चिनियाँ राजदूतद्वारा वसन्तपुरको वर्णन, अमेरिकी मन्त्रीको पाटनमा बेलिविस्तार
नेपालको २२ घण्टे भ्रमणमा आएको अमेरिकी उच्चस्तरीय टोलीले आज पाटन दरबार स्क्वायरको भ्रमण गरेको छ । अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपमन्त्री भिक्टोरिया नुलाण्ड नेतृत्वको तीन सदस्यीय टोलीले पाटनमा ऐतिहासिक दरबार क्षेत्रको भ्रमण गरेको हो ।
उपसहायक मन्त्री न्यान्सी ज्याक्सन,विशेष सहायक म्यारी फ्राङकिस र अमेरिकी राजदूत डिन आर थम्पसनले पनि दरबार क्षेत्रको अवलोकन गरेका थिए । त्यसपछि मन्त्री नुलाण्डले मंगलबजारस्थित आदर्श कन्या माध्यमिक विद्यालयको सभाहलमा पत्रकारहरुसँग भेटघाट गरेकी थिइन् ।
अमेरिकी दूतावासले आयोजना गरेको पत्रकार सम्मेलनमा उपमन्त्री नुलाण्डले भ्रमणको दौरान भएका उच्चस्तरीय भेटघाटवारे जानकारी गराएको र नेपालले छिमेकीहरुसङ्ग राखेको सम्बन्ध र सहकार्यको सम्मान गर्ने बताएको उक्त कार्यक्रम साढे २ बजेदेखि मुश्किलले २५ मीनेटमा सम्पन्न भएको थियो ।
यता नेपालका लागि चिनियाँ राजदूत छन सोङले काठमाडौं दरबार स्क्वायरको अवलोकन गरेको फोटाहरु सामाजिक सञ्जालमा पोष्ट गरिएका छन् । नौ तले दरबारको अवलोकन गर्दाको क्षणको वर्णन गर्दै लेखिएको छ,‘भर्खरै बसन्तपुरस्थित नौ तले दरबारको अवलोकन गर्दै गर्दा यसको पुनर्निमाणको काम तीव्र गतिमा अघि बढिरहेको देखेर अचम्मित भएँ । चिनियाँ सरकारको सहयोग तथा चीन र नेपाल दुबै देशका शिल्पकारको प्रयासमा पुनर्निमाणको आयोजना छिट्टै सम्पन्न हुँदैछ ।’
टिप्पणीहरू