शिवराजले स्वीकारे निहारिका र बच्चा, अदालतमा भयो मिलापत्र

शिवराजले स्वीकारे निहारिका र बच्चा, अदालतमा भयो मिलापत्र

कुमारी आमा भनेर चिनिएकी निहारिका राजपुतलाई शिवराज श्रेष्ठले श्रीमती स्वीकार गरेकी छन् । आफूले न्याय पाउनुपर्ने माग राख्दै लामो समय राजधानीको माइतीघर मण्डलामा आन्दोलनरत निहारिका र उनका छोरालाई शिवराजले स्वीकार गरेका हुन् । 

शिवराज र निहारिकाबीच धनुषा जिल्ला अदालतमा मिलापत्र भएको छ । धनुषाका क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ३ घर भएका शिवराजले आफूलाई १७ वर्ष हुँदा नशालु पदार्थ खुवाई बलात्कार गरेको आरोप लगाउँदै आएकी निहारिकाले अन्ततः प्रेम विवाह भएको स्वीकारेकी छन् । 

जगतबहादुर श्रेष्ठ र राधाकुमारी श्रेष्ठ आफ्नो सासुससुरा भएको उल्लेख गर्दै उनले शिवराजको झैझगडा गर्ने व्यवहारले आजित भएर छुट्टिएको बताएकी छन् । मिलापत्रमा भनिएको छ, ‘जाँडरक्सी सेवन गरी तथानाम गाली गर्दै कुटपिटसमेत गर्न लागेको कारण निजसँग बस्नुभन्दा अंश लिई अलग बस्नु नै श्रेयस्कर सम्झी मूल अंशियार चार जना भएकाले लोग्नेको अंश चार भागको एक भाग हुने भएकाले एक भागलाई तीन भागमा विभक्त गरी परेको अघिल्लो मितिलाई मानी छुट्टिएको मिति कायम गरी अंश दिलाई पाऊँ भनिसमेत गरेको फिरादपत्र ।’

यता, शिवराजले निहारिका र नाबालक छोरालाई इज्जतका साथ खान, लाउन, औषधोपचार खर्च, छोराको पढाइलेखाई खर्च तथा पिता र पति भएको कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । महोत्तरीकी निहारिका आफूलाई न्याय दिनुपर्ने माग गर्दै गत असारमा आमरण अनशन बसेकी थिइन् । 

२०७६ कात्तिक ६ गते साँझ २२ वर्षीय श्रेष्ठले ललाइफकाई बन्धक बनाएर बलात्कार गरेको व्यहोरा उल्लेख गर्दै निहारिकाले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएकी थिइन् । जाहेरी दर्ता भएको दुई वर्षपछि २०७८ माघ २४ गते जिल्ला अदालतले उनी बलात्कृत नभएको फैसला सुनायो । फैसलापछि पुर्पक्षका लागि जेलमा रहेका शिवराज छुटेका हुन् ।

जिल्ला अदालतले श्रेष्ठको पक्षमा फैसला गरेपछि निहारिका पुनरावेदनका लागि उच्च अदालत जनकपुर गइन् । तर, उच्चले पनि जिल्लाकै फैसला सदर गर्ने षड्यन्त्र रचेको भन्दै उनले बलात्कारीलाई कारबाही र दुई वर्षे छोराको डीएनए परीक्षणको माग राख्दै आन्दोलन गरेकी थिइन् । 

निहारिकाले राष्ट्रपति कार्यालयअगाडि आत्मदाहको प्रयास गरेपछि उक्त घटनाले राष्ट्रिय रुप लियो । उच्च अदालतले डिएनए परीक्षण गर्न आदेश दिएपछि गरिएको परीक्षणमा निहारिकाको छोराको डिएनए शिवराजसँग मिलेको थियो ।


 

टिप्पणीहरू