भैँसी र बंगुर खाएको बाघले मान्छे टोक्यो
चितवनमा बाघको आक्रमणबाट एक जना सख्त घाइते भएका छन् । आज बिहान खेतमा तरकारी टिप्न गएका ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाईबा)लाई बाघले आक्रमण गरेको हो ।
बाघको आक्रमणबाट घाइते भएका थिङको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार घाइते थिङको अनुहार र घाँटीमा चोट लागेको छ ।
अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले घाइतेको उद्धार गरेको थियो । सोही बाघको आक्रमणबाट स्थानीय सुकबहादुर थिङको एउटा भैंसी र सुकराम तामाङको दुईवटा वटा बंगुर मारेको प्रहरीको भनाइ छ । त्यस्तै, जितबहादुर थिङको एउटा गाईलाई पनि घाईते बनाएको थियो ।
जेठ २४ गते भरतपुर–२३ की मंगली बोटेको बाघको आक्रमणबाट मृत्यु भएको थियो । उनी स्थानीय घैलाघारी सामुदायिक वनमा निउरो टिप्न गएका बेला बाघको आक्रमणमा परेकी थिइन । जेठ महिनामा मात्रै बाघको आक्रमण भएको यो पाचौं घटना हो ।
टिप्पणीहरू