प्रेमप्रसादहरु थप्ने काम बन्द गरौं

प्रेमप्रसादहरु थप्ने काम बन्द गरौं

महाभारत अध्ययन गर्दा वशिष्ठ ऋषिको एउटा प्रसँग भेटिन्छ जुन वशिष्ठ ऋषिले सतद्रु नदीमा आत्महत्या (दाह ?) गर्न हाम्फले पनि त्यो सफल हुन सकेन । आत्मदाह हुन नपाएपछि इच्छाअनुसार प्राणत्याग सम्भव छैन भन्ने निष्कर्ष निकाले । 

अहिले यस्तै छ प्रेमप्रसाद आचार्य र मोहनप्रसादहरुलाई । फरक वेदकालीन वशिष्ठ मर्न सकेनन्, सतद्रू नदीको वेगले उनलाई जमिनमैं ल्याएर पछार्यो । प्रेमप्रसादलाई भने अगाध प्रेम ओइराएका ओइराएकै छन् जसले गर्दा उनको पार्थिव देह त्याग भए पनि हाम्रो समाजमा उनलाई जिउँदो बनाउने अभ्यास जारी छ र प्लेकार्ड बोकेर सडक गल्लीतिर नारा जुलुश हुँदैछ, –‘प्रेमप्रसाद आचार्यलाई न्याय देउ’ । 

मानौं उनी फर्केर आउँछन्, घर परिवार सन्तापले भरिएको बेला, शोकमा डुबेका बेला प्रेमप्रसादलाई अघि सारेर परिवारजनको समवेदना र शोकमाथि खेलवाड गर्न केही मान्छेहरु अघि सरेका छन् । र समाजका अन्य ऋणि, असामीहरुलाई आत्मदाहको निम्ति दुरुत्साहन गरिरहेका छन् । एक ढंगले वशिष्ठ ऋषि हिर्दोक हुन् तर पनि उनी त्याज्य नभएर बाँचेकै कारण धेरै अर्थमा मान्य छन् । तर प्रेमप्रसादहरु मान्य भएर पनि त्याज्य हुन बाध्य छन् । किनभने प्रेमप्रसादलाई हतियार बनाउनेहरु एकाध धनाढ्य ठालू व्यापारीको पक्षमा अप्रत्यक्ष तवरले देखिएका छन् । नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने कति जना मझौला या साना व्यापारीहरुले सरकारबाट कहिले कुनै पनि राजश्वमा छुट पाएका छन् ? 

कर्मकाण्डी शास्त्रअनुसार नश्वर देह त्याग्नु कायरता हो, स्वास्थ्य र सामाजिक शास्त्रहरु अनुसार यो काम रोग हो, पीडा वा समस्याबाट सदाको लागि मुक्ति पाउने उपाय हो । नेपालमा आत्महत्या गर्नेहरुको प्रतिदिनको सङ्ख्या र कारण खोजौं त । कुनै न कुनै रुपमा सरकारलाई दोषी ठहराउन सकिन्छ । अहिले भन्ने गरिएको सिस्टम र कर्मचारीतन्त्रको शासनशैलीलाई दोष ठहर्याउन सकिन्छ । 

साधुका भेषमा रहेका डाका नेता र जुकाजस्तै मोटाएका तिनका कार्यकर्ताहरुलाई दोष दिन सकिन्छ । खुट्याउँदै जाने हो भने करिब करिब तीन दर्जन मान्छेहरु जो राजनीति, वित्त व्यापार र नीति निर्माणमा हावी छन् तिनलाई दोषी ठहर गर्न सकिन्छ । किनभने रोजगारी पाउन सकिएन, विदेश जानु पर्यो । ऋणका चर्को व्याज तिर्नु पर्ने भयो जस्ता सयौं कारणका सूची तयार गर्न सकिन्छ । यी सबैमा असफलता हात लागेपछि हुने डिप्रेसन हो, डिप्रेसनले गर्दा निम्तिन सक्ने अन्तिम समस्या भनेको आत्महत्या (दाह?) हो । 

अहिले प्रेमप्रसाद त बितिसके नूनको पीडित परिवारको घाउमा नूनचुक छरेर न्याय देउ भन्नेहरुले अरु धेरै प्रेमप्रसादहरु थप्न खोजेका छन् । यसको उदाहरण मोहन न्यौपाने, सप्तरीका गरीव रामदेव मरिक थपिँदो छन् । लाग्छ, एकादुई अरबपतिलाई यतिखेर ऋणमोचन हुनुछ, ब्याज मिनाहा गर्नुछ । त्यसैले ‘प्रेमप्रसाद आचार्यलाई न्याय देउ’को नाटक मञ्चन हुँदैछ । अभिलेख हेरौं झोले, ठेलागाडे, कुम्ले, फुटपाथे, कटघरे, गरीव किसान, मजदुर, साना व्यापारी, रुग्ढा उद्योगी, उद्योग चल्न नसकेर रोएर बसेका कुटिर, साना उद्यमीलाई सरकारले कति रकम छुट दिएको छ । ऋण र ब्याजमा कति सहुलियत दिएको छ ? दिएको छैन । अहँ पटक्कै छैन । करिब तीन ठूला व्यापारीलाई भने सरकारले वर्षेनी छुटको अफर दिन्छ । त्यो रकम अरबौं हुन्छ । सानातिना र मझौला व्यापारीहरुलाई कर र ऋण अनि त्यसको ब्याज र स्याजको चुली लगाउँदै घाँटी कस्छ । 

अरबपति भए पनि कर भने थोरै तिर्ने सन्देश दिन्छ  । सबैतिरको वित्तिय संस्थामा हालिमुहाली उनीहरुकै हुन्छ । र, तिनैलाई धनी बनाउने नीति प्रत्येक सरकारले लिने गर्छ । हामी सबै गरीवगुरुवा, साना व्यापारी सबैले नजानिकनै वा जान्दाजान्दै पनि तिनैको पक्षपोषण गर्न प्रेमप्रसादको आत्मदाहलाई ‘ग्लोरिफाई’ गर्छौं । मानौं त्यो अचुक हतियार हो । र, भन्छौं ‘प्रेमप्रसादलाई न्याय देउ’ । यो दुःखद् छ । 

प्रेमप्रसादले ऋणमोचनको लागि जुन बाटो अख्तियार गरे त्यसले उनको परिवारमा मात्र होइन चिनेजानेका सबैमा पीडाबोध छ । तर सरकार वा राज्यलाई उनको आत्महत्याले कुनै असर पारेको छैन । पार्नेवाला पनि देखिन्न । किनभने शालिकग्राम पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाउने रवि लामिछाने गृहमन्त्री भएको देश हो यो । नौटंकीवाज, हत्यारा, अपराधी, छलि, चोर र डाकाहरु सत्तामा छन्, रक्तपिपाशु र द्रव्यपिचाशहरु शासन सत्ता र नीति निर्माणका कर्ताकर्ता बनेका छन् । अहिले प्रेमप्रसादको ग्लोरिफाइले मोहनप्रसाद न्यौपाने र सप्तरीका रामदेव मरिक (जसको चर्चा गर्न अहिलेसम्म आवश्यक ठानिएको छैन) थपिएका छन् । त्यसले झनै अन्याय थपिँदो छ । 

अन्याय गर्नेभन्दा सहने अपराधी मान्ने हो भने प्रेमप्रसादहरु झनै अपराधी ठहरिने घटना हो यो । किन करोडौं लिनसक्ने प्रेमप्रसादले लाखौं रुपैयाँ मात्र थप ऋण काढेर भ्रष्ट नेता वा नीति निर्माताकाविरुद्ध आत्मघाती आक्रमण गर्न खोजेनन् ? किन सकेनन् ? बिहारको मुगेरबाट १५ सय भारुमा तमचा किनेर सुट गर्न सकेनन् ? जसरी शालिकराम पुडासैनीको घटना आत्महत्या ठहर भयो त्यसभन्दा बढ्ता केही हुने देखिन्न । किनभने आत्महत्याको दुरुत्साहन गर्नेहरु राज्यका उपल्ला कुर्सीमा छन् । र, हतियारवालालाई नै मार्नेहरु सरकार र सरकारलाई विश्वासको मत दिने छन् । 

एउटा अपराधीले निरपराधको पक्षमा बोल्ने, न्याय गर्ने सम्भावना पटक्कै छैन । त्यसैले पीडित परिवारको घाउमा नूनचुक छर्दै सडकमा तमासा देखाउनुभन्दा भद्र वा अभद्र आन्दोलन गरौं । गरी खान नदिने नीति बनाउनेहरुलाई पाहा पक्रेर पछारेझैं पछारौं । सकिन्छ भने भनौं जनता मार्ने भ्रष्ट आर्थिक नीति नसच्याएसम्म कुनै पनि कर सरकारलाई कर नतिरौं । यस्तो आन्दोलनको अगुवाई गरौं । अनि पो प्रेमप्रसादहरुलाई  न्याय हुन्छ । प्लेकार्ड बोकेर सडक पलेटी कसेर बस्दा तमाशा हुन्छ, टाइमपास हुन्छ ।

टिप्पणीहरू