मध्यरातमा बसले ठक्कर दिएका रिक्सा चालक रहेनन्

मध्यरातमा बसले ठक्कर दिएका रिक्सा चालक रहेनन्

हेटौंडामा बसको ठक्करबाट घाइते भएका रिक्सा चालकको अस्पतालमा निधन भएको छ । हेटौँडा उपमहानगरपालिका–१५ मा गएराति भएको उक्त दुर्घटनामा रिक्सा चालक बाराका मिलन सुनारको प्राण गएको हो ।

प्रहरीका अनुसार बाराको रतनपुर घर भई हेटौंडामा रिक्सा चलाउँदै आएका २६ वर्षीय सुनारको उपचारका क्रममा चुरेहिल अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको हो । रिक्सामा सवार हेटौंडा उपमहानगरपालिका–१२ का ३५ वर्षीय सुवास सुनार घाइते छन् । गम्भीर घाइते उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गमा पथलैयातर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख ०२४२ नम्बरको बसले सुनारद्वय सवार ना. २ अ ६४ नम्बरको अटो रिक्सालाई गएराति २ बजे ठक्कर दिएको थियो ।

बस चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

टिप्पणीहरू