पोखरा–कुश्मा सडक दैनिक आठ घण्टा बन्द
मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा सडक खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । पोखरा उपत्यकाको छेउ भाग यादी नजिकै जौबारीबाट करिब ५० मिटरअगाडि हेम्जातर्फ सेती नदी किनारमा रहेको भिर कटानका लागि सडक खण्ड बन्द गरिएको हो ।
जिल्ला ट्राफिक कार्यालय कास्कीले भिरको उचाई धेरै भएको र भिर काट्ने काम चलिरहेको हुँदा सडक सुरक्षालाई मध्यनजर गर्दै दैनिक रुपमा तालिकाअनुसार सडक दीप हाउजिङ बन्द गर्ने गरेको जानकारी दिएको छ । गत माघ १२ गतेदेखि सुरु भएको उक्त सडक खण्डमा भिर काट्ने काम नसकिएसम्म सडक बन्द नै रहने कार्यालयले जनाएको छ ।
सडक खण्डमा प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म (४ घण्टा) र बेलुका ९ बजेदेखि राति १ बजेसम्म (४ घण्टा) गरी दैनिक आठ घण्टाका लागि सडक बन्द गरिएको बताइएको छ । उक्त अवधिभरका लागि जौबारी हुँदै बाहिरिने र हेम्जा हुँदै पोखरा भित्रिने सवारी साधनका लागि वैकल्पिक सडकको रुपमा विभिन्न सडक प्रयोग गर्न सकिने पनि कार्यालयले जानकारी गराएको छ ।
जौबारीबाट बाहिरिने बस, मिनीबस, माइक्रो बस, साना सवारीलगायतलाई पहिलो वैकल्पिक बाटोको रुपमा सिमपानीचोक–बगर–शिक्षा कार्यालय–के.आई सिंह पुल–दीप–हाउजिङ हुँदै नयाँ पुल जाने व्यवस्था मिलाइएको छ । त्यस्तै, दोस्रो वैकल्पिक बाटोको रुपमा केआई सिंह पुल–गोस्टेघाट पुल हुदैँ हेम्जा तथा हलुका सवारीका लागि मात्रै तेस्रो विकल्पको रुपमा बिन्दबासिनी चोक–सराङकोट–कास्कीकोट हुदैँ नौ डाँडा निस्कन सकिनेछ ।
कार्यालयले हेम्जा हुँदै पोखरा भित्रिने मालवाहक ट्रक, बस, मिनीबस, माइक्रो बस, साना सवारीहरु जौबरीको नयाँ पुल–दीप–हाउजिङ–के.आई. सिंह पुल–बगर हुदैँ सिम्पानी निस्केर पोखरा भित्रिन सक्ने जनाएको छ । अर्को विकल्पको रुपमा नौ डाँडा–कास्कीकोट–सराङकोट–बिन्दबासिनी हुदैँ पोखरा पस्न सकिनेछ ।
वैकल्पिक बाटो प्रयोग नगरी भिर काट्न लागेकोे सडकमा आउजाउ गर्ने सवारीलाई प्रत्येक आधा/आधा घण्टामा छिर्न र बाहिरिन दिइनेछ ।
टिप्पणीहरू