टिकट भिस्तारा एअरको, उडान इण्डिगो एअरको
नेपालमा झण्डै २२ घण्टा बिताएर अमेरिकी उच्चस्तरीय टोली आज साँझ भारतको राजधानी नयाँ दिल्ली गएको छ । हिजो साँझ दुबई हुँदै आएको अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपमन्त्री भिक्टोरिया नुलाण्ड नेतृत्वको तीन सदस्यीय टोली साँझ पौने ५ बजे त्यसतर्फ प्रस्थान गरेको हो ।
टोलीमा उपसहायक मन्त्री न्यान्सी ज्याक्सन र विशेष सहायक म्यारी फ्राङकिस छन् । पहिले भिस्तारा एअरको उडानबाट ५ बजे त्यसतर्फ जाने कार्यक्रम रहेकोमा अमेरिकी टोलीले अन्तिम क्षणमा नयाँ दिल्लीतर्फ प्रस्थान गर्न इण्डिगो एअरको उडान नम्बर ६ इ०३४ रोजेको बताइन्छ ।
साँझ ५ बजे उड्नैपर्ने तालिकामा रहेका उनीहरुले उडानमा ढिलाई भएको भिस्तारा एअरलाई छाडेका हुन् । सँधै ४ बजे काठमाडौंमा अवतरण गरेर ५ बजे नयाँ दिल्ली उड्ने उक्त विमान आज नयाँ दिल्लीबाट ढिलो उडान गरेकाले सवा ५ बजे मात्र काठमाडौंमा अवतरण गरेको थियो । ६ बजे उड्ने भएपछि अमेरिकी उच्चस्तरीय टोलीले पौने ५ बजेको इण्डिगो एअरको उडानलाई प्राथमिकता दिएको स्रोतको दाबी छ ।
टिप्पणीहरू