्तले फायरिङ खोल्ने अन्तिम आदेश दिए ।
रातको (१२:३) मा युद्धको विगुल बज्यो ।

सिरहाको बन्दीपुरमा जनमुक्ति सेनाले फायर खोल्यो । युद्ध भीषण चल्यो ।  रातको १ बजे कमरेड जीवितको सञ्चार सेटबाट खबर आयो मेरो आर्कमा, एसल्ट गु्रप सम्हालिरहनुभएका क.दिनेशको सहादत भयो । युद्ध हो, एउटाको सहादतले बिचलित हुने कुरा भएन ।

सबै आर्कबाट युद्ध घमासन चल्यो । जनमुक्ति सेनाले दुश्मनको अन्तिम बंकरसमेत कब्जा ग-यो । जीवितको सेटबाट बटालियन कमाण्डर रामजी गम्भीर घाइते भएको खबर आयो । मेडिकल ग्रुपले उपचार गर्दा गर्दै उहाँको शहादत भयो ।  केहीबेर फायरिङ रोकियो । डिभिजन कमाण्डरले कब्जा गरिएको हतियार र घाइते साथी लिएर फर्कने आदेश दिए । दुश्नको अन्तिम एउटा पोष्टमा जीपीएमजी र २ इञ्च मोर्टारबाट बमबार्ड गरियो ।

युद्धमा क.रामजी, क.दिनेशलगायत ३६ जनाको जनमुक्ति सेनाको सहादत भयो । करिब ५ जना घाइते भए । मात्रात्मक रूपमा यो ठूलो क्षति थियो ।

युद्धका अनेक परिस्थिति हुन्छन् । तत्कालीन ब्रिगेड कमाण्डर क.पावेल सम्झन्छन् मोर्चा हामीले जित्यौं तर अन्तिम अवस्थामा राम्रो कोर्डिनेसन भनेजस्तो भएन अपेक्षित सफलता प्राप्त भएन ।

तत्कालीन ब्रिगेड कमाण्डर प्रमोद यसलाई शाही नेपाली सेनाले रक्षात्मक लडाइँमा जोड दिनु र हामीले सर्भे गरिसकेपछि उनीहरूको फोर्टिफिकेसन बलियो बनाउनु र आक्रमण हुँदै छ भन्ने जानकारी पाएर लडाइँको तयारी बलियो बनाउनुको परिणाम मान्छन् ।

बन्दीपुर मोर्चामा कमल शर्मा (कि.दिनेश) बटालियन कमिसार सिपा, गोविन्द बजगाई (क.रामजी) बटालियन कमाण्डर सिपा, बुद्धिमान मोक्तान (क.शक्ति) कम्पनी कमाण्डर काभ्रेलगायतले ३६ जना योद्धले सहादत प्राप्त गरे ।

यसो भनौं, उनीहरू मरे अहिले ती सहिदको मूल्यांकन भइदिएको भए त्यो सहादत हुने थियो । तर, उनीहरू मरे ।
मोर्चामा सहादत प्राप्त गर्ने सबै ३६ जना सहयोद्धाप्रति नमन् ।

तीनै शहीदको सहादतलाई सिंढी बनाएर सत्तामा पुगेका तर मर्ने मरिहाल्यो भन्दै बलिदानको ब्याज खाइरहेका तत्कालका सबै क्रान्तिकारीलाई लालसलाम ।

चौतारा मोर्चाका लागि सडकमा दौडँदै गरेका सयौं रातो मान्छेको भीडमा सडक छेउमा उभिएर आँखा तिखो पार्दै जीवनको प्यारो मान्छे र अभिभावक खोजिरहेकी विन्दा बजगाईं मेरो आँखा अगाडि उभिन्छिन् । सहिद गोविन्दप्रसाद बजगाईंको जीवन संगीनी उनी र उनका छोराछोरीको विगतको दृश्यले पनि ऐठन गराउँछ आधा रातहरूमा ।

ठूलाघरे काकाको छोरा शहीद कोटामा चीनमा छात्रवृद्धीमा पढन जादैगर्दा बन्दीपुर मोर्चामा भौतिक शरीर गुमाएर सधैँका लागि बिदा भएको अभिभावकविहीन शहीद गोविन्द बजगाईंका छोराछोरीले आधारभूत शिक्षा पढ्ने मौका पाए कि पाएन होला ? यदि पाएका रहेछन् भने सौभाग्य नै मान्नुपर्छ यो अबसरलाई ।

मैले देखेको छु जनयुद्धमा अभिभावक गुमाउने वा शहिद परिवारको छोराछोरीको निर्मम र तीतो यथार्थ । त्यस्तै अर्का पात्र हुन्, भगवती प्रधान (प्रतिमा) । बेथान स्मृति ब्रिगेडअन्तर्गत १३औं बटालियन बी कम्पनीको कमिसार र शान्तिप्रक्रिया पछि २०६३ सालको अन्तरिम संसदकी बिधायिका हुन् उनि । तत्कालीन बेथान स्मृति व्रिगेडको बन्दीपुर मोर्चाको कमिसारको भूमिकामा बहन गर्दै गर्दा दुश्मनले हानेको टुइन्च मोटार लागेर शहादत प्राप्त गर्नुभएका कमल शर्मा क. दिनेशको अर्धांगिनी पनि हुन् ।

ठोर्कपामा ८१ एम एम को सेलले चुँडालिएको गोडालाई छाला र स्टिलको भरमा आफूलाई सपांगसरह सावित गर्ने नाम हो यो । अहिले पार्टीले सडकमा फाले पनि उठेर स्टिलको भरमा उभिएको गोडालाई पुनः घिसार्दे बेपत्ता योद्धा भीम गिरीको जीवन संगिनी रेखा बास्तोला सँगको सह–कार्यमा ललितपुरमा कृषि फम सञ्चालन गरेर जीवन यापन गरिरहेका छन् । आफ्नै पौरखमा रमाउँछन् । नेताहरूले झैँ ठेक्कापट्टाको मेसो पाउँदैनन् उनीहरु ।

टिप्पणीहरू