निर्वाचन विरोधी कमरेडहरु धमाधम समातिँदै

निर्वाचन विरोधी कमरेडहरु धमाधम समातिँदै

भोलि हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको विरोध गर्दै आएका विभिन्न वामपन्थी दलका नेता तथा कार्यकर्ता पक्राउ पर्ने क्रम आज पनि जारी छ । सुरक्षा निकायको विशेष निगरानीमा परेकालाई राजधानीका विभिन्न स्थानबाट पक्राउ गरिएको बताइएको छ ।

आज दिउँसो पौने ४ बजेको समयमा मोहन वैद्य किरण समूहका एक जना कार्यकर्तालाई गोदावरीबाट समातिएको हो । नेकपा माओवादी क्रान्तिकारीको ट्रेड युनियन अध्यक्ष श्याम केसीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।

आजै दिउँसो साढे २ बजेको समयमा मंगलबजारबाट विप्लव समूहका महेश बज्राचार्य पनि पक्राउ परेका छन् । विप्लवका ललितपुर महानगर इञ्चार्ज बज्राचार्यलाई पनि चुनाव बिथोल्ने गतिविधिमा सक्रिय भएको पाइएपछि नियन्त्रणमा लिइएको प्रहरीको दाबी छ । 

नेकपा बहुमत निकट अखिल क्रान्तिकारीका चार जना नेतालाई काठमाडौंको नयाँ बानेश्वरबाट प्रहरीले पक्रेको हो । क्रान्तिकारी सचिवालय सदस्य गोविन्द विष्ट, काठमाडौं जिल्ला संयोजक हस्त विकका साथै धनराज विक र नरेश विकलाई दिउँसो ४ बजे नयाँ बानेश्वरस्थित एभरेस्ट होटल पछाडिबाट नियन्त्रणमा लिइएको हो । नरेश विक गोकर्णेश्वर नगरपालिकाको उद्धम विकास सहजकर्ता हुन् ।

टिप्पणीहरू