उत्तर कोरियाबाटै पनि सिके हुने नि !

उत्तर कोरियाबाटै पनि सिके हुने नि !

केही हप्ताअगाडि चीनका लागि पूर्वराजदूत राजेश्वर आचार्यको पुस्तक बजारमा आयो । कुनै कर्पोरेट प्रकाशनगृहले ल्याएको थिएन पुस्तक । पुस्तक आचार्यकी जीवनसाथी कमला आचार्यले प्रकाशन गरेकी थिइन् । ०५५ कात्तिक १ देखि २०५९ माघ १५ सम्म चीनको लागि राजदूत भएका थिए आचार्य । उनले आफ्नो कार्यकालमा गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवादेखि लोकेन्द्रबहादुर चन्दसम्मका प्रधानमन्त्री झेले । राजाहरू पनि वीरेन्द्रदेखि ज्ञानेन्द्रसम्म देखे । 

उनै आचार्यले आफ्नो कार्यकालभरिका अनुभव संकलन गरेको पुस्तकमा उत्तरकोरियाको कूटनीतिक तौरतरिकाको सुन्दर उदाहरण छ । आचार्य एक दिन आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन प्योङयाङ पुग्छन् । चीनका लागि नेपाली राजदूत उत्तर कोरियाको गैरआवासीय राजदूत हुन्छन् । सोही भूमिकाको लागि आचार्य सन् २००० नोभेम्बर २१ देखि २५ सम्म राजधानी प्योङयाङ प्रस्थान गर्छन् । विमानस्थलमा ओर्लिनासाथ उनलाई स्वागत गर्न आएका कोरियाली युवा बेकसँग उनी चकित हुन्छन् । चकित हुने कारण रोचक छ । त्यसबारे आचार्यले लेखेका छन्, ‘एक जना युवा महामहिम राजदूतज्यूलाई प्योङयाङमा स्वागत छ भन्दै आइपुगे । मैले उनलाई नेपाली हो भनेर सोधें । उनले आफू कोरियाली भएको र काठमाडौंको त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा बसेर अध्ययन गरेकाले नेपाली बोल्न र लेख्न सिकेको जवाफ दिए ।’ उत्तर कोरियाको नेपालस्थित दूतावासका पूर्वकर्मचारी बेक मात्रै होइन, अहिले दूतावासका उपप्रमुख किम पनि नेपाली भाषाको राम्रो जानकार भएको बताइन्छ । उनीसँग संगत गरेका एक युवा पत्रकार भन्छन्, ‘उनलाई नेपाली गीतदेखि भाषा पनि आउँदो रहेछ । अस्तिको तिहारमा मैले अनुभव गरेको हो ।’

सन् १९७४ मे १५ मा नेपाल र उत्तर कोरियाबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भयो । सम्बन्ध स्थपनाकै वर्ष उत्तर कोरियाको राजदूतावास नेपालमा स्थापना भएको हो । उत्तर कोरियाले नेपालसँग नजिक हुन वा नेपाली प्रतिनिधिसँग आत्मीयतासँग जोडिनलाई भाषा सिकेको काङ, किम, ओ, रिम, बेकको उदाहरणबाटै प्रष्ट छ । नेपालले यहि खालको कूटनीतिक अभ्यास गर्न चुकेको देखिन्छ । परराष्ट्र मन्त्रालयमा उत्तर कोरियाले नेपालजस्तो सानो र गरिब देशको भाषा सिकेजस्तै अन्य देशको भाषा सिक्ने त परै जाओस् संयुक्त राष्ट्रसंघमा गैरअंग्रेजी भाषाका स्थायी समिति सदस्यदेखि विश्वको ठूला अर्थतन्त्र भएका देशका भाषा जान्ने नेपाली कूटनीतिज्ञ छैनन् भन्दा हुन्छ । अपवादबाहेक नेपालको भाषा बलियो बनाउने कूटनीतिक बल देखिएको छैन । 

नेपालजस्ता साना देशको मुख्य शक्ति भन्नु नै सफ्ट पावर हो । हाम्रो सैन्य शक्ति बलियो छैन । अर्थतन्त्र बलियो छैन तर हामीले भाषा मात्रै बलियो बनाए पनि धेरै कूटनीतिक काममा सहजता हुन्थ्यो । नेपालले भाषा कूटनीति प्रयोगमा खासै ध्यान दिएको देखिँदैन । नेपालका ३० देशका आवासीय राजदूतावासहरूमध्ये त्यही देशको भाषा जान्ने कूटनीतिज्ञको कुरा छोडौँ, त्यही देशको भाषा आफ्नो वेबसाइटमा प्रयोग गर्नमा पनि नेपाल पछि परेको छ । दक्षिण कोरियास्थित नेपाली दूतावासमा वेबसाइटको भाषा दुई वटा छन् । कोरियाली र अंग्रेजी । जापानस्थित नेपालको दूतावासको भाषा तीनवटा छन् । नेपाली, जापानी र अंग्रेजी । यस्तै भाषा कूटनीति अन्य दूतावासमा देखिन्न । जस्तो स्पेनको दूतावासमा स्पेनिसदेखि अरबिक कतारको दूतावासमा अरबी भाषाको प्रयोग भएको छैन । फ्रान्सको दूतावासमा फ्रेञ्च पनि प्रयोग भएको पाइन्न । यस्तै, रुसको दूतावासमा रुसी भाषा प्रयोग भएको छैन ।

ब्राजिलको दूतावासको वेबसाइटमा पोर्चुगिज प्रयोग केही अगाडिसम्म देखिए पनि अहिले छैन । संयुक्त राष्ट्रसंघका आधिकारिक भाषा हुन् अरबी, स्पेनिस, पोर्चुगिज, रुसी । तर, यी भाषा प्रयोग हुने देशका दूतावासका वेबसाइटमा यी भाषा प्रयोग गरिएको छैन । चीनको दूतावासमा चिनियाँ भाषा प्रयोग गरेकोले संयुक्त राष्ट्रसंघका ६ वटा आधिकारिक भाषामा नेपाली दूतावासका वेबसाइटले प्रयोग गरेका भाषा अंग्रेजी र चिनियाँ मात्रै देखिएका छन् । नेपालजस्तो दुई सय वर्ष पुरानो कूटनीतिक सम्बन्ध भएको देशले भाषिक कूटनीतिमा यो स्तरको कमजोरी देखाउनु भनेको धेरै गम्भीर कमजोरी हो । परराष्ट्र मन्त्रालयका कर्मचारीलाई विभिन्न देशमा छात्रवृत्तिमा पठाएर वा देशमै उपलब्ध विश्व भाषा क्याम्पसदेखि विभिन्न संस्थाबाट सिकेर भाषामा बलियो बनाउन सकिन्छ ।

यत्तिका सम्भावना र अवसर हुँदाहुँदै त्यतातर्फ ध्यान नदिनुले नेपालको कूटनीतिक कमजोरी देखाउँछ । अब यो कमजोरी हटाउन नेपालले खास ध्यान दिन आवश्यक छ । त्यो ध्यान लिने प्रेरणा उत्तर कोरियाबाट सिक्न सकिन्छ । उत्तर कोरियाका बेकबाट सिक्न सकिन्छ । उत्तर कोरियाको नेपालस्थित दूतावासका उपप्रमुखबाट सिक्न सकिन्छ ।

टिप्पणीहरू